२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

पर्यटनमन्त्री आलेले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र सुदृढ तुल्याउन सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताए

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र सुदृढ तुल्याउन सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताए।

वायुसेवा सञ्चालक सङ्घ, नेपाल (आयोन) को २१ औँ वार्षिक साधारणसभाको सुक्रबार उद्घाटन गर्दै मन्त्री आलेले हवाई क्षेत्रमा रहेका समस्या समाधान गर्दै सुरक्षित उडानको सुनिश्चितताका लागि सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने समेत बताए। पर्यटनमन्त्री आलेले विमानस्थललाई सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेको जानकारी दिए।

उनले निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साता १० दिनभित्रै क्यालिब्रेसन फ्लाइट गरेर छिट्टै व्यावसायिक उडान सञ्चालन गरिने जानकारी दिए। अर्को निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि बढीमा आठ महिनाभित्र क्यालिब्रेसन उडान गरिने बताए।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले हवाई सुरक्षालाई प्रभावकारी बनाउन नियामक र सेवा प्रदायकबीच समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे। उनले हवाई उडानका अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी पालना गर्दै हवाई सेवालाई विश्वसनीय जनमुखी बनाउन आग्रह गर्दै त्यसका लागि निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले हवाई सुरक्षा अभिवृद्धिका लागि प्राधिकरण लागिपरेको बताए ।

वायुसेवा सङ्घको नयाँ कार्यसमिति चयन

निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ, नेपाल (आयोन) मा क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सङ्घको आज सम्पन्न २१ औँ वार्षिक साधारणसभाबाट थापासहित पादाधिकारी तथा सदस्य सर्वसम्मतिका साथ नेतृत्व चयन गरिएको हो । सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमाल चयन भएका छन् । द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई र तृतीय उपाध्यक्षमा अल्टिच्यूड एयरका निमानुरु शेर्पा चुनिएका छन् ।

संघको महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी चयन भएका छन् ।

यस्तै सदस्यमा फुरु ग्याल्जे शेर्पा (हेली एभरेष्ट), सुवास अमात्य (प्रभु हेलिकप्टर), अनिल मानन्धर (श्री एयरलाइन्स), प्रज्वल थापा (गुण एयरलाइन्स), श्रीहरि कुँइकेल (कैलाश हेलिकप्टर सर्भिसेस) र बालकृष्ण पण्डित (एयर डाइनेष्टि हेलि सर्भिसेस) चयन भएको सङ्घले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष थापाले मुलुकको हवाई सुरक्षालाई थप चुस्त र प्रभावकारी बनाएर नयाँ उचाइमा लैजाने प्रतिबद्धता जनाए। उनले प्राधिकरणसँग सहकार्य गरेर वायुसेवाको सुरक्षा सुदृढीकरण गरिने बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com