२०८३ बैशाख २१ - Mon May, 2026 -

Janasewa News

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रलाई बेवास्ता गर्न खोजेको भन्दै महावीर पुनको आपत्ति

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं सांसद महावीर पुनले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रलाई बेवास्ता गर्न खोजेको भन्दै कडा आपत्ति जनाएका छन् ।

विज्ञान तथा प्रविधि मन्त्रालयको अस्तित्व नै नामेट पार्न खोजिएको र नवप्रवर्तनलाई उद्योग मन्त्रालयअन्तर्गत मात्र खुम्च्याउन खोजिएको भन्दै पूर्व शिक्षामन्त्री समेत रहेका पुनले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन् ।

सोमबार बिहान फेसबुकमा एक स्टाटस लेख्दै पुनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । ‘यसो सामाजिक सञ्जालतिर हेर्दा त अहिलेको सरकारले विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनसम्बन्धी काम गर्ला जस्तो छाँट त पटक्कै देखिएन,’ उनले लेखेका छन्, ‘बरु नवप्रवर्तनलाई त उद्योग मन्त्रालयतिर हाल्नु पो खोजेजस्तो बुझिन्छ । अनि विज्ञान प्रविधि मन्त्रालयको त बिउ नै निर्मूल पार्ला जस्तो पो बुझिन्छ ।’

नवप्रवर्तन कुनै एउटा मन्त्रालय वा उद्योग क्षेत्रमा मात्र सीमित नहुने पुनको तर्क छ । नवप्रवर्तन उद्योगमा मात्र नभई राजनीति, प्रशासन, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, व्यापार, विज्ञान प्रविधि, जीवन विज्ञान, सङ्गीत र साहित्यलगायत सबै क्षेत्रमा हुने उनले स्मरण गराएका छन् ।

विज्ञान र अनुसन्धानको क्षेत्रलाई प्राथमिकतामा नराखेको र मन्त्रालय नै गाभ्न खोजेको भन्दै उनले सरकारलाई चेतावनीसमेत दिएका छन् । स्टाटसको अन्त्यमा उनले लेखेका छन्, ‘मेरो टाउको फोड्नु नपरोस् है सरकारका साथीहरू ! कुरा बुझ्नुभो ?’

पुनले लामो समयदेखि नेपालमा अनुसन्धान र नवप्रवर्तनका लागि कुल गार्हस्थ्य उत्पादन (जीडिपी) को कम्तीमा एक प्रतिशत बजेट छुट्याउनुपर्ने माग गर्दै आएका छन् । पछिल्लो समय सरकारले मन्त्रालयहरूको पुनर्संरचना गर्ने वा सङ्ख्या घटाउने बहसमा विज्ञान तथा प्रविधि मन्त्रालयलाई अन्यत्रै गाभ्न लागिएको चर्चा चलिरहेका बेला आविष्कार केन्द्रका संस्थापक पुनको यो कडा प्रतिक्रिया बाहिर आएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com