‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने नेकपा माओवादी केन्द्र स्थायी समिति बैठकको निर्णय

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने भएको छ ।
काठमाडौंमा चार दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लव नेतृत्वको पार्टीसँग एकता गर्ने निर्णय गरेको हो ।
सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकताका लागि मिति बनाएर वार्ता गर्ने निर्णय भएको बताए । बैठकमा आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको उनकाे भनाइ छ ।
‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,’ उनले भने, ‘छिटै वार्ता समिति बनाएर सम्पन्न गर्ने निर्णय भएको छ ।’
उता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग भने वार्ता चलिरहेको सापकोटाले बताए ।
‘विप्लजीको पार्टीबारे निर्णय भइसकेको छ, धेरै भनिरहनुपरेन’, उनले भने, ‘माधवजीको पार्टीबारे हामी निष्कर्षमा पुगिसकेको अवस्थाछ छैन । छलफल चलिरहेको छ । तर तत्कालै एकीकृत समाजवादीसँग एकता सम्भव देखिएन ।’



