२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

परिवारवादको ट्याग नदिनुस्, म फिल्डमै काम गर्न खोजेको होः महिला नेत्री सृष्टी दाहाल केसी

परिवारवादको ट्याग नदिनुस्, म फिल्डमै काम गर्न खोजेको होः महिला नेत्री सृष्टी दाहाल केसी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी सृष्टि दाहाल केसीले प्रचण्डकै परिवारको सदस्य भएकाले आफूमाथि प्रश्न उठाएकोमा आपत्ति जनाएकी छन् ।

उनी प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल केसीकी छोरी हुन् । ज्ञानुको क्यान्सरका कारण पहिल्यै निधन भइसकेको छ ।

सृष्टिले आफू १२ वर्षदेखि पार्टीमा आवद्ध रहेको र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिमा बसेर काम गरेको दाबी गरेकी छन् । २०६७/०७/०२ मा आफूले पार्टी सदस्यता लिएको र सदस्यता नम्बर पी–३३५३८९१२४०४ रहेको उनले उल्लेख गरेकी छन् । अहिले आफूलाई एक्कासी पद दिएको भन्दै भइरहेको टिका–टिप्पणीप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो असन्तुष्टि जनाएकी हुन् ।

सृष्टिले झण्डै ७ सय शब्द लामो स्टाटस लेखेर फेसबुकमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी छन् । सृष्टिलाई केही दिनअघि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । त्यसमाथि ‘प्रचण्डको परिवारवाद’ भनेर टिका–टिप्पणी भइरहेको छ ।

सोही टिका–टिप्पणीविरुद्ध अभिव्यक्ति दिँदै सृष्टिले आफू एक्कासि पदमा नआएको दाबी गरेकी छन् । ‘मलाई एक्कासि अहिले पार्टीमा ल्याएर पद दिएको भन्ने भ्रममा नपर्नुहोस्’, उनले भनेकी छन्, ‘हरेक व्यक्तिका आ–आफ्ना रुचि हुने गर्दछन् । मलाई समाज सेवा र राजनीतिमा चासो छ । म विद्यार्थीको केन्द्रीय सदस्य बन्न असक्षम र अयोग्य उम्मेदवार हो, जस्तो मलाई लाग्दैन् ।’

आफूमाथि प्रश्न उठेकाले जवाफ दिनु कर्तव्य रहेको भन्दै उनले यो अभिव्यक्ति सार्वजनिक गरेको जनाएकी छन् । आफ्नो नाम जोडेर पार्टी अध्यक्ष प्रचण्डलाई बीचमा नल्याउन पनि उनले आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘मेरो विषयमा हाम्रो पार्टी अध्यक्षको नाम जोडेर बीचमा नल्याउनुहोस् । उहाँलाई मलाई राजनीतिमा इच्छा छ भन्ने थाहा छ । तर, त्योबाहेक उहाँले केही गर्नु भएको हैन र अध्यक्षलाई यस विषयमा केही थाहा पनि थिएन ।’

आफ्ना बुबा सागर केसीको विषय पनि उल्लेख गर्दै सृष्टिले त्यस विषयमा पनि प्रष्ट्याउन खोजेकी छन् । सभामुख कृष्णबहादुर महराको सचिवालयमा राखिएको विषयमा प्रष्टोक्ति दिँदै सृष्टिले लेखेकी छन्, ‘त्यसमा राख्न पनि क। प्रचण्डले प्रस्ताव गर्नुभएको होइन । क। कृष्णबहादुर महरा बाबाले आफैंले ड्याडीलाई बोलाएर राख्नुभएको हो ।’

प्रचण्डकै परिवारको सदस्य भनेर आफ्नो बुबामाथि अन्याय भइरहेको उनले दाबी गरेकी छन् । जुनियरहरू माथिमाथि पुगिसक्दा आफ्नो बुबा केन्द्रीय कमिटीमा पनि आउन नसकेको सृष्टिको गुनासो छ ।

