२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

मछिन्द्रका सुनील बल हेड गर्दै

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन मछिन्द्रविरुद्ध विभागीय टिम पुलिसको प्रदर्शन गतिलो थिएन । उसले दोस्रो हाफमा भने आच्छुआच्छु नै पार्‍यो ।

मछिन्द्रका सुनील बल हेड गर्दै (बायाँ) र विशाल राई विपक्ष पोस्टमा आक्रमण गर्दै ।

त्यसैले पहिलो हाफमा सुनील बलको गोलमा लिएको अग्रता जोगाउँदै आइतबार दशरथ रंगशालामा १–० को जित निकाल्दै मछिन्द्र सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीलाई उछिन्दै शीर्षस्थानमा उक्लियो । यससँगै मछिन्द्रले एएफसी कप २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने भएको छ ।

गत सिजन (२०७६ साल) पहिलोपल्ट च्याम्पियन भए पनि मछिन्द्रले एएफसी क्लब लाइसेन्स नभएकाले एएफसी कप खेल्न पाएको थिएन । जसको फाइदा आर्मीलाई भएको थियो । लिगको उपविजेता भए पनि आर्मीले एसियाली फुटबल महासंघ ९एएफसी० को प्रतियोगिता खेल्ने अवसर पाएको थियो । एएफसी कप २०२२ को ‘ड्र’ निस्कँदा हाम्रो ‘ए’ डिभिजन लिग नसकिने भएकाले अखिल नेपाल फुटबल संघ ९एन्फा० ले यसपालि सातौं चरणमा शीर्षस्थानमा रहने क्लबले देशको प्रतिनिधित्व गर्न पाउने जनाएको थियो । त्यो अवसर मछिन्द्रले पाएको छ । उसले आर्मीले जस्तै एएफसी कपको दक्षिण एसियाली क्षेत्रमा प्रारम्भिक चरणमै प्रतिस्पर्धा गर्नेछ । प्रारम्भिक चरण र प्ले–अफमा सफलता हात पार्नसके समूह चरणमा पुग्नेछ ।

एएफसीले आफ्नो प्रतियोगितामा सहभागी हुन क्लब लाइसेन्स अनिवार्य गरेको छ । गत सिजन आर्मीले मात्रै एएफसी क्लब लाइसेन्स पाएको थियो । मछिन्द्र, मनाङसँगै आर्मी र एपीएफले सन् २०२२ का लागि एएफसी क्लब लाइसेन्स पाएका छन् । यी चार क्लबमध्ये सबभन्दा अगाडि रहने क्लबमात्रै आउने एएफसी कपमा खेल्ने हकदार हुन् । नेपाली क्लबले खेल्ने माथिल्लोस्तरको औपचारिक प्रतियोगिता पनि एएफसी कप नै हो । एएफसी कपमाथिको च्याम्पियन्स लिगमा नेपाली क्लबले छनोट खेल्ने हैसियत पनि राख्दैन ।

पुलिसलाई हराएर मनाङलाई १ अंकले उछिन्दै एएफसी कप खेल्ने निश्चित गरेपछि मछिन्द्रका कप्तान सुजल श्रेष्ठले भने, ‘अवश्य खुसी लागेको छ । सात खेलमै निर्णय भयो । अलिकति टिमलाई दबाब पनि थियो । तर, हामी सफल भयौं । यसमा सबैले मिहिनेत गरेका छन् ।’ उनले थपे, ‘पहिला आर्मीले एएफसी कप खेल्दा हामीलाई दुःख लागेको थियो किनभने हामी च्याम्पियन भएर पनि लाइसेन्स नभएका कारण खेल्न पाएनौं । यसपालि मौका पाइएको छ । खुसी छौं । भगवान्ले पनि साथ दिनुभएजस्तो लाग्छ ।’ उनले टिम राम्रो भएकाले एएफसी कपको प्रारम्भिक चरणबाट अगाडि बढ्ने आशा पनि व्यक्त गरे ।

सुनीलको पाँचौं गोल

राम्रो लयमा रहेका सुनील बलले विशाल राईको फ्रि–किकमा हेडद्वारा खेलको एकमात्र गोल २२ औं मिनेटमा गरेका थिए । पहिलो हाफमा फिक्का देखिएको पुलिसले फ्रि–किकमा पनि पेनाल्टी क्षेत्रमा सुनीलसहित आन्द्रस निआ र विमल घर्तीमगरलाई खुला छाडेको थियो । त्यसै अवसरमा सुनीलले हेडद्वारा प्रहार गरेको बल ‘फस्ट बार’ मै जाली चुम्न पुगेको थियो । यससँगै सुनील ५ गोलसहित यो लिगको सर्वाधिक गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छन् ।

त्यो गोलबारे पुलिसका प्रशिक्षक अनन्तराज थापाले भने, ‘फ्रि–किक सेकेन्डबारमै हान्छ भनेर त्यसैमा केन्द्रित भयो । तर, फस्ट बारमा हाने । केटाहरू झुक्किए ।’ टिमको प्रदर्शनबारे उनले भने, ‘हामीले पहिलो हाफ डिफेन्समा सुरक्षित भएर खेलेका थियौं । जसरी पनि गोल हान्नुपर्छ भनेर दोस्रो हाफमा अगाडि बढ्यौं । सुमन ९लामा० को फ्रिकिक इन्साइड बार ९पोस्टको भित्री भाग० मा लागेर पनि गोल नहुनु मछिन्द्रको भाग्य रह्यो ।’ सात खेलमा ६ अंकमात्रै जोडेको उनको टिम ११ औं स्थानमा छ । पुलिस ५ खेलयता जितविहीन छ ।

विशालले ४३ औं मिनेटमा सशक्त रूपमा प्रहार गरेको बल पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोकेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा सुनीलले लामो दूरीबाट प्रहार गरेको बल शत्रुघनले पन्च गर्दै बाहिर फालिदिए । मनीष डाँगीले गोलकिपर पछाडि परेको अवस्थामा खाली पोस्टमा ६८ औं मिनेटमा हानेको बल पोस्ट बाहिर गएको थियो ।

आक्रामक देखिएको पुलिसले दोस्रो हाफमा बराबरी गर्ने अवसर पाएको थियो । तेज तामाङको पासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका कप्तान रामचन्द्र वजीले बल पोस्टमाथि हानेपछि पुलिस बराबरी गर्न चुक्यो । सुमनले करिब २८ यार्डबाट ७४ औं मिनेटमा प्रहार गरेको फ्रि–किकमा बल बारमा लाग्दै फर्किंदा अर्को अवसर गुम्यो । चोटका कारण दोस्रो हाफमा मात्रै मैदानमा प्रवेश गरेका मछिन्द्रका कप्तान सुजलले ७८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट सशक्त रूपमा प्रहार गरेको बलमा पुलिसका गोलकिपर शत्रुघनले उत्कृष्ट बचाउ गरे । अन्त्यतिर सुमन र अजित भण्डारीका प्रहारलाई डिफेन्डरले रोकेपछि मछिन्द्रले एएफसी कपमा स्थान सुरक्षित गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com