२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

पप्पुका मालिकको एमाले प्रवेश

५ मंसिर, काठमाडौं । दर्शकदीर्घामा तीनथरि घेरा तोकिएका थिए– पुरुष, महिला र पत्रकार । मंगलबार एमाले अध्यक्ष केपी ओली आफैं पर्साको पोखरिया पुगेका थिए । विभिन्न दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रम भनिए पनि विवादास्पद पप्पु कन्स्ट्रक्सनका कुनै बेलाका सञ्चालक हरिनारायण रौनियारलाई एमाले भित्र्याउनु थियो ।

मंगलबार दिउँसो त्यो प्रयास सफल भयो । एमाले मधेश इन्चार्ज रहेका पार्टी सचिव योगेश भट्टराईले पछिल्ला हप्ताहरुमा चलाएका ठूला अभियानमध्ये पप्पुका मालिकसहित कांग्रेस, जसपा, लोसपा, सुशासन पार्टी लगायत दलका नेताहरुको एमाले प्रवेश हो ।

ओलीले भट्टराई, रघुवीर महासेठ, सरोज यादव लगायत नेतालाई छेउमा राखेर रौनियारलाई माला लगाइदिए । ओलीलाई हजारौंको भीडमा उपस्थित गराएर पार्टी प्रवेश गर्न पाउँदा उनी पनि दंगै परे ।

ओलीले नामचाहिँ गल्ती बोले, ‘हरिनारायण रजौरियाजी ।’

मधेशका नामहरुमा अलमल हुने देखेर हुनुपर्छ उनले पार्टीमा छिर्नेहरुको नाम मगाए । फाइलबाट खरर्र नाम पढे । ओलीले भने, ‘हरिनारायणजी विकासवादी मान्छे हो, जनताको सेवक । अब पार्टीमा आएर झन् बढी योगदान दिनुहुनेछ ।’

रौनियारको क्षमता र योगदानलाई कतिपयले चिन्नै बाँकी रहेको ओलीको दाबी थियो ।

रौनियारले ओलीलाई निम्तामा आइदिएकामा धन्यवाद दिँदै फुक्र्याए, ‘मैले ३४ वर्ष कांग्रेसमा रहेर, केही समय जसपामा रहेर गरेको योगदान अध्यक्षज्यूलाई देखाउने रहर थियो । आज पूरा गर्न पाएँ ।’

रौनियारले आफ्नो एमाले प्रवेशसँगै पर्साका जनताले अझै विकास पाउने दाबी गरे । उनले उपेन्द्र यादवबाट मधेशलाई धोका भएको दाबी गर्दै अब त्यहाँका जनतालाई एमालेले नै हेर्ने पनि बताए ।

रौनियारले विकासप्रेमी नेताका छविमा आफूलाई प्रकट गरे पनि उनको विगत त्यति सफा र स्पष्ट भने छैन । विगतमा सत्ता, शक्तिको पहुँच लिएर उनले लिएका ठेक्काहरुमध्ये अधिकांशले खति गरे । अनि भ्रष्टाचार, अपारदर्शिता तथा कमसल निर्माणका कारण रौनियारले चलाएको पप्पु कन्स्ट्रक्सन मधेशमा मात्रै होइन, देशका विभिन्न ठाउँमै बद्नाम छ । विशेष अदालतबाट रौनियारसहित उनको कम्पनी भ्रष्टाचारमा संलग्न रहेको ठहर भइसकेको छ ।

बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल बन्नासाथै भत्किएपछि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ असोज ०७५ मा दायर गरेको भ्रष्टाचार मुद्दामा २५ वैशाख २०७९ मा विशेष अदालतले रौनियारलाई दोषी ठहर गरेको थियो ।

रौनियार र उनका छोरा सुमितमाथि विशेषका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु यमुना भट्टराई तथा शालिग्राम कोइरालाको इजलासले जनही तीन करोड ६२ लाख २९ हजार रुपैयाँ विगो र जरिवाना सजाय सुनाएको थियो ।

२०७४ मा तत्कालीन जनता समाजवादी पार्टीका तर्फबाट पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएपनि उनी यही भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका थिए । कमजोर गुणस्तरको निर्माण, काममा चरम ढिलासुस्ती र जताततै ठेक्का लिएर आयोजनाहरु अलपत्र पार्ने क्रम बढेपछि उनले २०७५ मै कम्पनीबाट आफू अलग भएको घोषणा गरेका थिए ।

तर, राजनीतिक आडमा रौनियारको कम्पनीले क्षमताभन्दा बढीको ठेक्का पाइरह्यो । जसका कारण उनको कम्पनीको काम ढिला मात्रै भएन, गुणस्तरहीन हुने क्रम बढ्दै जाँदा राज्यले अर्बौंको क्षति ब्यहोर्नुपरिरह्यो ।

रौनियारको पप्पु कन्स्ट्रक्सन गत असोजमा मात्रै अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेको छ । विशेष अदालतले काठमाडौंमा टेकु–कालीमाटी जोड्ने विष्णुमती नदीमाथिको पुल गुणस्तरहीन तवरले बनाएर भ्रष्टाचार गरेको ठहर गरेको छ । बनेर पनि अलपत्र भएको यो पुलको भ्रष्टाचार मुद्दामा रौनियारका छोरा सुमितलाई एक करोड १४ लाख ७६ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

