२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुरामको राजनीतिक प्रतिवेदन

#डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्को बैठक आजदेखि सुरु हुँदैछ । परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बैठकमा प्रस्तुत गर्नका लागि ३२ पृष्ठको ‘समसामयिक राजनीतिक र जसपाको कार्यदिशा’ राजनीतिक प्रतिवेदन तयार पारेका छन् । १४ बुँदामा समेटिएको सो कार्यदिशामा अन्तर्राष्ट्रिय सम्बन्ध, पार्टीको वैचारिक पक्ष, अन्य पार्टीसँगको सम्बन्ध, अगामी कार्यदिशालगायतका विषयवस्तु उनले समेटेका छन् ।

उनले जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बन्नुलाई स्वाभाविक रूपमा लिएका छन् । उनले भनेका छन्, ‘महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका केही साथीहरूले प्रतिगामी ओली सरकारसँग गैरराजनीतिक चरित्रको हेलमेल र हिमचिम बढाउँदै त्यसमा सामेल हुने गलत बाटो अवलम्बन गर्न पुगे ।’ उनीहरूले यो कुरा बेलैमा बुझ्न नसक्दा पार्टी र आन्दोलनलाई हानी नोक्सानी पुग्यो नै, स्वयं उनीहरूको राजनीतिक भविष्य सङ्कटमा परेको उनले उल्लेख गरेका छन् ।

उनीहरूले ओलीको त्यो कदमलाई साथ दिने र ओली सरकारमा सामेल हुने झनै गलत बाटो अख्तियार गरेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले २०७८ श्रावण ११ गते निर्वाचन आयोगले पार्टीको आधिकारिता आफूहरूलाई दिएको र बाटो बिराएका अल्पमत पक्षका साथीहरू भिन्नै पार्टी गठन गर्ने निर्णयमा पुगेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पार्टी एकताको छोटो समयभित्रै सामना गर्न परेका यी उत्तर चढाव निःसन्देह असहज र दुर्भाग्यपूर्ण थिए । तथापि विभाजनकारी तत्त्वले पार्टीलाई खासै हानी पुर्‍याउन भने सकेनन् । पार्टीको ठूलो पङ्क्ति जनता समाजवादी पार्टी कै पक्षमा रह्यो ।’

ओली नेतृत्वको सरकार लोकरिझ्याइँ गर्न खप्पिस

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, आवास, सार्वजनिक सेवालगायतका क्षेत्रमा कुनै उल्लेखनीय सुधार गर्न नसकेको दाबी गर्दै अध्यक्ष भट्टराईले तत्कालीन प्रधानमन्त्री ओली अनेक उखानटुक्का, भ्रामक मिथ र अवधारणाबाट लोकरिझ्याइँ गर्न खप्पिस तर कुनै पनि गम्भीर काम योजनाबद्ध र सुविचारित ढङ्गले नगर्ने कार्यशैलीले ग्रस्त रहेको बताएका छन् ।

प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने सार्वजनिक प्रतिबद्धता गरेको थियो । तर, १२ सय डलर पनि पुगेन । घरघरमा ग्याँस पाइप, चिनियाँ चुच्चे रेल, हनुमाननगर–कलकत्ता पानीजहाज, काठमाडौँमा मोनो र मेट्रो रेलजस्ता दर्जनौँ पपुलिष्ट प्रतिबद्धता गरिएका थिए– ती सबै हावादारी साबित भए, उनको बुझाई छ ।

यति, ओम्नी, वाइडबडी, ३३ किलो सुनजस्ता दर्जनौँ ठूल्ठूला भ्रष्टाचारका काण्ड भएको उल्लेख गर्दै उनले तिनको स्वतन्त्र तथा निष्पक्ष छानबिन समेत हुन नसकेको उनले उल्लेख गरेका छन् ।

