२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

मधेस सरकार : स्वास्थ्य उपकरण खरिद गर्छ, प्रयोग गर्दैन

जनकपुरधाम । प्रादेशिक अस्पतालसहित मधेस प्रदेशका आधा दर्जनभन्दा बढी अस्पतालमा करिब एक अर्ब मूल्य बराबरको उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पताल र कोभिड विशिष्कृत अस्पतालसहित प्रदेशका जिल्लास्थित अस्पतालमा संघीय र प्रदेश सरकारद्वारा खरिद गरिएका स्वास्थ्य उपकरणहरु प्रयोगविहीन बनेका हुन् ।

प्रादेशिक अस्पतालसहित पर्साका नारायणी अस्पताल, रौतहटको गौरस्थित जिल्ला अस्पताल, महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पताल, सप्तरीको भारदहस्थित गजेन्द्रनारायण सिंह अस्पताल, सिरहाको लहान र सिरहा अस्पतालमा गरी करीब एक अर्बभन्दा बढीको उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन् ।

प्रतिष्ठान अन्तर्गतका प्रादेशिक अस्पताल जनकपुरधाममै एक दर्जनको हाराहारीमा ६० करोडभन्दा बढीको मेसिन प्रयोगविहीन बनेका हुन् । प्रादेशिक अस्पतालमा एमआरआई मेसिन, डीआर एक्सरे मेसिन, क्याथल्याब, ओपीजी, ईएमजी, डेक्सटा स्कान, अर्थोसिटी र मोनोग्राम लगायतका स्वास्थ्य उपकरण प्रयोगमा छैनन्् । यस्तै प्रतिष्ठान अन्तर्गतकै कोभिड विशिष्टिकृत अस्पतालमा १८ बेड आईसीयू, आक्सिजन प्लानलगायतका उपकरण पहिल चरणकै कोभिडकालदेखि प्रयोगविहीन अवस्थामा रहेका छन् ।

अस्पताल स्रोतका अनुसार प्रादेशिक अस्पतालमा रहेका एमआरआई मेसिन १५ करोड ६१ लाख ७१ हजार, डीआर एक्सरे मेसिन १ करोड २८ लाख ३७ हजार, ४ करोड ८२ लाखको क्याथल्याब मेसिन, दुई करोडभन्दा बढीको ओपीजी मेसिन, ३ करोड बराबरको डेक्सटा स्कान मेसिन, ५ करोड मूल्य बराबरको अर्थोसिटी स्कान मेसिन र एक करोड ५ लाख मूल्यको मोनोग्रामसहितका स्वास्थ्य उपकरण सञ्चालन नभई थन्किएका छन् । यस्तै प्रतिष्ठान अन्तर्गतकै कोभिड अस्पतालमा १८ करोडभन्दा मूल्यको आईसीयू बेड र १० करोड मूल्य बराबरको आक्सिन प्लान्ट बेवारिसे अवस्थामा थन्किएका छन् ।

प्रतिष्ठानका अधिकारीहरु केही मेसिन चालु हुने प्रक्रियामा रहेको भन्दै केही जनशक्ति अभावमा रहेको बताउँछन् । प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद यादवले भने प्रयोगविहीन रहेको भनिएका उपकरण मध्ये एमआरई गत वर्षमै खरिद गरिएपनि प्रतिष्ठानसम्म आइपुगेको छ । एमआरआई राख्न विशेष प्रकार कोठाको आवश्यकता भएको हुनाले निर्माण चरणमा रहेको छ । डिआर एक्सरे मेसिन र मोड्युलर मेसिन पछिल्लो साता सञ्चालनमा आएपनि जनशक्ति अभावमा कहिले आवश्यकताको आधारमा सञ्चालन भइरहेको उनले बताए ।

अन्य उपकरण ओपीजी, डेक्सटा, ईएमजी, अर्थोसिटी र क्याथल्याबका मेसिन जनशक्ति अभावमा सञ्चालनमा आउन सकेको छैन भने कोभिड अस्पतालमा जडान गर्न भनिएको आक्सिजन प्लान्टको मेसिन कामै नलाग्ने अवस्थाको रहेको छ भने आईसीयू बेड आवश्यकताको आधारमा केही काममा ल्याईपनि अधिकांश संचालनविहीन अवस्थामा रहेको छ ।

इकागजसँग कुरा गर्दै उनले भने–‘आवश्यकता के हो, अस्पतालको जनशक्ति क्षमता कति हो लगायतका कुरा यकिन नै नगरी विगतमा र अहिले पनि स्वास्थ्य उपकरण खरिद गर्नमा सरकार जुटेको छ ।’ डा. यादवले जनशक्ति अभावमा अस्पतालमा रहेका उपकरणको अवस्था बेहाल रहेको बताए । ‘प्रतिष्ठानले सम्बन्धित उपकरणका जनशक्ति थप्न भर्ना विज्ञापन निकाल्न प्रयास गर्दा पनि प्रदेश सरकारबाट रोकिदै आएको छ ।’ उनले भने ।

