२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राजावादीको बैठकमा ज्ञानेन्द्रमाथिको गालीगलौज

राजाको नाममा पन्ध्र वर्ष अकण्टक पार्टी चलाएका कमल थापाको पराजयबाट बुझ्न सकिन्छ, ‘निर्मल निवास’ नेपालको सक्रिय राजनीतिबाट उति धेरै निरपेक्ष रहेनछ । सफल होलान्–नहोलान् तर ज्ञानेन्द्र शाहले राष्ट्रिय राजनीतिलाई आफूतर्फ थोरै आकर्षित गर्न वा आफूअनुकूलको भूमिका खेलाउने काममा निर्णायक कदम चाल्न सक्दा रहेछन् ।

भनिन्छ, कमल थापामार्फत् केपी ओलीले निर्मल निवासलाई दिएका केही आश्वासनमध्ये कुनै पनि पूरा भएनन् । कमल थापाकै कुरा सुनेर स्वयं पूर्वराजा ज्ञानेन्द्रले अभिनेत्री मनिषा कोइरालासहितका थुप्रै व्यक्तिसँग भन्ने गरेका थिए, ‘अब केही हुन्छ भने केपी ओलीबाटै हुन्छ, उनलाई हामीले सकेको सहयोग गर्नुपर्छ ।’

आखिरमा केपीबाट केही भएनमात्रै हैन, दरबारको विश्वासमा बस्दै केपीसँग मिलेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने योजनामा रहेछन्, कमल थापा । उनी नेतृत्वको पार्टीले संवैधानिक राजतन्त्र, हिन्दू राज्यजस्ता दरबारका एजेण्डालाई आन्दोलनकै रुपमा अगाडि बढाउला, शीरमा फेरि श्रीपेच सजिएला भन्ने पूरापूर विश्वासमाथि ‘खतरनाक’ धोका मिल्यो ।

अहिले दरबारियाहरूको बीचमा चर्चा छ, ‘भारतमा बिजेपी र मोदीको झैं हिन्दूत्व राजाको टिक्ने आधार हो । कमल थापाको पनि त्यही हो । केपी पनि त्यही लाइनमा गए ।’ तर, राजा बोक्दा आफू पनि सकिनुपर्ने खतरा केपीले सत्ताबाट बहिर्गमित हुँदैमा महसुस गरिसकेका थिए । त्यही ठहरमा कमल थापा पनि पुगे । त्यसपछि उनले दरबार हैन, आफ्नै स्वार्थमात्रै हेरे ।

कमल थापाकै सल्लाहबमोजिम केपीले पर्सा–चितवनको सीमामा पर्ने ठोरीमा राम–सीता र जनकपुरमा अयोध्या सर्किटका माला जपिरहे । यसरी राप्रपाको एजेण्डा केपीद्वारा चोरियो । अन्ततः केपी ‘बेइमान’ भए, त्यसमाथि कमल थापा पनि त्यही बेइमानीको घोडामा सवार थिए । भनिन्छ, एमालेको दशौँ महाधिवेशनमा कमल थापाले ‘राष्ट्रवादी नेता’ का नाममा केपी ओलीको चाहिनेभन्दा बढी प्रशंसा गरेबाट पूर्वराजा झस्किए ।

यस्तो स्थितिमा दरबारले राप्रपाको नेतृत्वमा आन्दोलन गराउने तयारी तुहिने खतरा पूर्वराजाले देखेको स्रोतले जनाएको छ । पार्टीले पूर्वराजाको एजेण्डालाई सडकमा लैजानुअघि गत असोज पहिलो साता बुद्धिमान तामाङहरूको अग्रसरतामा काठमाडौंमा हजारौँको जुलुस निस्कियो । खासमा त्यो परीक्षण थियो । महाधिवेशनपछि त्यस्ता जुलुस र सभाहरू राप्रपाकै व्यानरमा चलाउने दरबारको योजना हो । तर, कमल थापा केपीसँग मिलिसकेपछि त्यसो गर्दैनन् भन्ने दरबारलाई लाग्यो र उनी हराइए ।

भनिन्छ, यसमा भारत र दरबारबीचको सम्बन्ध पनि कारक छ । यी दुबैले नेपालको संविधान बहिष्कार गरौँ भनेका थिए । तर, कमल थापाले त्यसो गरेनन् । उनले संविधान जारी हुँदा विपक्षमा मत दिए । यसो गर्नु भनेको प्रक्रियामा सामेल हुनु हो । र, संविधान पारित गराएपछि ओलीको सरकारमा सहभागी पनि भए । तत्कालिन भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग कमलको ‘दिदी भाइ’ को सम्बन्ध थियो । उनीमाथि अंकुश लगाउने सुष्माको निधन भयो । यसपछि अब कोमार्फत कमलको रिमोट चलाउने रु दरबारलाई द्विविधामा पार्ने प्रश्न हो यो ।