अन्तिममा सृष्टिले ‘प्रचण्डको परिवार हो भन्दैमा म राजनीतिमा आउनै नपाउने त हुँदैन होला नि रु’ भनेर प्रश्न गरेकी छन् । त्यसबाहेक व्यक्तिको आफ्नो इच्छा, क्षमता, योगदान र चाहना हुने उल्लेख गर्दै ‘ममाथि औंला त्यतिवेला उठाउनु होला, जब म गलत बाटोमा हिँड्छु । आफ्नो कामप्रति वफादार हुन्न’ भनेर उल्लेख गरेकी छन् ।

पूर्णपाठ:
म भरतपुर, चितवन निवासी सृष्टि दाहाल केसी । मेरो पार्टी सदस्यता नम्बर पी– ३३५३८९१२४०४ । म २०६७/०७/०२ मा पार्टी सदस्य भएको हुँ र विगत १२ वर्षदेखि चितवन–काठमाडौं सम्पर्क समन्वय समितिमा कार्यरत थिएँ । धेरैथोरै ‘नेपोटिजम’ भन्ने सायद हरेक फिल्डमा हुन्छ जस्तो लाग्छ ।

व्यापारीको परिवारबाट उनका सन्तान त्यही देख्दै-सुन्दै आएका हुन्छन्, त्यही फिल्डप्रति बढी चासो र इच्छा राख्दछन् । त्यस्तै डाक्टरले डाक्टर बनाउने, नायक(नायिकाले त्यही अगाडि बढाउने, अन्य कुनै पनि फिल्डकालाई त्यही लाइनमा रुचि हुने हुन्छ । यदि परिवारको कोही सफल व्यक्ति हुनुहुन्छ भने त्यसले त्यही फिल्डमा आउनेलाई सहज हुन्छ । तर, सफल र असफल केवल आफ्नो खुबी र मेहनतले मात्र बनाउँछ । यदि त्यस व्यक्तिमा आफूले राखेको इच्छा र कामप्रति लगनशीलता छैन र जबरजस्ती कुनै पदमा राखिन्छ भने त्यो व्यक्ति स्वतः असफल भई नै हाल्छ । त्यसैले म के हुन्छु ? त्यो म आफैंलाई पनि समयले देखाउला । केही साथीहरूले मेरोबारे प्रश्न उठाउनुभएको छ, उठाउन पाइन्छ । बोल्न, लेख्न पाइन्छ । माओवादी पार्टीले यत्रो युद्ध लड्नु पर्नाको एउटा प्रमुख कारण पनि यही नै थियो । र, प्रश्न उठेपछि उत्तर दिनु मेरो कर्तव्य हो ।

मैले पार्टी सदस्य लिएको १२ वर्ष भैसकेको छ । मैले मेरो पार्टी सदस्यता नम्बर माथि उल्लेख गरिसकेको छु, ‘भेरिफाई’ गर्न सक्नुहुन्छ । मलाई एक्कासि अहिले पार्टीमा ल्याएर पद दिएको भन्ने भ्रममा नपर्नुहोस् । हरेक व्यक्तिका आ–आफ्ना रुचि हुने गर्दछन् । मलाई समाज सेवा र राजनीतिमा चासो छ । म विद्यार्थीको केन्द्रीय सदस्य बन्न असक्षम र अयोग्य उम्मेदवार हो जस्तो मलाई लाग्दैन् । किनकि मैले हामी सानै छँदादेखि हामीलाई सँगसँगै लिएर मम्मीले हरेक कार्यक्रममा लग्नुहुन्थ्यो । सानो छँदैदेखि हरेक आन्दोलनमा पुगेकै छु । अरू पार्टीबाट आएर विद्यार्थीमा आएको पनि होइन । हाम्रो समस्या के हो भने पदका लागि घुमीफिरी आउनेलाई हामी सधैं स्थान र सम्मान दिन्छौं, ठाउँ दिन्छौं । तर, पार्टीप्रति मनैदेखि माया र सम्मान हुनेलाई हामीले न साथ न त हौसला दिन्छौं ।

