२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खुर्सानीको खेती

राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खुर्सानीको खेती

गोरखा, १ मङ्सिर (दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गर्नुभएको गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधँै बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने गर्नुभएका उहाँ आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गर्नुभएको अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्नुहुन्छ । अलिअलि कमाएको पैसा पनि राजनीति गर्दागर्दै सकिएपछि ऋण डुबेका भट्टले अहिले गाउँमै करिब एक सय १७ रोपनी क्षेत्रफल जमिन भाडामा लिएर अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।

उहाँले सुरु गर्नुभएको अकबरे खुर्सानीको खेती प्रदेशभित्र निजीस्तरमा ठूलो क्षेत्रफलमा गरिएको अहिलेसम्मकै ठूलो अकबरे खुर्सानीको व्यावसायिक खेती हो । “व्यापार र राजनीतिले जीवनको सबै कमाई गुमाएपछि म आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि पेसा सुरु गरेको छु”, उहाँले भन्नुभयो, “अब राजनीतिभन्दा कृषि पेसामा नै बढी आनन्द आउन थालेको छ ।”

उहाँले अकबरे खेती सुरु गरेसँगै प्रदेशस्तरमा तालिम लिने अवसर पाउनुभयो । तालिममा सहभागी क्रममा प्रदेशमा अहिलेसम्म त्यति ठूलो स्तरमा निजी क्षेत्रबाट अकबरे खुर्सानीको व्यावसायिक खेती अन्यत्र नभएको जानकारीसमेत पाएपछि आफूमा झनै उत्साह बढेको उहाँको भनाइ छ ।

किसान भट्टले व्यावसायिक रुपमा खेती सुरु गर्नका लागि आफ्नोसँगै सहित छिमेकीको जमिन भाडामा लिनुभएको छ । राजनीतिमा समेत लागेर लामो समयसम्म काम गर्नुभएका उहाँले राजनीतिले खान नदिने भएकाले अहिले कृषि कर्ममा जोडिएको बताउनुभयो ।

“गोरखा र काठमाडौँमा समेत व्यापार थियो तर राजनीतिले सबै सकियो”, उहाँले भन्नुभयो, “केही उपाय नभएपछि अहिले फेरि गाउँ फर्किए र कृषि पेसा सुरु गरेँ ।” उक्त जमिनमा करिब ७५ हजार बेर्ना लगाएकामा करिब ४६ हजार बोटमा उत्पादन सुरु भएको उहाँले बताउनुभयो ।

“सारेका मध्ये २९ हजार बेर्ना सरेन”, उहाँले भन्नुभयो, “सरेका बोटहरुबाट अहिले राम्रो उत्पादन हुन थालेको छ ।” भाडामा लिएको जमिन मध्ये खुर्सानी नसरेको ठाउँमा अदुवा र बेसार खेती गरेको उहाँको भनाइ छ ।

एकपटक हुर्किएको खुर्सानीको बोटबाट ३ वर्षसम्म राम्रो आम्दानी लिन सक्ने किसान भट्टले जानकारी दिनुभयो । अकबरे खुर्सानी फल्न थालेपछि बारी लटरम्म फल्न थालेको उहाँले बताउनुभयो । “बारीमा पस्दा राता हरिया खुर्सानी लटरम्म फलेको देख्दा मन पनि आनन्द हुन्छ”, किसान भट्टले भन्नुभयो, “खुर्सानी बेचेर आम्दानीसमेत राम्रो हुन थालेको छ ।”उहाँले आफ्नो बारीमा उत्पादन भएको खुर्सानी चितवनको मुग्लिनमा रहेको थ्री सिस्टर अचार कम्पनीले खरिद गर्न थालेको छ ।

प्रतिकेजी रु २५० देखि २७५ सम्ममा खुर्सानी बिक्री हुन्छ, उहाँले भन्नुभयो, बजार भाउ पनि राम्रो भएकाले आम्दानी पनि राम्रो हँुदै गएको छ ।” व्यावसायिक खेती सुरु गरेसँगै अकबरे खुर्सानी बेचेर वार्षिक रु ५० लाखसम्म आम्दानी गर्ने आफ्नो लक्ष्य रहेको किसान भट्टले बताउनुभयो ।(रासस)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com