२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

के गर्न चाहन्छन् महिला उम्मेदवार ?

के गर्न चाहन्छन् महिला उम्मेदवार ?

 

‘महिलालाई सुरक्षित बनाउन सीसीटीभी जोड्छु’
सिर्जना सिंह, मेयर उम्मेदवार,
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका

आरक्षणका रुपमा मात्रै महिलालाई अघि सार्ने भ्रम हाम्रो पार्टीले चिरेको छ । म पार्टीले निकालेको घोषणापत्र र आफैँले निकालेको सात ‘स’मा टेकेर काम गर्नेछु । म २०३३ सालमै नेपाली कांग्रेसको सदस्यता लिएको महिला हुँ । त्यो बेलादेखि अहिलेसम्म मैले विभिन्न क्षेत्रको हकहितका लागि काम गर्दै आइरहेको छु । बिहेपछि राजनीतिबाट मैले केही विश्राम लिएको जस्तो देखिएको छ ।

तर, मैले राजनीति छोडेको छैन । जुन घरमा म बिहे भएर आएँ, ससुरा गणेशमान सिंह र सासू मंगलादेवी सिंह राष्ट्रिय राजनीतिमा हुनुहुन्थ्यो । घरमा धेरैजना राजनीतिमा लागेको हुनाले केही समय मैले घर सम्हालेर बसेँ । तर, पनि मैले घरमा कहिल्यै भात पकाएर बसिनँ । सामाजिक अभियन्ताका रुपमा आफूलाई प्रस्तुत गरिरहेँ । मेरो सासूले सम्पूर्ण जीवन महिला हक अधिकारका लागि बिताउनुभयो । साना छोराछोरी छाडेर जेल जानुभयो । म त्यो परिवारबाट हुनुमा आफूलाई गर्व गर्छु । केही समय जसरी मैले घर चलाएँ, त्यसरी नै अब काठमाडौँ महानगर चलाउँछु ।

काठमाडौँलाई हामी राजधानी भन्छौँ । तर, अन्धकार छ । असुरक्षित छ । मैले जितेँ भने ‘काठमाडौँमा महिला मेयर आएकाले हामी ढुक्क छौँ’ भन्ने खालको आभास दिलाउनेछु । यहाँका महिलाका लागि सबै ठाउँमा बत्तीको व्यवस्था गर्छु । सीसीटीभी जडान गर्छु । ‘कोसेली घर’को निर्माण गरेर यहाँको स्थानीय सीपलाई महानगरमा मात्रै नभई अन्तर्राष्टिय बजारमै प्रवद्र्धन गर्नेछौँ । यसका लागि हामी सबै महिलाहरूको आवाज एक हुन जरुरी छ ।

‘हामी भावना होइन, सेवाको होम डेलिभरी गर्छौँ’
समीक्षा बास्कोटा, मेयर उम्मेदवार
विवेकशील साझा, काठमाडौँ महानगरपालिका

मलाई राजधानीको फोहोरसँगै राजनीतिको फोहोर सफा गर्नुछ । विवेकशील पार्टीले मेयर र उपमेयर दुवै पदमा महिलालाई उम्मेदवार बनाएको छ । यसले राजनीतिक वृत्तमा तरंग ल्याइदिएको छ । महिलाको ३३ प्रतिशत सहभागिताको आन्दोलनलाई गठबन्धनले नराम्रो प्रभाव पारेको छ । ३३ प्रतिशतलाई ५० भन्दा माथि बनाउने काम हामी गर्छौँ । मेयरको उम्मेदवार भइसकेपछि जवाफदेही हुनुपर्छ । आजको आवश्यकता के हो ? बुझ्नुपर्छ ।

म महिला मात्र होइन, युवा पनि हुँ । तर, म न महिलाको न युवाको कार्ड खेल्न चाहन्छु । हामीले क्षमता र उत्कृष्टताको आधारमा मत परिवर्तन गर्नुपर्छ । अहिले काठमाडौँ महानगरपालिकामा दुईजना महिला मात्रै मेयर पदका लागि दाबेदार छन् । त्यो को–को हो भन्नै पर्दैन । किनभने, पुरुष उम्मेदवारहरू जसरी असंवेदनशील हिसाबले वक्तव्य दिइरहनुभएको छ, मलाई लाग्दैन यहाँका तीन सयभन्दा बढी महिला संगठनको भोट हाल्ने बेला हात त्यतातिर जान्छ ।

महिलालाई लिएर काठमाडौँ सुरक्षित र संवेदनशील छैन । हामीले काठमाडौँलाई महिलामाथि संवेदनशील र सुरक्षित सहर बनाउनु छ । काठमाडौँमा सबैभन्दा बढी यौन हिंसा सार्वजनिक यातायातभित्र हुन्छ । म मेयरको कुर्सीमा बसेर सबैभन्दा पहिला सुलभ र सुरक्षित सार्वजनिक यातायात बनाउँछु । जुन अपाङ्गतामैत्री, वृद्धवृद्धामैत्री, बालबालिकामैत्री र महिलामैत्री हुनेछ । त्यस्तै, यहाँ कामकाजी महिलालाई अप्ठ्यारो छ । तर, के–के अप्ठ्यारो छ, खोजी गर्न बाँकी छ ।

