२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नीति तथा कार्यक्रमअघि विदुर नगरपालिकाद्वारा श्वेत पत्र जारी (पूर्णपाठसहित)

नुवाकोटको विदुर नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउनुअघि श्वेतपत्र जारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन बमोजिम असार १० गतेभित्र स्थानीय सरकारका नीति तथा कार्यक्रम नगरसभामा पेश गरिसक्नुपर्ने प्रावधान रहेकामा सो अघि नवनिर्वाचित नेतृत्वले अघिल्लो नेतृत्वबाट भएको समग्र गतिविधिको जानकारीसहितको स्वेतपत्र जारी गरेको हो ।

‘हामीले कार्यभार सम्हाल्दाका बखतको सम्पूर्ण अवस्थाका बारेमा यसै श्वेतपत्रमार्फत समयमानै जानकारी गराउनु हाम्रो कर्तव्य हुन आउँछ । यसैले हामीले छोटो समयमा नै नगरपालिकाको स्थायी संयन्त्रमार्फत पाएको जानकारीका आधारमा आर्थिक अवस्था सुखद मान्न सकिँदैन’, श्वेतपत्रमा भनिएको छ ।

श्वेतपत्रअनुसार नगरपालिकाको कुल बजेट १ अर्ब ४१ करोड ३६ लाख ९६ हजार २०० रुपैयाँ रहेकामा जेठ मसान्तसम्म ९२ करोड ४७ लाख १० हजार ५६५ रुपैयाँमात्रै आम्दानी भएको देखिएको छ । आम्दानी भन्दा बजेट ठूलो बनाउँदा ठूलो रकम भुक्तानी हुन नसकेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकासँग हालसम्म ५७ करोड ७५ लाख रुपैयाँ दायित्व रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ । मेयर राजन श्रेष्ठले जारी गरेको श्वेतपत्रमा अघिल्लो स्थानीय सरकारले स्रोतको सुनिश्चितता नभई बोलपत्र आह्वान गरी ठेक्कापट्टा गरेको, स्रोतले धान्नै नसक्ने गरी कर्मचारी भर्ना गरेको, पटक पटक रकमान्तर गरिएको, बजेटलाई ढिक्कामा राखेर तोक आदेशको आधारमा थुप्रै योजना बाँडिएको, खर्चमा मितव्ययिता अपनाउन नसकेको, नीतिअनुसार काम नगरेको जस्ता आरोप लगाइएको छ ।

श्वेतपत्रमा श्रेष्ठले आफूहरुको आगामी लक्ष्य र प्रतिबद्धता ७ बुँदामा उल्लेख गरेका छन् । जसमा नगरपालिकाले तिर्नुपर्ने बाँकी नियमसंगत रकम तथा दायित्वलाई आन्तरिक स्रोतले धान्न नसकेमा संघीय तथा प्रादेशिक सरकारसँग समेत समन्वय गर्ने, आयोजनाहरुलाई प्राथमिकताका आधारमा निरन्तरता दिने, पुरा नभएका योजनाहरुलाई पूरा गर्ने, भुक्तानी हुन नसकेका उपभोक्ता समितिको रकम आम्दानी भएसँगै क्रमैसँग भुक्तानी दिने, कर्मचारी संगठनलाई छरितो बनाउने, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अबलम्बन गर्ने प्रतिबद्धता जनाइएको छ ।

श्वेतपत्रका आफूहरुको प्रतिबद्धता र लक्ष्यलाई आगामी नीति तथा कार्यक्रममा पनि समावेश गरिने उपमेयर प्रभा बोगटीले रातोपाटीलाई जानकारी दिइन् । उनले नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने तय भएको जानकारी दिँदै बजेट चुस्त र प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com