२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आज विश्व मानव अधिकार दिवस

काठमाडौं । आज विश्व मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।

मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ ।

दिवसको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमार्फत देउवाले नेपाल संयुक्त राष्ट्र संघको सदस्य भए पश्चात मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनको कार्यमा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता जनाउँदै आएको उल्लेख गरेका छन् । सोही प्रतिबद्धता अनुकूल हुने गरी नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार अन्तर्गतका प्रायः सबै अधिकारहरूलाई मौलिक हकको रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

उपचार बिनाको हकको अर्थ नरहने हुँदा मानव अधिकारको हनन उपर सक्षम र स्वतन्त्र न्यायपालिकाबाट प्रभावकारी उपचार पाउने कुरालाई संवैधानिक रूपमा नै सुनिश्चित गरिएको उनको भनाइ छ ।

कोभिड–१९ महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा पनि सरकारले आफ्ना नागरिकको मानव अधिकारको संरक्षणमा दत्त चित्त भएर विभिन्न प्रयास गरिरहेको उनले उल्लेख गरेका छन् । यसै वर्षको अन्त्यसम्ममा सबै नेपाली नागरिकलाई निःशुल्क खोप लगाइसक्ने गरी कार्य भइरहेको उनले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री देउवाले प्रजातान्त्रिक व्यवस्था स्वयं मानव अधिकारको उपज भएको उल्लेख गर्दै प्रजातान्त्रिक व्यवस्थामा मात्र मानव अधिकारको प्रत्याभूति र त्यसको निर्वाध उपभोग सम्भव रहेको बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com