काठमाडौँमा धेरै समस्या छ । पर्याप्त सार्वजनिक शौचालय छैनन् । हामी मन्दिरमा गएर ढोग्छौँ तर, ढल बागमतीमा बगाउँछौँ । नदी संरक्षण गर्ने अग्रभागमा तपाईंहरूले मलाई देख्नु हुनेछ । अब महानगरको मेयर परिवर्तन गर्ने बेला भएको छ । महानगरलाई ठूला विकासका कुरा गर्ने होइन, भइरहेका संरचना जोगाउने जनप्रतिनिधि चाहिएको छ । म कुर्सीमा पुगेपछि तपाईंले मलाई चिन्नुपर्दैन । ठूला दलका नेतालाई चिन्नु पर्दैन । तपाईंले सिस्टमलाई चिने पुग्छ । घर बसीबसी स्मार्टफोनमा मलाई फलानो सिफारिस चाहियो भनेर सेवा अर्डर गर्न सक्नुहुन्छ । हामी भावना होइन सर्भिसको ओम डेलिभरी गर्नेछौँ ।

‘महिलाको क्षेत्रमा काम गर्न प्रतिबद्ध छु’
सुनिता डंगोल, उपमेयर उम्मेदवार
एमाले, काठमाडौँ महानगरपालिका

महिलाहरूको क्षेत्रमा काम गर्नुपर्छ भन्नेमा म प्रतिबद्ध छु । हामी आफूभन्दा अगजको माया र मार्ग निर्देशनमा अगाडि बढ्नेछौँ । युवापुस्ताको एनर्जी र एक्स्पर्टिजलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्छौँ । तपाईंहरूले दिनुभएको मत खेर जान दिनेछैनौँ । भोट सूर्यलाई गर्नुहोस् । भोट सुनितालाई गर्नुहोस् । भोट महिलालाई गर्नुहोस् । भोट नयाँ नेतृत्वलाई गर्नुहोस् । भोट परिवर्तनका लागि गर्नुहोस् ।

‘महिलाको हकमा विशेष तीन कुरालाई जोड दिनेछु’
रजनी थापा, मेयर उम्मेदवार
नेपाली कांग्रेस, टोखा नगरपालिका

योभन्दा अगाडिको निर्वाचनमा पनि मैले उपमेयर पदका लागि उम्मेदवारी दिएको थिएँ । म नर्सिङको विद्यार्थी हुँ । नर्सिङ पढेपछि पहिलो दिन ड्युटीमा जाँदा १० वर्षकी बालिकालाई आफ्नै बुवाले बलात्कार गरेको केस मैले देखेको थिएँ । अस्पतालमा छोरी जन्मिदा बच्चालाई छाडेर परिवार नै बेपत्ता भएका घटना पनि मैले फेस गरेको छु । यस्ता धेरै घटनाले म टुटेको छु । अहिले त्यसबाट उठेर राजनीतिक यौद्धा भएर आएको छु । महिलाहरू एकै ठाउँमा उभिएर एउटै स्वरमा बोल्यौँ भने हरेक ओहोदामा लड्न सम्भव छ ।

मैले महिलाको हकमा विशेष तीन कुरालाई जोड दिनेछु । पहिलो ‘वुमन इम्पावरमेन्ट सेल’, दोस्रो, ‘वुमन इन्करेजमेन्ट सेल’ र तेस्रो, ‘वुमन फाइट ब्याक सेल’ । ‘वुमन इम्पावरमेन्ट सेल’अन्तर्गत महिला दिदीबहिनीहरूलाई उद्यमशील बनाएर उहाँहरूले बनाएको सामग्री नगरपालिकाको हाटबजारमा बेचेर आम्दानी हुनेछ । ‘वुमन इन्करेजमेन्ट सेल’अन्तर्गत कतिपय महिलाहरूलाई आफूलाई परेको समस्यामा कहाँ गएर बोल्ने भन्ने थाहा छैन । उहाँहरूलाई प्रोत्साहन गरिनेछ र ‘वुमन फाइट ब्याक सेल’अन्तर्गत महिलालाई कुनै प्रकारको हिंसा परे निःशुल्क कानुनी परामर्शको व्यवस्था हुनेछ ।

‘सीसीटीभीले महिलाको सुरक्षा गर्दैन’
विनिता मगैयाँ, उपमेयर उम्मेदवार
राप्रपा, काठमाडौं महानगरपालिका

