मालपोत अधिकृत र भरतपुर महानगरका अमिन घुससहित अख्तियारको फन्दामा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिका अमिनलाई पाँच लाख घुस लिएको आरोपमा पक्राउ गरेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर २० वडा कार्यालयका अमिन वीरेन्द्रबहादुर कठायतलाई अख्तियारले पक्राउ गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।
सहायक प्रवक्ता भण्डारीका अनुसार कठायतलाई एक लाख ५० हजार नगद र तीन लाख ५० हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो।
अंशबण्डा गरी बाटो कायम गर्न जग्गा कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भन्दै कठायतले सेवाग्राहीसँग पाँच लाख घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो।
सूचनापछि काठमाडौंको टंगालबाट खटिएको टोलीले भरतपुर(४ धर्मचोक लंकुबाट उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको सहायक प्रवक्ता भण्डारीले बताए।
त्यस्तै, मालपोत कार्यालय चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेललाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ।
उनले पनि अंशबण्डा गरी बाटो कायम गरी जग्गा कित्ताकाट गर्दा प्रमाणपत्र बनाइदिएको बापत ५० हजार रुपैयाँ घुस मागेको आरोप छ। उनलाई अख्तियारले ५० हजार घुससहित क्वाटरबाट नियन्त्रणमा लिएको हो।
अख्तियारले उनीहरूविरूद्ध थप अनुसन्धान अघि बढाएको छ।