२०८१ बैशाख ५ - Wed Apr, 2024 -

Janasewa News

विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्दै ‘कठपुतली’, तान्ला त दर्शकलाई

काठमाडौं । यतिबेला नेपालका हलहरूमा हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ र दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को रौनक छ । कोरोना कहरपछि शून्य भएका हलमा अहिले दर्शकको भिड छ । प्रायजसो हरेक सो हाउसफुल भइरहेका छन् ।

प्रतिस्पर्धामा पछि पर्ने भयले नेपाली चलचित्र ‘चपली हाइट’ को प्रदर्शन मिति पटकपटक सरिरह्यो । तर, नेपाली हरर चलचित्र ‘कठपुतली’ भने यही पुस १६ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमार्फत फिचर फिल्ममा डेब्यू गरेका निर्देशक भीमसेन लामा हलिउड चलचित्रसँग प्रतिष्पर्धा गरेको स्वीकार्छन् ।

प्रिमियरको एकदिनअघि मंगलबार पत्रकार सम्मेलनमा बोल्दै लामाले हलिउडका ३००, ४०० करोड अमेरिकी डलरमा लगानी भएका चलचित्रसँग प्रतिष्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे । “हामी हलिउडका ३००,४०० करोड डलर लगानी भएका चलचित्रसँग हाम्रो २, ३ करोड लगानीमा बनेका चलचित्र प्रतिष्पर्धा गर्न सक्छौँ । किनभने हाम्रो कथा फरक छ । हाम्रो चलचित्रको गुदीले गर्दा हामी पनि कम छैनौँ,” उनले भने ।

यसअघि छोटो फिल्महरू बनाउने गरेका उनले ‘कठपुतली’को कथा र हरर जनरा आफूलाई मनपर्ने भएर चलचित्र निर्देशन गर्न तयार भएको पनि बताए ।

चलचित्र ‘कठपुतली’लाई भारतको मनोरञ्जन क्षेत्रसँग नजिक भएर काम गरिसकेकी सम्पदा मल्लले लेखेकी हुन् । भारतका चर्चित नाटकहरू लेखिसकेकी सम्पदालाई हरर चलचित्रमार्फत लेखिकाको रूपमा डेब्यू गर्न यसैको कथा अनि नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने हुटहुटीले डोहोर्‍याएको हो ।
भूतप्रेत, तन्त्रमन्त्र, जादु, टुनामुनामा विश्वास गर्ने उनलाई हरर चलचित्र बनाउने भनेर अनुसन्धान गर्ने क्रममा नेपालको दरबारमा घट्ने पुराना लोककथाले तान्यो । त्यसैले उनले यो चलचित्र राणाकाल, मल्लकाल अनि राजदरबारका पुराना सत्य घटनालाई आधार बनाएर तयार पारेकी हुन् ।

“कस्तो विडम्बना राम्रो कुराहरू भने इतिहासमा छापिने रहेछ । तर, यस्तो दुःखद कुराहरू भने लोक कथामा मात्रै सीमित हुने रहेछ । मैले यो चलचित्र लेख्ने निधो गरिसकेपछि अनुसन्धानमा लागेँ । जहाँबाट थाहा भयो कि पहिला दरबारमा राजाहरूले विभिन्न जिल्लाका कुमारी महिलाहरूलाई ल्याउने अनि शोशण गर्ने गर्नुहुन्थ्यो रे । ती शोषणमा परेका महिलाहरू मरेपछि त आ–आफ्नो जातको भूत बन्छ होला है भन्ने जस्तो लाग्यो । त्यसरी यहाँ त्यो कथालाई प्रस्तुत गरेकी छु,” उनले भनिन् ।

धेरैले नेपाली चलचित्र उद्योगमा स्कोप छैन भनिरहँदा सम्पदा त्यो कुरालाई अस्वीकार गर्छिन् । भारतको मनोरञ्जन उद्योग छोडेर नेपालमै केही गर्छु भनेर तीन वर्षदेखि नेपालमा रहेकी उनले नेपाली दर्शकलाई मौलिक कथा पस्किन सकेमा उनीहरूले स्वीकार्ने उनी बताउँछिन् ।

चलचित्रमा अभिनेत्री मिथिला शर्मा, गौरी मल्ल, सम्पदा मल्ल, शिल्पा मास्के अनि अभिनेता कर्माको मुख्य भूमिका रहेको छ । दुई वर्षअघि नै रिलिज हुनुपर्ने चलचित्र कोरोना कहरका कारण पछाडि धकेलिएको हो ।

हङकङलाई कर्मथलो बनाएर आइरहेका निर्माता पृथ्वी रानामगरले यो चलचित्रमा लगानी गरेका छन् । उनकाअनुसार ‘कठवपुतली’ मा दुई करोड ३ लाख रुपैयाँ लगानी भएको छ । यसअनुसार अब उनले नाफा लिने हो भने चलचित्रले कम्तीमा पनि साढे ५ करोड ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ ।

तर, नेपालमा त्यति नबनेका र बनेपनि सफल हुन नसकेका हरर जनरामा बनेको यो चलचित्रले सफलता पाउने हो वा होइन भन्नेबारे अहिले भन्न सकिन्न । यस्तो अनिश्चितताका बिच पनि चलचत्रिमा लगानी गर्नुलाई उनी आफ्नो पागलपन नै भन्छन् ।

“म एक किसिमको पागल नै हुँ । मेरो परिवारले मलाई पागल नै भन्नु हुन्छ । मेरो सुरुका दुई चलचित्रको लगानी पुरै डुब्यो । यो तेस्रो चलचित्रले मलाई हौसला दिन्छ कि भन्ने आश छ । तर, यदि यो चलचित्र पनि उसैगरी असफल भए भने पनि म चौथो चलचित्रमा लगानी गर्नेछु,” उनले भने ।

यस्तै अभिनयको ुपागलपनुले नै हो अभिनेत्री उषा रजकलाई किर्गिस्तानबाट पुनः नेपाल फर्काएको हो । विवाह गरेर उतै यूएनको जागिरे भएर सेटल भइसकेकी उनी ‘कठपुतली’को कथा सुन्ने बित्तिकै सम्पदाको प्रस्ताव सुनेर जागिर छोडेर नेपाल आएकी हुन् ।

यो पागलपनुलाई विदेशी भूमिलाई कर्मथलो बनाएर अघि बढिरहेका निर्मातारनिर्देशक दुवै यसलाई आफ्नो जन्मभूमिप्रतिको माया अनि चलचत्रिमार्फत् नेपालको मौलिकता, कला, संस्कृति अनि भाषालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने जोश भएको बताउँछन् ।

थुप्रै नेपाली चलचत्रिमा अभिनय गरिसकेका अभिनेत्री मिथिला शर्मा आफ्नै मौलिक कथा अनि महिला सशक्तीकरणको कथालाई लिएर दर्शकसामू आउन लागिरहँदा नर्भस भएको बताउँछिन् ।

अर्की अभिनेत्री शिल्पा मास्के भने ‘कठपुतली’ले समग्र नेपाली चलचित्र अनि हरर अनि थ्रिलर जनरामा नयाँ ढोका खोलेको बताउँछिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com