२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग

प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग

मोरङ – चिया क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरूले ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग गरेका छन् । चियाको प्रवद्र्धन, विकास र विस्तारमा प्राथमिकता दिन उनीहरूले प्रदेश नं १ सरकारलाई सुझावसमेत दिएका हुन् । विदेशी मुद्रा आर्जन गर्ने नगदेवालीका रुपमा रहेको चिया प्रवद्र्धनका लागि सबै निकाय जिम्मेवार हुनुपर्नेमा उनीहरूको जोड थियो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड तथा प्रदेश संवाद समूहद्वारा आज यहाँ आयोजित ‘चिया क्षेत्रका समस्या समाधानका लागि प्रदेशस्तरीय संवाद’ कार्यक्रमका वक्ताले संघीय सरकारसँग समन्वय गरी भारततर्फ  चिया निर्यातको अवरोध हटाउन तत्काल पहल गर्न आग्रह गरेका छन् ।

यसैगरी उनीहरूले प्रदेशमा चियाको गुणस्तरीय परीक्षण गर्ने ल्याब स्थापना र कार्यान्वयनमा ल्याउनेपर्ने, प्रदेशस्तरीय चिया विकास बोर्ड स्थापनाको पहल गर्नुपर्ने, प्रदेश सरकारले चिया अक्सन बजारको व्यवस्था गर्नुपर्ने तथा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकार–निजी चिया क्षेत्रमा कार्यान्वयन गराउन पहल गर्नुपर्नेजस्ता सुझाव दिएका छन् ।

प्रदेश नं १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले चियाको बजारीकरणलाई ध्यानमा राखी कार्य गरेमा किसानका साथै उद्यमी लाभान्वित हुने बताए । उनले बगानका किसानलाई चियाको गुणस्तर कायम राख्न सुझाव दिँदै यस क्षेत्रका समस्या समाधान गर्न सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेस प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले कृषिमा छुट्याएको बजेटको सदुपयोगका सम्बन्धमा अनुगमन गर्नुपर्ने बताए । मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले चियालाई परिस्कृत गरी दक्षिण एसियाको बजार तथा यस क्षेत्रका किसान लाभान्वित हुने धारणा राखे ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराई, निर्देशक डा दीपक खनाल, वाणिज्य, आपूर्तिमन्त्रालय सहसचिव गोविन्दबहादुर कार्की, नेपाल चिया सहकारी संघका अध्यक्ष हर्क तामाङ, चिया उद्यमी सुरेश मित्तल, मजदुर नेता भुपाल सापकोटाले राज्यले चिया खेतीलाई विशेष प्राथमिकतामा राख्नुका साथै  उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा इन्जिनियर सञ्जीव खतिवडाले चियाको गुणस्तर सम्बन्धमा सफ्टवेयर र इन्द्रप्रसाद अधिकारीले प्रदेशमा चियाका समस्या र समाधान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । देशभर एक सय ६० साना ठूला बगान गरी २७ हजार हेक्टर जमिनमा चिया खेती हुँदै आएको छ भने यसमा ७० हजारले रोजगारी प्राप्त गरेका छन् । नेपालले वार्षिक रु चार अर्ब मूल्य बराबरको चिया निर्यात गर्दै आएको छ ।
रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com