२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

कंके देउराली गाउँपालिका राताम्मे लालीगुराँस

यति बेला विभिन्न क्षेत्रको वनमा ढकमक्क फुलेका लालीगुराँसले वातावरण नै राताम्मे देखिएका छन् । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित कंके देउराली टापुको वन क्षेत्र पनि ढकमक्क फुलेको लालीगुराँसले लोभ्याउँछ । आकर्षक गेट हुँदै रेलिङ सहितका सिँढी चढेर माथि टापुमा पुग्दा निकै अग्लो भ्युटावर भेटिन्छ ।

हालै जिल्लाका झण्डै एक दर्जन सञ्चारकर्मी सहितका प्राकृतिक उपासकहरू त्यहाँ पुगे । त्यहाँ सेल्फी खिच्नेहरूको खचाखच भीड देखिन्थ्यो, पत्रकारहरू पनि लालीगुराँस सँगै सेल्फी खिच्दै रमाउन थाले । सुन्दर मन्दिर, अनेकन संरचना र त्यस वरपर ढकमक्क फुलेको लालीगुराँसले समुद्री सतहदेखि १७९२ किलोमिटर उचाइमा रहेका त्यस टापुलाई थप मनोरम बनाएको छ ।

कंके देउराली गाउँपालिका उपाध्यक्ष सरिता खड्काकाअनुसार कंके देउराली पर्यटन विकासको लागि झण्डै ८ करोड लागतमा गुरुयोजना बनाइएको छ । करिब एक करोडको लागतमा सिँढी निर्माण लगायतका भौतिक संरचना गाउँपालिकाले बनाइसकेको छ । उपाध्यक्ष खड्काका अनुसार चिल्ल्ड्रेन पार्क, खानेपानी, पिकनिक स्पट, जिपल्याण्ड समेत कंके देउराली पर्यटन क्षेत्रमा निर्माण गर्ने लक्ष्य लिईएको छ । गुरुयोजनामा टापुदेखि तल खोल्सामा डुुङ्गा तैरिने विशाल ताल निर्माण गर्ने, माथि शिवजीको मूर्ति र नेपालकै अग्लो त्रिशूल निर्माण गर्ने गरी गुरुयोजना बनाइएको दुई वर्षअघि त्यहाँ पुगेका त्यस क्षेत्रका सांसद तथा पूर्वमन्त्री गोकर्णराज विष्टले जानकारी दिएका थिए ।

चारैतिरको दृश्य अवलोकन गर्न सकिने त्यो टापु क्षेत्र कुनै दिन गाई चराउने चौर थियो तर अहिले आकर्षक गन्तव्यस्थल बनेको छ । जहाँ पानी पिउनसम्म पाइँदैनथ्यो, अहिले त्यसै थलोमा रिसोर्टसमेत सञ्चालन भएको छ । अहिले यहाँ घुम्न आउनेहरूको भीड बढेको कंके देउराली पर्यटन क्षेत्र विकास समितिका उपाध्यक्ष सुनिल थापा बतउँछन् । उनका अनुसार गत एक वर्षदेखि समितिले आकर्षक संरचना निर्माण गरेपछि गुल्मी, प्युठान, अर्घाखाँची सम्मका पर्यटक दैनिक सरदर एक सय जनासम्म घुम्न आउँछन् । मदाने गाउँपालिकाले त्यहाँ पानीको अभाव पूर्ति गर्न लिफ्ट खानेपानी योजनाका लागि यस वर्ष ५० लाख विनियोजन गरेको मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी बताउँछन् ।

अहिले पुर्कोट दह बजारदेखि माथि टापुसम्मै पुग्ने मोटरबाटो गाउँपालिकाले खनेपछि आवागमन सहज बनेको हो । कंके देउराली रिसोर्टका सञ्चालक पुष्कर थापाका अनुसार रिसोर्ट सञ्चालन गरेको करिब १० महिनामा राम्रो व्यापार चलेको छ । लज सहितको रिसोर्ट सञ्चालन गरे राम्ररी चल्न सक्ने आशा पलाएको छ

धार्मिक क्षेत्र बाहिर पिकनिक स्पट छ । त्यहाँ सभाहल समेत निर्माणाधीन अवस्थामा छ । चारैतिर वाल कम्पाउण्ड, त्यस कम्पाउण्डभित्र बस्न कुर्सी, अनेकन वनस्पति रोपणले आकर्षक बनेको कंके देउराली टापुले देश विदेश सम्मका पर्यटक तान्न सालझण्डी–ढोरपाटन सडक सम्पन्न हुने दिन कुरिरहेको छ ।

गायक अनि कलाकार समेत रहेका समितिका उपाध्यक्ष सुनिल थापा भन्छन्,‘ सालझण्डी–ढोरपाटन सडक निर्माण कार्य सम्पन्न भएमा लुम्विनी हुँदै ढोरपाटन पुग्ने धार्मिक पर्यटकहरूका लागि कंके देउराली बिच बाटोको बिसौनी हुनेछ ।’ तर पछिल्लो चरणमा सो सडकको काम कछुवाको गतिमा भइरहेको उपभोक्ताहरूको गुनासो छ । उक्त स्थान प्युठान, अर्घाखाँची र गुल्मीको सिमानामा पर्दछ ।

सदरमुकाम तम्घासबाट करिब ३८ किलोमिटर दुरीमा पर्ने कंके देउराली पुग्न धुर्कोटबाट नजिक परे पनि तम्घास सिमलटारीको सडक पिच भएकाले त्यताबाट जाँदा अलि चाँडै पुगिन्छ । त्यहाँ नयाँ बर्षको अवसरमा भव्य मेला लाग्छ । साउन भदौमा मकैको धार दिने औंसीमा पनि भव्य मेला लाग्ने र आइतबार, मंगलबार लगायत विभिन्न तिथिमा पूजा–आजा गरिने र भाकल चढाउने गरिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com