ममात्र त केन्द्रीय सदस्य भएको त होइन । धेरै साथीहरू हुनुहुन्छ । तर, केही साथीहरुले मलाई मात्र देखिरहनुभएको छ । हामीभन्दा अग्रजहरूले साथ दिनुस्, हामीलाई प्रशिक्षित गर्नुस् । जनयुद्धमाथि औंला उठाउनेहरूलाई बुझाउन सक्नुप¥यो किन र केका लागि थियो भनेर रु त्यो सम्भव भनेको युवा विद्यार्थीबाट मात्र छ । आफ्नो पार्टीको अस्तित्व बचाउनतिर लाग्नुपर्छ । हामी त्यसका लागि पार्टीप्रति सदैव इमानदार रहने व्यक्तिलाई मौका दिनुस्, आलोचना गरेर आफ्नै परिवारभित्र नखेल्नुहोस् ।

र, मेरो विषयमा हाम्रो पार्टी अध्यक्षको नाम जोडेर बीचमा नल्याउनुहोस् । उहाँलाई मलाई राजनीतिमा इच्छा छ भन्ने थाहा छ । तर, त्योबाहेक उहाँले केही गर्नु भएको हैन र अध्यक्षलाई यस विषयमा केही थाहा पनि थिएन । सायद अहिले चलिरहेको संगठनको समस्याले पनि केही साथीहरूको आक्रोश होला मप्रति । तर, पार्टी संगठन एक हुनुपर्छ भन्ने पक्षमा हो म । जसरी पनि समस्याको हल हुनुपर्छ । परिवारवादको ट्याग नदिनुस्, म फिल्डमै काम गर्न खोजेको हो । मलाई मन्त्री, राजदूत नै बनाएको जस्तो नगर्दिनुस् ।

तपाईंहरु परिवारवादको कुरा गर्नुहुन्छ मेरै ड्याडीले यो पार्टीमा काम गर्नुभयो, सबै त्याग्नुभयो । तर, सधैं पार्टीभित्र अन्यायमा पर्नुभयो । उहाँभन्दा जुनियरहरु कहाँ पुगिसक्नुभयो । तर, उहाँलाई सधैं पछाडि पारियो । त्यस विषयमा तपाईंहरूको ध्यान कहिले पनि गएन । पार्टी अध्यक्षलाई अफ्ठ्यारो पर्ला भनेर उहाँ कहिले बोल्नुभएन । पार्टी कमिटीले जे जे गर्यो, सबै स्वीकार्नुभयो । र, आज पार्टीको कुनै पनि विभागमा समेत राखिएको छैन । आफूभन्दा धेरै जुनियर साथीहरुलाई सेन्ट्रल कमिटीमा ल्याइयो । तर, यस विषयमा कोही बोल्नुभएन, साथ दिनुभएन ।

अझ धेरै ठाउँमा सभामुखको सचिवालय भनेर जोडेको देख्छु । त्यो पनि आफ्नै बाध्यता र समस्याले हुनुभएको हो । त्यसमा राख्न पनि क। प्रचण्डले प्रस्ताव गर्नुभएको होइन । क. कृष्णबहादुर महरा बाबाले आफैंले ड्याडीलाई बोलाएर राख्नुभएको हो । आफूभन्दा जुनियर माथि–माथि पुगेको बेला आफू पार्टीमा कुनै हैसियतमा हुनुहुन्न । तर, बाबालाई हामीले हाम्रो विषयमा तनाव दिने काम गरेका छैनौं अहिलेसम्म । त्यसैले जे भन्नु छ, हामीलाई भन्नुस् । अध्यक्षलाई बीचमा नल्याउनुहोस् । उहाँलाई केही थाहा थिएन र केही पनि गर्नुभएको पनि हैन ।

प्रचण्डको परिवार हो भन्दैमा म राजनीतिमा आउनै नपाउने त हुँदैन होला नि ? हर व्यक्तिको आफ्नो इच्छा, क्षमता, योगदान र चाहना हुन्छ । ममाथि औंला त्यतिबेला उठाउनु होला, जब म गलत बाटोमा हिँड्छु । आफ्नो कामप्रति बफादार हुन्न । मलाई पार्टीभित्र र बाहिरबाट साथ, सहयोग र हौसला दिनुहुने धेरै साथीहरूलाई हृदयदेखि नमन साथै आलोचना गर्नुहुने साथीहरुलाई पनि धन्यवादसहित वास्तविकता बुझिदिनुहुन विनम्र अनुरोध ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com