कमल थापा राजनीतिक जीवनको शुरुवातबाटै दरबारसँग नजिक हुनुका पछाडि उनका राजनीतिक गुरु शरद्चन्द्र शाह कारक थिए । पञ्चायतकालमा सूर्यबहादुर थापाले भन्ने गरेको ‘भूमिगत गिरोह’ को नेतृत्व ज्ञानेन्द्रले गर्थे । त्यो ‘गिरोह’ का हर्ताकर्ता शरद्चन्द्रचाहिँ अञ्चलाधीश र सिडिओहरू छान्थे । त्यसमा कमल थापा पनि साथमा रहन्थे । तर, कमल बाहिर–बाहिर लोकतान्त्रिक देखिने प्रयासमा जहिल्यै हुन्थे । शाहीकालमा राप्रपाको बैठकमै उनले राजालाई गाली गरे । त्यसको अडियो रेकर्ड दरबार पुग्यो ।

शरद्चन्द्रलाई सोधियो, ‘किन कमल बहुलायो रु’ शरद्चन्द्रले कमललाई जोगाउँदै भने, ‘क–कसले के–के भन्छन् भनेर मैले नै रेकर्ड गराउन लगाएको । अरुले के भन्छन् भन्नका लागि शुरुमा कमलले नै अलिकति गाली गरेजस्तो मात्रै गरेको हो, अरु केही होइन सरकार १’ यसपछि ‘होला त’ भन्दै ज्ञानेन्द्र चूप लागे । तर, उनले फेरि पनि त्यही व्यवहार देखाए ।

यतिबेला कमल थापालाई जोगाउने न सुष्मा स्वराज यो धर्तिमा छिन्, न त शरद्चन्द्र शाह नै । बरु, भित्र एउटा र बाहिर अर्कै रुप देखाउने कमलको शैली जस्ताको तस्तै भेट्टायो, निर्मल निवासले ।

लामो समय दरबारनिकट भएर राजनीति गरेका थापा देशै गणतन्त्रमय भएका बेला एक्लै राजतन्त्रको पक्षमा उभिएका नेता हुन् । तर, अहिले पूर्वराजाप्रति आक्रामक टिप्पणी गरिरहेका छन् । आखिर थापाले पूर्वराजाको विश्वास गुमाउनुको कारण के होला रु यसबारे जिज्ञासा राख्दा राप्रपाका एक नेताले थापाका गतिविधिले दरबार चिढिएको तर उनको पराजयमा भने स्वयं जिम्मेवार रहेको बताए ।

उनले भने, ‘दरबार अहिले सशस्त्र बल र भारतसहित नेपालका अरू दलको आश्वासनजस्ता कुनै पनि तरिकाबाट राजतन्त्र पुनःस्थापित हुँदैन भन्नेमा कन्भिन्स छ । त्यसैले आउने चुनावमा राप्रपाको शक्ति सुदृढ गरेर आफ्ना एजेण्डा स्थापित गराउँदै विस्तारै राजतन्त्रको निम्ति स्पेश खाली गराउन सकिन्छ भन्नेमा आशावादी छ । तर, नेतृत्वका रुपमा कमल थापाबाट त्यो सम्भव नहुने भएपछि उनलाई सहयोग नगरेको हो ।’

भारतीय संस्थापनलाई चिढ्याउने गरी केपी ओलीकै लाइनमा उभिएर थापाले नाकाबन्दीका बेला देखाएको उग्रताले पनि दरबारलाई झस्काइदिएको बताइन्छ । किनभने त्यतिबेलासम्म बिजेपीले पूर्वराजालाई सकारात्मक संकेत दिइरहेको थियो । जब थापाले आफूलाई भारतविरोधी कित्तामा उभ्याए त्यसपछि बिजेपी फेरिएको दरबारको बुझाइ रहेको बताइन्छ । अनुकूल परिस्थिति बिगारेर थापाले हिरोइज्म देखाएकोमा पूर्वराजा असन्तुष्ट रहेको ती नेताले दाबी गरे ।

नेपालमा अहिले पनि हिन्दूको संख्या ८० प्रतिशत छ । त्यसलाई भजाउन सक्दा ०७० सालमा राप्रपाको गाईले २५ सांसद पाएको थियो । तर, ०७४ मा आइपुग्दा नाकाबन्दीपछि परराष्ट्रमन्त्री बनेर अन्तर्राष्ट्रिय जगत्मा तत्कालीन प्रधानमन्त्रीलाई ‘हिरो’ बनाउँदाको फाइदा ओलीले उठाए, राप्रपा देशभरिबाट झापाको एक सिटमा मात्र खुम्चिन पुग्यो । अब पनि हुने यही नै हो– नारा हिन्दूत्वको, नाफा ओलीलाई ।

गणतन्त्रको प्रतीक राष्ट्रपति विद्यादेवी भण्डारीसँग थापाको सम्बन्धलाई पनि दरबारले निको नमानेको ती नेताले बताए । उनका अनुसार राष्ट्रपतिको सुरक्षा सल्लाहकारमा उनले २ चोटिसम्म आफ्ना दाइलाई नियुक्ति दिलाए। भन्छन्, ’गणतन्त्रको प्रतिक राष्ट्रपति हो । एउटा राजावादी नेता राष्ट्रपतिसंग त्यसरी लपक्कै भएकोमा दरबार सशंकित हुनु स्वाभाविक हो । किनभने गणतन्त्र फस्टाउँदा राजतन्त्र मौलाउन सक्दैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com