२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

सुन तस्करी गरेको ‘रेडी ट्रेड’ ले जेठयता भित्र्याएको थियो झन्डै ११ सय किलो ब्रेक-सु

यसपालि सुन तस्करी गरेको रेडी ट्रेड प्रालिले दुई महिनाभन्दा कम समयमा झन्डै ११ सय किलो ब्रेक-सु भित्र्याएको पाइएको छ।

रेडी ट्रेड कम्पनीले १५४ किलो ब्रेक-सु (मोटरसाइकल/स्कुटरको पाटपुर्जा) मा राखेर भित्र्याएको सुन यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थियो। यसमा एक सय किलोभन्दा धेरै सुन भएको अनुमान छ।

यो कम्पनीले यति मात्र होइन, पटकपटक गरी एक हजार ८७ किलो ब्रेक-सु भित्र्याएको पाइएको छ।

सेतोपाटीलाई प्राप्त तथ्यांकअनुसार रेडी ट्रेडले जेठ १४ गतेदेखि साउन ८ गतेसम्म १६ पटक ब्रेक-सु भित्र्याएको छ।

कम्तीमा एक दिनदेखि बढीमा पाँच दिनको अन्तरालमा ब्रेक-सु ल्याएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अभिलेखमा उल्लेख छ।

कम्पनीले १६ पटकमा एक हजार ८७ किलो ब्रेक-सु भित्र्याएको हो।

हेर्नुहोस् रेडी ट्रेडले भित्र्याएको ब्रेक-सुको भन्सार अभिलेख

मिति तौल
जेठ १४ ४० केजी
जेठ १७ ३१ केजी
जेठ २३ ६० केजी
जेठ २४ ३९ केजी
जेठ २९ ३८ केजी
जेठ ३१ ७८ केजी
असार ३ ३८ केजी
असार ८ ५८ केजी
असार ११ १९ केजी
असार १३ ७८ केजी
असार १८ ११४ केजी
असार २१ ७६ केजी
असार २४ ११४ केजी
असार २७ ११६ केजी
साउन २ १५४ केजी
साउन ८ ३४ केजी
जम्मा १६ पटक जम्मा १०८७ केजी

रेडी ट्रेडले विमानस्थल भन्सारमा हालसम्म भित्र्याएका सामानको विवरण हेर्दा यो कम्पनी ब्रेक-सु ल्याउनकै लागि मात्र खडा गरिएको देखिन्छ।

किनभने, २०७९ चैत १९ गते कम्पनी रजिस्ट्रारमा दर्ता भएको कम्पनीले सोही वर्ष चैत २६ मा अन्तर्राष्ट्रिय व्यापार गर्न वाणिज्य विभागबाट इजाजत लिएको हो। यसपछि अन्य प्रक्रिया पूरा गरेर २०८० जेठ ३ गते मात्र यो कम्पनीले पहिलोपटक सामान आयात गरेको थियो।

भन्सार अभिलेखअनुसार कम्पनीले सुरूमा, जेठ ३, ७ र १० गते दाह्री काट्ने मेसिन भित्र्याएको छ। त्यसपछि जेठ १४ गते चौथोपटक भने ब्रेक-सु भित्र्याएको छ। यसपछि साउन ८ गतेसम्मै लगातार ठूलो परिमाणमा ब्रेक-सु ल्याएको देखिन्छ। कम्पनीले कम्तीमा १९ किलोदेखि बढीमा १५४ किलो (साउन २ गते बरामद भएको) ब्रेक-सु भित्र्याएको छ। सय किलोभन्दा बढी नै चारपटक ल्याएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा काम गरिसकेका एक पूर्वकर्मचारीले यति धेरै सामान बारम्बार प्रयास नगरी भन्सार छलेर भित्रिन नसक्ने बताए।

‘यो कार्यालयका एक/दुई जना व्यक्तिसँग सेटिङ मिलाएर हुन सक्ने विषय होइन,’ उनले भने, ‘कि त जहाँ जसले जाँच गरे पनि फरक नपर्ने गरी सबै कुरा एकदमै राम्ररी मिलाएको हुनुपर्‍यो कि भने भित्र्याउने परीक्षण गर्दा पटकपटक पास भएको हुनुपर्‍यो।’

कुनै पनि नयाँ कम्पनी खडा गरेर आयात-निर्यातको काममा सहभागी हुन सामान्यतया ६ महिनादेखि एक वर्ष समय लाग्ने व्यापारीहरू बताउँछन्। तर रेडी ट्रेडले कम्पनी खडा गरेको दुई महिनाभित्रै सामान भित्र्याएको छ। त्यसैले उसले अवैध सुन भित्र्याउनकै लागि कम्पनी खडा गरेको आशंकामा बल पुगेको उनीहरूले बताए।

बुढानीलकण्ठ नगरपालिकामा कार्यालय रहेको भनी रेडी ट्रेड प्राइभेट कम्पनी लिमिटेडका नाममा दर्ता भएको यो कम्पनीको कुल पुँजी २५ लाख रूपैयाँ देखाइएको छ। कम्पनीका सञ्चालकमा दिलीप भुजेलको नाम छ। तर उनी एक सामान्य मजदुर मात्र भएको पाइएको छ।

दिलीपलाई आर्थिक प्रलोभन देखाएर उनको नाममा कम्पनी खडा गरिएको यो घटनाको अनुसन्धानमा संलग्न राजस्व अनुसन्धान विभागका एक अधिकारीले बताए।