म राजनीतिक जगत्मा नयाँ अनुहार हुँ । धेरैले मलाई राजनीतिक पृष्ठभूमिको हो कि होइन भनेर सोध्नुहुन्छ । म कन्जरभेसन आर्किटेक्ट हुँ । भर्खरै काष्ठमण्डप पुनः निर्माणमा काम गरेको छु । काष्ठमन्डप निर्माणसँगै काठमाडौँ निर्माणका लागि पनि काम सकिन्छ भनेर राजनीतिमा आएको हुँ । हामीले गर्नुपर्ने धेरै कुराहरू घरैबाट सुरु गर्नुपर्ने देखिन्छ । संस्कृति, खेलकुद र उद्यममा महिलालाई जोड्नन सकियो भने उनीहरू आर्थिक रुपमा सक्षम हुन्छन् । घर कसरी चलाउने महिलालाई थाहा छ । यो थाहा हुनु भनेको बजार भाउ थाहा हुनु हो । अर्थशास्त्र थाहा हुनु हो ।

काठमाडौँ महानगरमा कार्यस्थलमा महिलामाथि हुने ज्याजति छँदै छ । दुव्र्यवहार, असमानता, असुरक्षा आदिका कुरा पनि आउँछन् । म आफैँ पनि कामकाजी भएकाले घर फर्किदा ढिला हुन्छ । घर जाने बेला चिन्ता भइरहन्छ । तर, के सीसीटीभीले मात्रै हाम्रो सुरक्षा गर्छ त रु सीसीटीभीले मात्र हुँदैन । सीसीटीभी मान्छे बचाउन आउँदैन । त्यसमा रेकर्ड भएका कुराले न्यायका लागि ढोका ढकढकाउन काम लाग्ला । तर, त्यसले सुरक्षा दिँदैन । ललितपुर नगर बरु सुरक्षित छ । त्यहाँ नगरप्रहरीलाई चुस्तदुरुस्त हिसाबले खटाइएको छ । काठमाडौँका नगरप्रहरीको दिन स्कुटर र मोटसाइकल समात्दै बितिरहेको छ ।

‘महानगरमा समस्या छ, समाधान गर्नुपर्छ’
कृति तुलाधार, उपमेयर उम्मेदवार
विवेकशील साझा, काठमाडौँ महानगरपालिका

महानगरमा समस्या छ । त्यसको समाधानको गर्नुपर्छ । समस्या छ भनेर कुरा मात्रै गरेर समाधान हुँदैन । समस्यालाई खोज्नुपर्छ । निराकरण गर्नुपर्छ । महिला, बालबालिकाको क्षेत्रमा काठमाडौँ महानगर समस्या नै समस्याले भरिएको छ । यसलाई माथि उठाउने नेतृत्व चहिएको छ । हाम्रो पार्टी विधि, इमानदारी, उत्कृष्टतामा विश्वास गर्छ । काठमाडौँ महानगरको उपमेयरको पदमा पुगेपछि महिला सुरक्षा, सरसफाइ जस्ता धेरै विषयमा काम गर्नुपर्ने दखिन्छ । यहाँ नेपाललाई सिंगापुर बनाउने कुरा हुन्छ । सिंगापुरमा अग्ला भवन होलान् । तर, नेपालको जस्तो धार्मिक क्षेत्र र सम्पदाहरू छैनन् । हामी भवनले होइन, सम्पदालाई सुरक्षित गरेर धनी हुनुछ । हामी तडकभडक चाहदैनौँ । विकासको नाममा कंक्रिटको जंगल चाहदैनौँ ।

‘महिला शक्तिमा आउनुपर्छ’
स्वर्णिमा शाक्य, उपमेयर उम्मेदवार
राप्रपा, ललितपुर महानगरपालिका

अहिले पनि महिला हिंसाका धेरै केसहरू यत्तिकै थाती छन् । त्यस्ता केसहरू महिला शक्तिमा नआएसम्म समाधान हुँदैन । महिलाको पीडा महिलाले मात्रै बुझ्छन् । आर्किटेक्चरको पढाइ सकेर मैले आफ्नै कम्पनीमा काम गरेको पाँच वर्ष भयो । मैले पाएको अधिकारको जतिसक्दो सदुपयोग गर्नेछु । उपमेयरको दायित्वमा मेलमिलाप र न्यायसम्बन्धी कुराहरू पर्छ । त्यसमा निष्पक्ष र सन्तुलित भएर काम गर्न जरुरी छ । महिलाहरूलाई सशक्तीकरण गर्नका लागि उनीहरूलाई कतै पनि हस्तक्षेप गर्नुहुँदैन । हस्तक्षेप नभएपछि हामीलाई अगाडि बढ्न सजिलो हुन्छ ।

(महिला सञ्जाल ‘संकल्प’ र महिला गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार भएको स्थानीय तहको निर्वाचनमा ‘महिला जिताऔं अभियान’ कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश ।)

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com