सरकारको बचाउ

अध्यक्ष भट्टराई वर्तमान गठबन्धनको सरकारको बचाउ गरेका छन् । उनले प्रस्तुत गरेका कार्यदिशामा गठबन्धन कसैको रहर नभएर देशको विशिष्ट राजनीतिक परिस्थितिको उपज रहेको उल्लेख गरेका छन् । गत निर्वाचनमा ५ वर्षका लागि सरकार चलाउन वाम गठबन्धनले झण्डै दुईतिहाईको जनादेश पाएको सन्दर्भमा बीचैमा यस्तो गठबन्धनको सरकार बन्ने अपेक्षा कसैले राखेको थिएन । देशको राजनीति सत्ता–शून्यताको अवस्थामा बस्न सक्दैनथ्यो । त्यो रिक्ततालाई पूरा गर्न गठबन्धन बाहेक अरू कुनै उपाय थिएन । उनले भनेका छन्, ‘यो सरकार कुनै खास पार्टीको नीति, सिद्धान्त, विचार र एजेण्डाअनुरूप चलिरहेको सरकार हैन । यो एक साझा सरकार हो । हामीले चाहेर पनि यो सरकार हामी पार्टी नीति अनुरूप सञ्चालन गर्न सक्दैनौँ ।’

सरकारका कामहरू पर्याप्त सन्तोषजनक नभएको हुन सक्ने भन्दै उनले सरकार सञ्चालनमा प्रशस्त सुधारको आवश्यकता छ तर, अहिलेलाई यो सरकारको कुनै विकल्प छैन आगामी चुनावसम्म जानै पर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो गठबन्धन सरकारलाई आगामी निर्वाचनहरू सम्पन्न गरुन्जेलसम्म जोगाइराख्न हाम्रो पार्टीले यथासम्भव सबै प्रयत्न गर्नु पर्दछ ।’

अध्यक्ष भट्टराईले सरकार जोगाउनेमा जोड दिए पनि गठबन्धनप्रति त्यति विश्वस्त भने छैनन् । उनी भन्छन्, ‘आगामी चुनावहरूसम्म संघीय र प्रादेशिक गठबन्धन सरकारहरू कायम रहनु पर्दछ भन्ने कुरामा पार्टी प्रष्ट छ तर, चुनावहरू गठबन्धनबाट लड्ने कि एक्ला एक्लै त्यो अहिल्यै भन्न सकिन्न । गठबन्धन सरकार चलाउनु र चुनावी गठबन्धन गर्नु भिन्नाभिन्नै राजनीतिक घटना हुन् ।’ कुनै अमुक पार्टीको मात्र प्रयासले चुनावी गठबन्धन हुन नसक्ने भन्दै उनले जसपाको चाहना र प्रयासले मात्रै ५ दलीय गठबन्धनलाई चुनावसम्म सँगै लान सम्भव नरहेको प्रष्ट गरेका छन् ।

जसपा र काँग्रेसमा भिन्नता

उनले काँग्रेस र जसपा बीचको समानता–यी दुवै मूलतः लोकतान्त्रिक धारका दल रहेको उल्लेख गरेका छन् । तर, काँग्रेस ‘उदार लोकतन्त्र’ मा विश्वास गर्ने दल र जसपा ‘समावेशी लोकतन्त्र’ मा विश्वास गर्ने दल हो भनेका छन् । त्यस्तै काँग्रेस संसदीय प्रणालीमा विश्वास गर्ने दल हो भने जसपा सहभागितामूलक, प्रत्यक्ष र समानुपातिक प्रणालीमा विश्वास गर्ने दल रहेको उनले उल्लेख गरेका छन् ।

उनको नजरमा काँग्रेस नवउदारवादी आर्थिक नीतिमा विश्वास गर्ने दल हो भने जसपा सामाजिक उत्तरदायित्वसहितको बजार अर्थतन्त्र अर्थात् ‘बजार–समाजवाद’ मा विश्वास गर्ने दल हो । काँग्रेस परोक्षरप्रत्यक्ष देशको एकात्मक, एकल जातीय, एकभाषिक नीतिलाई प्रतिरक्षा गरिरहेको छ भने जसपा बहुसाँस्कृतिकतावादको पक्षमा दृढतापूर्वक उभिएको छ । काँग्रेसले उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्तिको प्रश्नलाई अझै आत्मसात् गर्न सकेको छैन भने जसपा यी सवालको मुख्य संवाहक दल हो भनी अध्यक्ष भट्टराईले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘लोकतन्त्रको विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा काँग्रेससँग जसपाको सहकार्य हुन सक्दछ । बाँकी प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुन्छ ।’

