राप्रपाको महाधिवेशन लम्बियो, महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपांं) को महाधिवेशन एक दिन लम्बिने भएको छ । महाधिवेशन प्रतिनिधिको विवादका कारण निर्वाचन कमिटीले तोकिएको मितिमा चुनाव गराउन नसक्दा महाधिवेशन एक दिन पर सर्ने भएको हो ।
निर्वाचन कमिटीका एक सदस्यले भोलि बिहान साढे ७ बजेदेखि मनोनयन दर्ताको कार्यक्रम तय गरिएको र त्यसपछि दावी विरोध, उम्मेदवारको अन्तिम सूची प्रकाशित लगायतका आवश्यक तयारी गरेर शनिबारमात्रै मतदान कार्यक्रम हुनेगरी निर्णय भएको रातोपाटीलाई बताए ।
उनका अनुसार निर्वाचन समितिले बिहीबार राति ४४७१ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको छ । त्यसमा थप ५ प्रतिशत प्रतिनिधि मनोनयन अध्यक्षत्रयले गर्न बाँकी नै रहेको उनको भनाइ छ ।
निर्वाचन समितिका ती सदस्यका अनुसार राजेन्द्र लिङ्देन पक्षले प्रतिनिधिमा चलखेल भएको आरोप लगाएपछि दुई दिनसम्म मिहिन ढंगले छानबिन गरेर मतदाताको सूची सार्वजनिक गरिएको हो। ती सूचीमा भोलि बिहानसम्म दावी विरोध गर्ने समय दिइएको र त्यसपछि अन्तिम सूची प्रकाशित गरिने समितिको भनाइ छ ।
राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसअघि राप्रपाको महाधिवेशन बुधबारदेखि राजधानीमा सुरु भएको थियो भने नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न गर्ने कार्यतालिका थियो ।