‘एउटा सामान्य मजदुरको नाममा कम्पनी खडा गरेर काम गरिएको भन्ने देखिएको छ,’ ती अधिकारीले भने, ‘वास्तविक रूपमा कम्पनीको मुख्य सञ्चालक को हो, अझै खोजी र अनुसन्धान चलिरहेको छ।’

उनका अनुसार दिलीपलाई यो कम्पनीले कस्ता सामान आयात गर्छ भन्ने कुनै जानकारी थिएन। पक्राउ परेपछि दिलीपले ‘मैले केही गरेको होइन, मामाले भनेर नागरिकता दिएको’ भनेका छन्। त्यसपछि उनका मामा रामकुमार भुजेललाई पक्राउ गरिएको थियो।

‘रामकुमार पनि मजदुरी मात्रै गर्दा रहेछन्,’ ती अधिकारीले भने, ‘रामकुमारबाट हर्कराज राईको नाम आयो। यसपछि अनुसन्धान एक/एक कदम अगाडि बढ्दै गएको छ।’

रेडी ट्रेडका नाममा अडिटर पनि नियुक्त गरिएको छ। पाननम्बर उल्लेख नगरिएको अडिटर कम्पनीको नम्बर ‘युपिबिसी एसोसिएटस्’ राखिएको छ। नोटरीको काम भने गंगादेवी श्रेष्ठ, नोटरी नम्बर ३४३४ बाट भएको छ।

सुन भित्र्याउने प्रकरणमा अहिलेसम्म १७ जनालाई विभागले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमध्ये एक जना चिनियाँ र एक जना भारतीय नागरिक समेत छन्।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा थप व्यक्तिहरू अनुसन्धानमा तानिइरहेको बताए।

‘अनुसन्धान सुक्ष्म रूपमा गरेका छौं। कहाँ पुग्छ, क-कसको भूमिका देखिन्छ, छिट्टै थाहा हुनेछ,’ उनले भने।

विमानस्थल भन्सार कार्यालय अधिकारीहरूका अनुसार भन्सारबाट आउने सामानलाई तीन भागमा विभाजन गरिएको हुन्छ। सामानको प्रकृति हरेर ग्रीन (हरियो), यलो (पहेँलो) र रेड (रातो) कोड गरिन्छ। रातोको सूचीमा छ भने सबै सामान हरेक तहले पटकपटक जाँच गर्नुपर्ने भन्ने बुझिन्छ। पहेँलो भए कागजात राम्ररी हेर्ने र हरियो भए आयातकर्ता तथा एजेन्टको भर गर्न सकिने भन्ने बुझिन्छ।

ब्रेक-सु प्रायः रातो सूचीमा पर्ने सामान हो। यो सूचीमा परेको सामान भित्र्याउन एजेन्टले कागजात लिएर मूल्यांकन गर्न आएपछि भन्सार अधिकृतले सामान भएको ठाउँमै गएर हेर्नुपर्ने हुन्छ। आवश्यक परे कागजमा लेखिएको र वास्तविक तौलो ठीक छ कि छैन भनेर जाँच्नुपर्छ। फेरि जाँच गर्दा त्रुटि देखिए भन्सार विभाग रिपोर्टिङ गर्नुपर्छ। यसपालि पनि रातो सूचीमा परेको ब्रेक-सुको जाँचपासमा भने बेवास्ता भएको हुन सक्ने भन्सारका अर्का पूर्वकर्मचारीले बताए।

‘ब्रेक-सु हातले उचालेको मात्रै भए पनि त्रुटि थाहा पाउन सकिन्थ्यो। ब्रेक-सु धेरै हलुका हुन्छ। भित्र सुन राखेको भए गह्रुँगो हुन्छ,’ उनले भने, ‘जाँचमा नै बेवास्ता गरिएको देखिएको छ।’

साउन ३ गते बरामद भएको ब्रेक-सुमा सुन कति छ भन्ने अहिलेसम्म जोखिएको भने छैन। हङकङबाट जहाजमा आएको उक्त सुन ८० देखि १०० किलो हुनसक्ने राजस्व अनुसन्धान विभागको अनुमान छ।

सुन तौलिन विभागले साउन ४ गते नै नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा बुझाएको थियो। ब्रेक-सुसहितका आठ वटा बाकस तौलिए पनि अन्य प्रक्रिया भने अघि बढाइएको छैन।

महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार अहिलेलाई उक्त सुन ‘कस्टडी’ मा मात्रै राखिएको छ।

कागजका बाकस (कार्टन) हटाउने, ब्रेक-सुबाट सुन छुट्ट्याउने र गलाउने काम गर्न भन्सार विभागको पत्र चाहिने उनले बताए। उक्त पत्र आएपछि मात्रै थप प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

‘अहिलेलाई हाम्रो कस्टडीमा छ। भन्सारको पत्र नआइ त्यो सुन छुट्ट्याउने, गलाउने काम सुरू हुँदैन,’ उनले भने।

पत्र आएपछि भन्सारसहितका प्रतिनिधिहरूको रोहबरमा काम अघि बढाउने उनले बताए।

बुधबार साँझ मात्र राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेड कम्पनीको गोदाममा छापा मारेको छ। त्यहाँ पनि त्रिभुवन विमानस्थलबाट बरामद भएका जस्तै पोकाहरू फेला परेको छापा मार्ने टोलीका एक अधिकारीले जानकारी दिए।

‘ब्रेक-सु, डिस्क ब्रेकका सामान सँगै सुन नाप्ने मेसिन, हिटर पनि बरामद गरिएको छ,’ उनले भने, ‘६६ पोका बरामद भएको हो। ती बाकसमा पनि सुन राखिएको आशंका छ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com