२०८२ फाल्गुन २५ - Mon Mar, 2026 -

Janasewa News

क्यान्सरसँग पराजित विवेकसँगै पराजित भयो सिर्जनाको समर्पण पनि

यतिबेला एउटा गीत निकै चर्चामा छ:

‘जाँदा माया हाँस्दै जानू ल,

खुसी सबै सँगाली लानू ल,

यादहरूमा मै बाँचुला

कहानी यो अधुरै साँचुला

किन माया बस्छ आफैँ दुख्नलाई

लाग्छ बेर कति यो घाउ सुक्नलाई…’

हर्क साउदको शब्दमा सुजन चापागाईंले स्वर अनि संगीत भरेको यो गीतका यी शब्दजस्तै भएको छ, यतिबेला बर्दियाकी सिर्जना सुवेदीको जीवन पनि। ३० वर्षको कलिलो उमेरमा ब्रेन क्यान्सरको सिकार भई मृत्युवरण गरेका विवेक पंगेनी जाने बेलामा हाँस्दै गए या रुँदै गए तर श्रीमती सिर्जनालाई सधैं दुख्ने अधुरो कहानी भने सधैंका लागि थमाएर गए।

बर्दियाको सामान्य परिवारमा जन्मिएका विवेक पढाइमा अब्बल थिए। निकै साधारण जीवनशैली अपनाउने उनको जीवनमा सिर्जना आइन्। बेला-बेला नोकझोँक र झगडा भइरहने यो जोडीको पचासौँ पटकसम्म पनि ‘ब्रेकअप’ हुन्थ्यो रे! विवाहपश्चात् रमाउँदै अन्तर्वार्ताहरूमा किस्सा सुनाउँथिन्, सिर्जना।

रमाइला किस्सा मात्र होइन, उनीहरूले रमाइला भिडियोहरू पनि राख्थे, सामाजिक सञ्जालमा। विशेष त टिकटकमा बढी भिडियो हुन्थे। सिर्जना गीत अनुसारको नृत्य गर्थिन् भने विवेक उनको सिको गर्थे। नजानेरै पनि हाँस्दै श्रीमतीको सिको गर्ने विवेकलाई पनि निकै रुचाए दर्शकले। कतिले ‘जोइटिङग्रे’ भनी सामाजिक सञ्जालमा ट्रोल पनि गर्थे, विवेकलाई। विवेकले त्यस्ता नकारात्मक प्रतिक्रिया हेर्थे या हेर्दैनथे उनीहरू नै जानून्। तर, भिडियोहरू भने आउन छाड्दैनथे। त्यसताकाका दिनहरू रमाइला थिए, विवेक र सिर्जनाका।

लामो समयदेखि मौन रही क्यान्सरसँग लडिरहेका विवेकसँगै सिर्जनाको त्याग र समर्पण पनि पराजित भएको छ। कलिलो उमेरमा सिन्दुर मात्र पुछिएन, आफूले सबथोक मानेको आफ्नो जीवन सारथीसँगै उसलाई जीवित राख्न गरेका हर प्रयास पनि अस्ताएका छन्, विवेक जस्तै।

तर, समय सधैं एउटै गतिमा कहाँ चल्छ र? केही समय पहिलेसम्म टिकटकमा ‘बुढो नचाउने दिदी’ उपनाममा भाइरल बनेकी सिर्जनाको दैनिकीसँगै उपनाउँ पनि फेरिने घटना आइलाग्यो उनको जीवनमा। त्यो हो, विवेकलाई लागेको ब्रेन क्यान्सर। भौतिकशास्त्रमा पिएचडी गर्नका लागि अमेरिका गएको तीन महिना बित्न नपाउँदै आमाको निधन भएपछि घर फर्केका विवेकले आमाको शोकसँगै रोगको पनि भारी बोकी पुन: अमेरिका फिर्नुपर्ने अप्रत्याशित घडी आइलाग्यो।

विस्तारै रोगसँगै गल्दै हार्दै गरेका विवेकलाई सिर्जनाले भने कहिल्यै हार्न नदिने जिद् कसिरहिन्। मेडिकल र विज्ञानले जेसुकै भनेपनि प्रेम र हौसलाले विवेकलाई शक्ति दिने हिम्मत राख्दै निरन्तर साथ र हौसला दिइरहिन्, सिर्जनाले। तर, दैवको खेल भनौँ या प्रकृतिको नियम ब्रेन क्यान्सरसँग पराजित भए, विवेक। लामो समयदेखि मौन रही क्यान्सरसँग लडिरहेका विवेकसँगै सिर्जनाको त्याग र समर्पण पनि पराजित भएको छ। कलिलो उमेरमा सिन्दुर मात्र पुछिएन, आफूले सबथोक मानेको आफ्नो जीवन सारथीसँगै उसलाई जीवित राख्न गरेका हर प्रयास पनि अस्ताएका छन्, विवेक जस्तै।

सिर्जनासँगै विवेक बाँचेको हेर्न चाहने दर्शकको पनि सपना अधुरो भएको छ। ‘साँचो प्रेम भनेको यस्तो हुनुपर्छ’ भन्दै सिर्जनाको प्रसंसा गरिरहने दर्शकहरू यतिबेला दुखित् छन्। अझ केही वर्षअघि श्रीमती र यसैवर्ष सडक दुर्घटनामा आफ्ना अर्का छोरासमेत गुमाएका विवेकका बुवा मीनराज पंगेनीको मनमा के बित्यो होला यो कुरा अकल्पनीय छ।

निकै असहज परिस्थितिमा पनि आफ्ना पतिलाई बचाउने दृढताका साथ लागेकी सिर्जनालाई यो घडी पनि थेग्ने सामर्थ्य मिलोस्, कामना।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com