२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने प्रचण्डको दाबी

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने प्रचण्डको दाबी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उनले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताए ।

“सबैलाई पुनः एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट भएका व्यक्तिरसमूहलाई सँगै लिएर जानुछ, संविधान र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई अगाडि बढाउनुछ”, उनले भने, “वामपन्थी विचारलाई एक ठाउँमा केन्द्रित गर्ने रणनीतिका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।” देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी तथा नेतृत्वप्रतिको भरोसा र विश्वास टुटेको आफूले नपाएको उल्लेख गर्दै उनले पार्टीले विगतमा खेलेको भूमिकाका बारेमा जनतामा अगाध आस्था र विश्वास रहेको बताए ।

“कहीँ समस्या छ भने त्यो नेतामा छ, नेताको एउटा पङ्क्तिमा व्यवहार र विचार तथा नीति र नेतृत्वप्रतिको विश्वास धर्मराएको छ । नेताहरु एकढिक्का भएर जाने हो भने मुलुकमा फेरि पनि माओवादीले नेतृत्व गर्ने अवस्था आउँछ ।” उनले भने ।

पछिल्ला दिनमा माओवादीप्रति जनतामा आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले विचार र व्यवहारमा एकरुपता हुन नसक्दा एवं पार्टीभित्रको गुटबन्दी अन्त्य नहुँदा निर्वाचनमा कमजोर नतिजा देखिएको स्वीकार गरे । “स्थानीय निर्वाचनमा हाम्रो जनमत खस्केको होइन, जनतामा आकर्षण घटेर माओवादीको सिट गुमेको भए हामीले कमजोरी गर्‍यौँ, जनताले साथ दिएनन् भन्न हुन्थ्यो”, अध्यक्ष दाहालले भने, “जनताको साथ समर्थन रह्यो । तर पार्टीभित्रै अन्तरविरोधका कारण यसअघि जितेका स्थानीय तह गुमायौँ ।”

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि माओवादीप्रति अहिले देखिएको आकर्षणलाई बचाउन सक्नुपर्ने उनको भनाइ थियो । पछिल्लो समय विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गर्ने लहर नै चलेको उल्लेख गर्र्दै उहाँले आगामी निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो पार्टी बन्ने बताए । “अहिले फेरि पूर्व माओवादी र अन्य कम्युनिष्ट घटकबाट माओवादीमा आउने लहर चलेको छ”, उनले भने, “माओवादीप्रतिको आकर्षणलाई बचाउन सकियो भने वामपन्थीतर्फ पहिलो पार्टी बन्ने सम्भावना छ ।”

पार्टीभित्र विचारको भन्दा पनि नेतृत्वको आलोचना गर्ने र गुटबन्दी गर्ने अवस्था आएको भन्दै उनले पार्टीभित्रको गुटबन्दी हल गर्न छानबिन समिति नै बनाउनुपर्ने अवस्था देखिएको बताउनुभयो । विचार र आचरणका बीचमा देखिएको अन्तरविरोधलाई हल गर्ने प्रश्न माओवादीका अगाडि आएको उल्लेख गर्दै उनले भने, “कहीँ न कहीँ आचरण र विचारमा विचलनका गम्भीर सङ्केत देखिएका छन्, पार्टीका काममा, निर्वाचनका समयमा, जनपरिचालनका क्रममा त्यस्तो प्रवृत्ति अझ गम्भीर ढङ्गले देखिने गरेको छ ।”

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com