‘यी भन्दा बढी मेसिन पनि हुन सक्छ । कुन उपकरण कहाँ छ, थाहा छैन, खोज्दै जाँदा भेटिन्छ । कोभिडको बेला नियन्त्रणभन्दा पनि उपकरण खरिद गर्नमै सरकारले रकम खर्चेका छन्,’ उनले भने, ‘आफ्नो प्रयासमा दक्ष जनशक्ति नभएपनि मोड्यूलर र एक्सरे मेसिन सञ्चालनमा ल्याएका छौं । तर स्थायी व्यवस्था नभई टम्परोरी मात्र हो । स्थायी व्यवस्थापनका लागि विज्ञापन गरेर सम्बन्धित कर्मचारीलाई भर्ना गर्नुपर्छ ।’

मधेश सरकारकै जनस्वास्थ्य प्रयोगशालाले आर्थिक वर्ष २०७८–०७९ मा करिब ९ करोड रुपैयाँको लागतमा खरीद गरेको ब्लड बैंक जनशक्ति आभावमा प्रयोगविहीन छन । जनकपुरको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रले प्रदान गरेको साढे ३ विघा जग्गामा गत वर्ष नै ब्लड बैंक जडान गरियो । तर जनशक्ति व्यवस्थापन नहुँदा उपयोग हुन नसकेको प्रादेशिक प्रयोगशालाका स्टोरकिपर कर्मशील प्रसाद गोपले बताएका छन् ।

प्रदेश सरकारद्वारा कोभिडको बेलामा र कोभिड यता खरिद गरिएका स्वास्थ्य उपकरणहरु आवश्यकता नभएपनि कमीसनकै लागि सम्बन्धित निकायले खरिद गरेको आरोप लाग्दै आएको छ । प्रतिष्ठान अन्तर्गत प्रादेशिकसहितका जिल्लाका अस्पतालका लागि खरिद गरेका अधिकांश उपकरण तत्कालिन सामाजिक विकास मन्त्री नवलकिशोरको बेलामा स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख र हालका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले खरिद गरेका हुन्।

साहले सामाजिक विकास मन्त्रालयको नेतृत्व सम्हालेको बेला डा. यादव स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य निर्देशनालयको प्रमुखको रुपमा लामो समय काम गरेका छन् । सचिव यादवले कोभिड कालमा आवश्यकता अनुसार नै स्वास्थ्य उपकरण खरिद गरिएको दाबी गरेका छन् ।

उनी भन्छन्–‘जनशक्ति त जतिबेला पनि व्यवस्थापन गर्न सकिन्छ । तर उपकरण खरिदमा बजेट नहुँदा वर्षौं लाग्न सक्छ, अहिले प्रदेश सरकारको हस्पिटलमा उपकरणको अभाव छैन । विस्तारै जडान सञ्चालन भएमा स्वास्थ्य उपचार सेवा प्रभावकारी हुनेछ ।’

यी बाहेक पर्साको नारायणी अस्पतालसहित रौतहटको गौर, सर्लाहीको मलंगवा, सिरहाको लहान, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा समेत कोभिड ​ यता खरिद गरिएका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन् । यी अस्पतालहरुमा जनशक्ति आभावमा केही उपकरण कन्ट्राक्ट आधारमा संचालन गरिदैं आएको बताइएको छ ।

नारायणी अस्पतालमा ३० करोड ५५ लाख ८८ हजार बराबरको एमआरआई स्कान मेसिन लगायतका उपकरण, ४ करोडभन्दा बढीको क्याथल्याब, टीआरआरटी, ब्रुमस्कोपी जनशक्ति अभावमा प्रयोगविहीन छन् । नारायणी अस्पतालका मेसु डा. उदयनारायण सिंहले भने–‘संघीय सरकारबाट प्राप्त एमआर स्कान मेसिन बिग्रेपछि विभागको पत्राचार अनुसार कोशी अस्पतालमा पठाइको हो । क्याथल्याब, टीआरआरटी पूर्वाधार र जनशक्ति अभावमा प्रयोगविहीन छन् भने ब्रुमस्कोपी संचालनका इन्सटलको काम भइसकेको चाँडै नै सञ्चालनमा आउनेछ ।’

यस्तै भारदह, लहानसहितका अस्पतालमा २ करोड ६६ लाख भन्दा बढी मूल्यको हेमोडाइलासिस, एक करोडभन्दा बढीको हेमाटोलोजी, एनालाइजर, ल्याप्रोस्कोपी सर्जरी र आइसीयू बेड पनि विभिन्न अस्पतालमा प्रयोग विहिन अवस्थामा छन् भने जिल्ला अस्पताल सिरहामा रेडियोलोजिस्ट अभावमा यूएसजी मेसिन सञ्चालनमा छैनन् । गौर अस्पतालमा ब्लड बैंक उपकरण प्रयोगविहीन छन् । गौर अस्पतालका मेसु राजेश सिंहले भने, ‘स्पालर्य कम्पनीका व्यक्ति नआएकाले इन्स्टल नभई सञ्चालनमा आउन सकेको छैन ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com