२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी-जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एक÷एक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो । यसबाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने व्यवस्था उल्लेख छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ । कांग्रेसले बैठकको निर्णयसहित आज नै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने बताइएको छ । आयोगले यस अघि सो प्रयोजनका लागि यही पुस १० गतेसम्म अन्तिम म्याद तोकी सो विषय सम्बन्धी सूचना प्रकाशन गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com