२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

सर्वोच्चमा कानुन व्यवसायीको धर्ना निरन्तर

काठमाडौं । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनलाई जारी राख्ने भएका छन् । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरा विरुद्ध हरेक दिन सर्वोच्च अदालतमा जारी भएको धर्ना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।

अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म धर्ना कार्यक्रम जारी रहने बताए । ‘हामीले आज पनि धर्ना दिएका छौं, राजीनामा नआएसम्म दिइरहने हो’ उनले भने, ‘त्यत्ति हो, उहाँ बिरामी भएकाले मानवीयताको पक्ष विचार गरेर उहाँविरुद्ध नारावाजी गरेनौं ।’

प्रधानन्यायाधीश जबरा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत छन् ।

बुधबारदेखि गोलाप्रथाबाट पेशी तोकेर सर्वोच्च अदालतमा न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गर्दैछन् । बारले मुद्दाको सुनुवाइका क्रममा हुने बहस पैरवीमा सहभागी हुने संकेत गरेको छ । यद्यपि यसबारे औपचारिक निर्णय भने गरेको छैन । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरा संलग्न नहुने इजलासमा उपस्थित भएर बहस पैरवी थालिने बताए ।

‘हामीले उहाँको इजलास र उहाँ जोडिने अरु इजलासमा बहसपैरवी नगर्ने भनेका छौं’ वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘अरु न्यायाधीशहरुलाई पनि उहाँ संलग्न इजलासमा नबस्न भनेका छौं । जानुभयो र उहाँलाई साथ दिनुभयो भने त्यही सरहको व्यवहार हुनेछ ।’

हरेक दिन ११ देखि १२ बजेसम्म धर्ना कार्यक्रम गर्ने र त्यसपछि बहस पैरवीमा भाग लिन अदालतमा उपस्थित हुने तयारी भएको उनले बताए ।

बारले काठमाण्डौं केन्द्रित आन्दोलनलाई देशभरका उच्च अदालत, विशेष अदालत र जिल्ला अदालतमा विस्तार गर्ने निर्णय गरेको छ । ती अदालतहरुमा गोला प्रक्रियाबाट इजलास नतोकेसम्म दैनिक एक घण्टा कालो पट्टी बाँधेर विरोध गर्ने र त्यसपछि बहसपैरवीमा भाग लिने निर्णय भएको बार अध्यक्ष श्रेष्ठले बताए ।

गत साउन १७ गतेको निर्णयबाट मंसिर १ गतेदेखि लागू हुनेगरी नै देशव्यापी रुपमा गोला प्रक्रिया शुरु गर्ने निर्णय भएपनि कार्यान्वयन नभएको भन्दै बारले देशभरका उच्च अदालतहरु, विशेष अदालत र जिल्ला अदालतमा धर्नामार्फत दवाव दिने निर्णय गरेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com