२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा आयल निगमको मनोमानी

पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा आयल निगमको मनोमानी
मूल्य घटाउन आनाकानी, उपभोक्तालाई मार

नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेको नेपाल आयल निगमले पछिल्लो समय मनोमानी गर्न थालेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी) सँग प्रशोधित पेट्रोलियम पदार्थ किनेर नेपालमा बेच्दै आएको निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य निर्धारण नगरेर नगरेर मनोमानी गर्न थालेको हो ।

प्रत्येक १५–१५ दिनमा आईओसीले निगमलाई अन्तर्राष्ट्रिय बजारमा हुने घटबढ अनुसार नयाँ मूल्यसूची पठाउने गर्छ । जसअनुसार, पछिल्लो ५ पटक प्राप्त मूल्य सूचीअनुसार निगमले घटेर आउँदा घटाउन आनाकानी गर्दै आएको हो । निगमले मूल्य बढेर आउँदा भने बढाउने गरेको छ ।
माथिल्लो निकायको हस्तक्षेपसँगै निगमले असारको दोस्रो साता एकैपटक पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटाएको थियो । उक्त मितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यक्रम नै गरेर मन्त्री दिलेन्द्रप्रसाद बडूले डिजेलको मूल्य प्रतिलिटर २९ र पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएका थिए । त्यसअघि, निगमले पेट्रोल प्रतिलिटर १९९ र डिजेल प्रतिलिटर १९२ रुपैयाँमा बिक्री गर्दै आइरहेको थियो ।
अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर कटौती गरेसँगै उक्त मूल्यमा डिजेल र पेट्रोलको बिक्री भइरहेको थियो । तर, एकैदिन उद्योगमन्त्रीकै सहभागितामा ह्वात्तै मूल्य घटाएसँगै निगमले पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल प्रतिलिटर १६३ रुपैयाँमा बिक्री गर्न थाल्यो । सत्ता साझेदार दलहरूका मूख्य नेताहरू पेट्रोलियम पदार्थको मूल्य घटाउन सहमत बनेसँगै उद्योग मन्त्रालयले उक्त मितिमा मूल्य घटाएको थियो ।
अर्थ मन्त्रालयले घटाएको मूल्यको भरपाई गर्नेगरी भन्सार महशुल कटौती गर्ने मौखिक सहमति दिएको थियो । तर, लिखित निर्देशन नआउँदा मन्त्रालयले कर कटौती गरेन । जसले गर्दा महँगो मूल्यमा किनेर सस्तो मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्नुपरेको निगमको गुनासो थियो ।

जसका कारण आईओसीसँग पेट्रोलियम पदार्थ किनेर भुक्तानी बाँकी रहेको रकमको ब्याज नै साढे १ अर्ब रुपैयाँ हाराहारी रहेको निगमको भनाइ छ । ऋणको भार कम गर्ने भन्दै उच्च नाफा भएपनि निगमले गत अक्टोबर १ मा आईओसीबाट प्राप्त सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेन । उक्त मितिमा प्राप्त मूल्य सूचीलाई गुपचुप राख्दै निगमले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९ रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर ३८ रुपैयाँ नाफा लिएर बेचेको थियो ।

सोअनुसार मूल्य समायोजन नगरी १५ दिनको अवधिमा १ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गर्यो । अक्टोबर १ मा प्राप्त सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको निगमले सो मूल्यसूची सार्वजनिक नगरेर अर्को बदमासी समेत गरेको थियो । निगमले दसैं बिदाका क्रममा लामो सार्वजनिक विदा परेको बाहानाबाजी गर्दै उक्त मितिमा खरिद मूल्यसूची सार्वजनिक नगरेको हो । ‘दसैंको लामो विदा थियो । त्यहीबेला भारतबाट सूची प्राप्त भयो,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘दसैंको विदा सुरू भइसकेको र सबै कर्मचारी छुट्टीमा गइसकेकाले मूल्यसूची सार्वजनिक भएन ।’

लामो सार्वजनिक बिदाको बाहानामा मूल्य घटेर आउँदा निगमले मूल्यसूची सार्वजनिक नगरेपनि बढेर आउँदा भनेलगत्तै सूची सार्वजनिक गर्ने गर्छ । यही क्रमलाई जारी राख्दै १५ अक्टोबरमा प्राप्त सूची भोलिपल्ट नै सार्वजनिक गर्यो ।
नयाँ मूल्यसूचीअनुसार डिजेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । जसअनुसार पेट्रोलमा रु १.७४ प्रति लिटर, डिजेलमा रु १५.६० प्रति लिटर र हवाई इन्धनमा रु १०.२५ प्रति लिटरले बढेर आएको छ । नयाँ मूल्यले डिजेलमा रु ६.३४ प्रति लिटर घाटा र एलपी ग्यासमा रु ३२५.४४ प्रति सिलिन्डर घाटा हुने भएपनि पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब रु ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको निगमले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि निगमले इण्डियन आयल कर्पोरेशन, नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब रु ३३ अर्ब ६० करोड रकम तिर्न बाँकी रहेको अवस्था छ । निगमले पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग रु ७ अर्व र राष्ट्रिय वाणिज्य बैंकसँग रु ३ अर्व ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई व्यवस्थित गर्दै आईरहेको छ ।

मूल्य घट्दा नघटाउने र बढ्दा बढाइहाल्ने प्रवृत्ति तथा आन्तरिकरुपमा उच्च सेवा सुविधाले पछिल्लो समय निगममा मनोमानी मौलाइरहेको प्रष्ट हुने सरोकारवाला बताउँछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com