२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

आन्दोलनमा समर्थन गर्न विद्यालय कर्मचारीको माग

आन्दोलनमा समर्थन गर्न विद्यालय कर्मचारीको माग

मकवानपुर । आफूहरूको आन्दोलमा समर्थन गर्न विद्यालयमा कार्यरत कर्मचारीले माग गरेका छन् । पेशागत हितका लागि भन्दै आन्दोलनरत विद्यालय कर्मचारीहरूले आइतबारदेखि एक साता विद्यालय बन्दको घोषणा गरेका छन् । उनीहरूले मकवानपुर जिल्लाका विद्यालय शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिसँग यस्तो आग्रह गरेका हुन् ।

भदौ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको नेपाल विद्यालय कर्मचारी परिषद्ले अन्ततः विद्यालय नै बन्द गर्ने निर्णय गरेको हो । भदौ ४ गते कर्मचारी परिषद्को बैठकले भदौ १२ गतेदेखि १८ गतेसम्म विद्यालय बन्दको आह्वान गरेको थियो ।

विद्यालय बन्दको आह्वान गरे पनि कर्मचारीको मागको विषयमा सरकारले कुनै चासो नदेखाएको भन्दै उनीहरूले आन्दोलनलाई कडाइ गर्नुपरेको बताएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् मकवानपुरका अध्यक्ष राजनप्रसाद अधिकारीले मकवानपुर जिल्लाका सबै विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गर्दै पत्रमार्फत प्रधानाध्यापकलाई आन्दोलनमा सहयोग गरिदिन अनुरोध गरेका हुन् ।

आफूहरू वर्षौंदेखि श्रम शोषण खेप्दै आएको र श्रम शोषणको अन्त्यका लागि आन्दोलन गरिरहेको परिषद्को भनाइ छ । मकवानपुर जिल्लाका १० वटै स्थानीय तहका विद्यालय बन्द गरी सहयोग गरिदिन परिषद्ले आग्रह गरेको छ ।

कर्मचारी परिषद्ले प्रधानाध्यापकलाई गरेको अनुरोधका विषयमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र १० वटै स्थानीय तहका शैक्षिक प्रशासन महाशाखा तथा शाखालाई जानकारीका लागि अनुरोध गरेको छ ।

यस्तै नेपाल शिक्षक महासंघ, महासंघमा आवद्ध संघ, संगठनलाई आवश्यक सहयोग र सहजीकरणका लागि आग्रह गरिएको छ । शनिबार कर्मचारी परिषद् मकवानपुर जिल्ला समितिले शिक्षक महासंघ, संघ, संगठनका पदाधिकारीसँग छलफल समेत गरेको छ ।

शिक्षासम्बन्धी कानुनले विद्यालय तहमा लेखापाल र कार्यालय सहयोगीको रुपमा कर्मचारीको परिकल्पना गरे पनि उनीहरूको सेवा, सुविधामा भने कन्जुस्याई गरेको संगठनको भनाइ छ । मावि तहमा एकजना लेखापाल र एकजना कार्यालय सहयोगीको परिकल्पना गरेको छ भने निमावि र प्राथमिक तहको विद्यालयमा एकजना कार्यालय सहयोगीको मात्रै परिकल्पना गरेको छ ।

तर, उनीहरू दरबन्दीका कर्मचारी हुने व्यवस्था छैन । अहिले संघीय सरकारले लेखापाललाई मासिक १३ हजार ५ सय रुपैयाँ र कार्यालय सहयोगीलाई ८ हजार रुपैयाँ तलबको मात्रै व्यवस्था गरेको छ । संघीय सरकारले उपलब्ध गराएको तलब न्यून भएको ठहर गर्दै अहिले स्थानीय तहले लेखापाल र कार्यालय सहयोगीलाई समान ७ हजार रुपैयाँ मासिक उपलब्ध गराउँदै आएको छ ।

दरबन्दीको व्यवस्था नगरेका कारण विद्यालय कर्मचारीका लागि सम्मानजनक तलब, पेन्सन, उपदान लगायत थप सुविधा उपलब्ध गराउनुपर्ने, विद्यालयको आवश्यकताअनुसारको कर्मचारी उपलब्ध गराउनुपर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय समितिका सचिवालय सदस्य बालकृष्ण दाहाल बताए ।

१२ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा एकजना लेखापाल र एकजना कार्यालय सहयोगीले विद्यालयको नियमित काम सम्भव नभएको दाहालले बताए ।

१२ कक्षासम्म पठनपाठन हुने हेटौंडा ४ को आधुनिक राष्ट्रिय माविमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । आधुनिक माविमा ८ जना कर्मचारी छन् । सरकारले एकजना लेखापाल र एकजना कार्यालय सहयोगीका लागि तलब उपलब्ध गराए पनि विद्यालयको निजी स्रोतबाट थप ३ जना कार्यालय सहयोगी, २ जना सफाई कर्मचारी र एकजना सुरक्षागार्ड नियुक्त गरेको प्रधानाध्यापक बैठा बताए ।

आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक बीरवंश बैठाले कर्मचारीको आन्दोलनप्रति समर्थन रहेको र उनीहरूको आन्दोलनलाई सहयोग गर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com