प्रदेश १ मा कांग्रेस अधिवेशन स् मतदान जारी
विराटनगर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश १ समितिका लागि आज प्रदेशको राजधानी विराटनगरमा मतदान जारी छ । प्रदेश समितिको लागि पार्टीको संस्थापन र इतर पक्षले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् ।
संस्थापनबाट झापाका पूर्वपार्टी सभापति उद्धव थापा र इतर पक्षवाट केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्यानलै मैदानमा उत्रिएका छन् । दुवै प्यानलका प्रतिनिधिहरु चुनावी मैदानमा गुटगत रुपमा विभाजन भएका छन् ।
दुवै पक्षले चुनावी मैदानमा आ–आफ्नो प्यानलको लिस्ट बाँड्दै भोट माग्नेहरुको भीड लागेको थियो । घिमिरेलाई पौडेल कोइराला समूहको समर्थन रहेको छ, भने थापालाई देउवा र सिटौलाको समर्थन रहेको छ ।
संस्थापन इतर घिमिरे प्यानलबाट उपसभापतिमा तेह्थुमका गोविन्द ढुंगाना र मोरङबाट विश्वनाथ रिजाल, महामन्त्रीमा सुनसरीका उमेश थापा र संखुवासभाका दिपेन श्रेष्ठको उम्मेदवारी परेको छ ।
त्यस्तै संस्थापन थापा प्यानलबाट उपसभापतिमा मोङबाट रमेशजगं रायमाझी र खोटाङबाट टंक प्रसाद राईले उम्मेदवारी दिएका छन् । त्यसै गरी महामन्त्रीमा ताप्लेजुङका पदम सुन्दर पालुुङ्वा र खोटाङका भुपेन्द्र राईको उम्मेदवारी परेको छ ।
प्रदेश अधिवेशनबाट एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, एक महिला सहित तीन सह महामन्त्री, हरेक जिल्लाबाट महिला १४ र खुल्ला १४ जना सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला १३ खुल्ला सदस्य, खस आर्यबाट महिला ७ र खुल्ला ५ सदस्य चुनिनेछन् ।
त्यसै गरी जनजातीमा महिला ७ र खुल्ला ८, मधेशी महिला १ र खुल्ला १ दलित महिला १ र खुल्ला २ थारु महिला १ र खुल्ला १, मुस्लिम खुल्ला १, अल्पसंख्यक र अपांगमा १ र १ सदस्य गरी ६७ जनाको प्रदेश कार्यसमिति बन्नेछ । सबै पदका लागि दुवै समूहबाट प्यानलै उम्मेदवारी परेको छ ।
प्रदेश समितिको निर्वाचनमा १४ जिल्लाका १ हजार ७ सय ७० प्रतिनिधिले मतदान गर्ने छन् । आज विहानै देखि मतदान गर्ने भनिएता पनि निर्वाचन गराउन केही प्राविधिक कारणले ढिलो गरि दिउसो २ बजेपछि मात्र सुरु भएको र मतदान सकिएपछि गणना गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।