२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

चाक्सीबारीमा पौडेल समूहको चार घन्टादेखि लगातार छलफल सकियो

यही साता सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत उम्मेदवार छान्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू अहिले छलफल गरिरहेका छन्।

सभापतिका आकांक्षीसमेत रहेका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भइरहेको छलफलमा सभापतिका आंकाक्षीहरू पौडेल, शेखर कोइराला र शशांक कोइराला र केही केन्द्रीय सदस्यहरू पनि सहभागी छन्।

दिउँसो एक बजे सुरू भएको छलफल अहिले पनि चलिरहेको छ। बैठकमा सहभागी केन्द्रीय सदस्य गुरू घिमिरेले आजै सर्वसम्मतको उम्मेदवार टुंग्याइने बताए।

‘आज सर्वसम्मतिको उम्मेदवार टुंग्याउँछौं। रातभरि छलफल गरेर भए पनि साझा उम्मेदवार बनाउँछौं,’ घिमिरेले भने।

छलफलका क्रममा आफ्नो समूहमा भोटिङ गरेर भए पनि एक जना उम्मेदवार टुंग्याउने प्रस्ताव आएको छ। नेताहरूले भोटिङमा नगएरै सर्वसम्मत उम्मेदवार छान्ने घिमिरेले विश्वास व्यक्त गरे।

भित्र नेताहरू छलफलमा जुटेका बेला विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरूले बाहिर नेताहरूलाई मिल्न दबाब दिन प्रदर्शन गरेका छन्।

उनीहरूले ‘साझा उम्मेदवारको विकल्प छैन, अहिले नमिले कहिले मिल्ने’ जस्ता नाराहरू लेखिएका पोस्टर बोकेका छन्।

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्षबाट उनी नै यसपालि सभापति उठ्दैछन् भने उनीसँग असन्तुष्ट भएर गएका विमलेन्द्र निधिले पनि सभापति उठ्ने घोषणा गरिसकेका छन्। पौडेल पक्षमा भने चार जना सभापतिका आकांक्षी रहेकाले को उम्मेदवार बन्छ भन्ने एकिन छैन।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com