अल्पमत र बहुमतको प्रतिस्पर्धा

उनले पार्टीमा अल्पमत र बहुमतको प्रतिस्पर्धा कायम रहनुपर्ने बताएका छन् । उनले प्रस्तुत गरेका कार्यदिशामा भनेका छन्, ‘पार्टीको राजनीतिक जीवनमा विभिन्न आरोह–अवरोह आउँछन्, आउनु स्वाभाविक हुन्छ । त्यसको प्रभाव संगठनमा पर्दछ । पार्टी संगठनले त्यस्ता समस्या, अप्ठ्यारा र आरोह अवरोहलाई सामना गर्न र पचाउन सक्नु पर्दछ ।’

उनले पार्टी सरल रेखामा हिँड्ने प्रशासनिक संगठन नभएको र यो निक्कै जटिल प्रकृतिको राजनीतिक संगठन रहेको बताएका छन् । पार्टीभित्र व्यक्त हुने सबै प्रकारका विचारलाई सम्मान गर्दै सकेसम्म सर्वसम्मत निर्णय गर्ने प्रयास गर्नुपर्ने उनको भनाइ छ । तर यदाकदा मत विभाजन गर्नु पर्ने अवस्था आउन सक्ने र मत विभाजनको अवस्थामा अल्पमत बहुमतको प्रक्रियालाई स्वाभाविक रूपमा लिनु पर्ने उनले बताएका छन् । एकपटकको बहुमत सधैँलाई बहुमत, एकपटकको अल्पमत सधैँलाई अल्पमत भन्ने बुझ्नु नहुने बताउँदै उनले बहुमत वा अल्पमत पक्षमा परेको कारण कुनै इगो, पूर्वाग्रह वा बदलाको भावना राख्न नहुने बताएका छन् ।

कुनै पार्टी सदस्यको विचार कुनै खास एजेण्डामा कसैसँग मिल्न र कसैसँग नमिल्न सक्दछ । यसलाई पनि कुनै ठूलो आपत्तिको विषय बनाउन नहुने उनले उल्लेख गरेका छन् । पार्टीमा अवैचारिक र स्थायी गुटबन्दी भने हुनु नहुने र पार्टीभित्रको आन्तरिक निर्वाचनमा हारजित हुँदा जित्नेले सबै थोक जित्यो, हार्नेले सबै थोक हार्‍यो भन्ने ठान्न नहुने उल्लेख गरेका छन् ।

पार्टी एकता

पार्टीको आन्तरिक जीवन र एकताबारे कतिपय भ्रामक चर्चा यस बीच सञ्चार माध्यममा आएको उल्लेख गर्दै अध्यक्ष भट्टराईले वास्तवमा पार्टी कुनै फुट, विभाजनतिर हैन, कतिपय आन्तरिक समस्याको निदान र छलफलको क्रममा रहेको बताएका छन् । लोकतान्त्रिक पार्टीभित्र यदाकदा त्यस्ता क्षण आउँछन्, आफैभित्र गम्भीर छलफल र विमर्श गर्नु पर्ने हुन्छ, विभिन्न पूर्व घटकहरूबाट बनेको पार्टीलाई एकता–संघर्ष–रूपान्तरणको विधिले नयाँ आधारमा नयाँ एकता कायम गर्नु आवश्यक रहेको बताउँदै उनले यस्ता प्रयासलाई गुट, टुट र फुटको संज्ञा दिन नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘बहसकै क्रममा हामी कतिपय सार्थक र सुखद निष्कर्षमा पुगेका छौं । बाँकी बचेका विषय पार्टीको विधान अधिवेशनमार्फत हल हुने अपेक्षा गर्न सकिन्छ । तसर्थ, पार्टीको सुदृढ आन्तरिक एकताको पक्षमा हामी सँगै दृढतापूर्वक उभिनु पर्दछ । भ्रमहरूलाई चिर्दै र पार्टी पङ्क्तिलाई एकताबद्ध पार्नु पर्दछ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com