२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

सुरू भयो सुनको सिजन, दैनिक २५ किलोग्रामसम्म बिक्री

सुरू भयो सुनको सिजन, दैनिक २५ किलोग्रामसम्म बिक्री

जनसेवा न्युज डटकम संवाददाता

चाडबाड नजिकिएसँगै सुन बिक्रीको सिजन सुरू भएको छ । जेठ, असार र साउनमा दैनिक बिक्री न्यून रहेको सुनको कारोबार भदौ लागेसँगै उकालो लाग्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाडबाड नजिकिएसँगै भदौदेखि सुनको माग बढ्न थालेको छ ।

महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भदौ महिना लागेसँगै सुनको माग बढ्न थालेको बताए । उनले अहिले दैनिक २५ किलोग्रामसम्म सुनको बिक्री हुन थालेको रातोपाटीलाई जानकारी दिए । ‘यसअघि, दैनिक १० किलोग्राम हाराहारी बिक्री भइरहेको थियो,’ शाक्यले भने, ‘भदौ लागेसँगै चाडबाड पनि नजिकिन थालेको छ । यही कारण सुनको माग बढ्न थालेको छ ।’

सुन व्यवसायीहरू हरितालिका तीज सुनको कारोबार सिजन सुरू हुने समय मान्छन् । खासगरी, वैशाख महिनासम्म बिहेको समय भएकाले उक्त महिनासम्म दैनिक २०–२५ किलोग्रामसम्म सुन बिक्री हुन्छ । जसले बजारमा एक प्रकारको चहलपहल गराइरहन्छ । जेठ, असार र साउनमा विवाह नपर्ने भएकाले कारोबार ठप्प प्रायः हुन्छ ।

तर, भदौ लागेसँगै महिलाहरूले मनाउने चाड तीज सुरू हुन्छ । तीजमा महिलाहरू गरगहनामा सजिने भएकाले एकाएक बजारमा माग सृजना हुन्छ । अध्यक्ष शाक्यका अनुसार जेठ, असार र साउनमा देशभर मुस्किलले दैनिक ८–१० किलोग्रामसम्म सुन बिक्री भइरहेको थियो । जुन, तीज नजिकिएसँगै बढेर २५ किलोग्रामसम्म पुगेको उनको भनाइ छ ।

उनका अनुसार तीज लागेसँगै सुनको सिजन सुरू भएको मानिन्छ । तीज लगत्तै दशैं र तिहार सुरू हुन्छ । यस पर्वमा पनि सुनको उल्लेख्य कारोबार हुन्छ । दशैंको घटस्थापनाका दिन र तिहारको धनतेरसको दिन सबैभन्दा धेरै सुन कारोबार हुने गरेको छ । यसपछि, मंसिर, पुस, माग, फागुन, चैतसम्म विवाहको सिजन भएकाले सुनको कारोबार उल्लेख्य हुने गर्छ ।

दैनिक १० किलो आपूर्ति, २५ किलो माग

नेपाल सरकारले यतिबेला विदेशी विनिमयको सञ्चिति जोगाउने लक्ष्यसहित दैनिक १० किलोग्राम सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । यसअघि, दैनिक २० किलोग्राम सुन ल्याउन पाइने व्यवस्था हटाएर दैनिक कोटा १० किलोग्राममा झारेको हो । यससँगै, बजारमा आवश्यकताभन्दा कम सुन आपूर्ति भइरहेको व्यवसायीहरूको भनाइ छ ।

‘सरकारले दैनिक १० किलोग्रामसम्म सुन ल्याउन दिएको छ । तर, बजारको माग नै २५ किलोसम्म छ,’ अध्यक्ष शाक्यले भने । उनका अनुसार बजारबाट फर्किने सुनसहित गरेर आएको माग भएकाले बजारले धानिरहेको छ । ‘सुन बनाउन आउने सेवाग्राहीले आफै सुन लिएर आउँछन् । सोही सुनसहितको माग जोड्दा दैनिक २५ किलो हुन आउने हो’ उनले भने, ‘यस्तै, उपभोक्ताले बेच्ने सुनको समेत प्रयोग गरेर बजारको माग धानिरहेको छ ।’
कति छन् सुन बजारमा आश्रित व्यवसायी ?

सुनचाँदी व्ययवसायी महासंघका अनुसार यतिबेला देशभर २५ हजार घरपरिवार सुन व्यवसायमा लागेका छन् । यसमध्ये, २० हजार व्यवसायी महासंघमा आबद्ध भएको र बाँकी आबद्ध हुने क्रममा रहेको अध्यक्ष शाक्यले बताए ।
यस्तै, ती व्यवसायीले थप २ लाख जनालाई रोजागरी दिएका छन् । यसको आधारमा नेपालको १५ लाख जनसंख्या सुनचाँदी व्यवसायमा आश्रित रहेको महासंघको दाबी छ । तर, यस क्षेत्रमा रोजगारीका रूपमा आबद्ध कालिगडमा भारतीय र बंगलादेशीको बाहुल्यता बढी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com