रौनियारको पप्पु कन्स्ट्रक्सनलाई सरकारका विभिन्न निकायको सिफारिसमा पटक–पटक कालोसूचीमा राखिएको छ । निर्माणको जिम्मा लिएर अलपत्र पार्ने क्रम बढेपछि विभिन्न निकायले पप्पुलाई कालोसूचीमा सिफारिस गर्ने क्रम अझै रोकिएको छैन ।

हाल पप्पु कन्सक्ट्रसन रोल्पाको शहीदमार्ग सडक योजना, गोरखाको छेपेटार–भालुस्वारा–बारपाक सडक योजना, रौतहटका सडक आयोजनाहरु, ओखलढुंगाका सडक आयोजनाहरुमा ढिलाइ र लापरवाही गर्दा कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगन कार्यालयले जनाएको छ । कार्यालयको हालसम्मको निर्णयअनुसार ३१ मार्च २०२५सम्म पप्पु कन्स्ट्रक्सनले नयाँ ठेक्का लिन पाउने अवस्था छैन ।

तर, विगतमा जथाभावी लिएका ठेक्काहरुको काम सक्न नसकेर पप्पु कस्स्ट्रक्सन अझै कालोसूचीका लागि विभिन्न निकायबाट सिफारिसमा परिरहेको छ । रौतहटको गैंडाटार जाने चाँदी नदीमाथिको पुल निर्माणमा ६ वर्षसम्म अलमल भएपछि पप्पुलाई कालोसूचीका लागि सिफारिस गर्ने तयारी छ ।

रौनियारको कम्पनीलाई सडक विभागका अधिकारीहरु सडक र पुलका ठेक्काहरुको ‘ऐंजेरु’ मान्छन् । विशेषगरी अनुमानित लागतभन्दा धेरै कम मूल्यमा ठेक्का हाल्ने र खरिद सम्झौता गरेपछि मोबिलाइजेसन रकम लिएर बेपत्ता हुने गर्दा रौनियारको कम्पनी सबैभन्दा ‘कामचोर’ ठेकेदारका रुपमा बदनाम छ ।

अधिकारीहरुका अनुसार २०७५ ताका कुनैबेला पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएर बनाउनुपर्ने सबै पुलको लम्बाइ करिब ८ किलोमिटर पुगेको थियो । करिब १० अर्बको ठेक्का कम्पनीको हातमा थियो । जबकी सो कम्पनी त्यति धेरै ठेक्काहरु लिएर काम गर्नसक्ने स्रोत साधनयुक्त थिएन ।

सडक, पुल र भवनको ठेक्काहरु हात पारेपछि तोकिएको समयमा काम नसक्ने मात्रै हैन, सरकारी अधिकारीहरुको निगरानीबीच नै जबर्जस्ती गुणस्तर कायम नगरी निर्माण अघि बढाउने पप्पुको प्रवृत्तिले विकाससम्बद्ध सरकारी निकाय आजित छन् ।

काठमाडौंको तीनकुनेमा बाग्मती नदी र टेकुमाथि पुल बनाउँदै गर्दा सरकारी इन्जिनियरले गुणस्तर कायम नभएको भन्दै रोक्न भन्दा समेत नमानेको घटनाले त्यसलाई पुष्टि गर्छ ।

सरकारी निकायले कारवाहीको निर्णय गर्नासाथ अदालत पुगेर अन्त्रिम आदेश ल्याइहाल्न माहिर मानिएको यो कम्पनीले कालोसूचीमा राख्ने २ वटा सरकारी निर्णयमाथि नै अदालतबाट अन्तरिम आदेश ल्याएको देखिन्छ ।

राजनीतिक पहुँच बलियो भएका रौनियारको कम्पनीविरुद्ध जरिवाना र कालोसूचीको निर्णय गर्न समेत धेरै आयोजना प्रमुखले आँट नगर्ने गरेको खरिद अनुगमन कार्यालयका अधिकारीहरु बताउँछन् ।

नेपालगञ्जको राँझादेखि जमुनाहसम्म साढे १० किलोमिटर सडक बनिसक्दै भत्किएपछि ४ करोडको जरिवाना तिराएकोबाहेक पप्पु कन्स्ट्रक्सनमाथि ठूलो कारवाही भएको उदाहरण छैन । त्यसैले रौनियारको कम्पनी ‘पप्पु’ जिम्मा लिएको काम नगरी बेपत्ता हुने प्रवृत्तिको विम्ब नै बन्न पुगेको छ ।

यति धेरै विवादमा जेलिएका पात्रलाई एमालेले किन पार्टीमा ल्याउन खोज्यो, यसको जवाफ भने प्राप्त छैन । एमालेका पदाधिकारी र नेताहरु नै जवाफ दिनबाट पन्छिन्छन् । ओलीको रौनियारप्रतिको अभिरुचिका सामुन्ने उनीहरु बोल्न धकाएको बुझ्न सकिन्छ ।

दुर्गा प्रसाईंजस्ता विवादास्पद व्यापारीलाई माओवादीबाट नेकपा हुँदै एमालेमा स्वागत गरेका ओली उनैबारे पर्साको पार्टी प्रवेश कार्यक्रममा समेत कडा टिप्पणी गर्दै थिए ।

मंसिर ७ को आसन्न प्रदर्शनबारे समेत बोल्न भ्याएका ओलीलाई अहिले प्रसाई घाँडो भएका छन् । प्रसाईको एमालेबाट बहिर्गमनबाट पार्टी नेतृत्वले शिक्षा भने नलिएको देखिन्छ, जसको दृष्टान्त हो, पप्पुका विवादास्पद मालिकको एमाले प्रवेश ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com