ए डिभिजन लिगमा मनाङको तीन खेल पोखरा रंगशालामा हुने

मनाङ मर्स्याङ्दी क्लब । अखिल नेपाल फुटबल संघ
२३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले खेल्ने तीन खेल पोखरा रंगशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक लिग फुटबल काठमाडौं बाहिर खेलाउन लागेको हो ।
मनाङले पोखरालाई घरेलु मैदान बनाउने निर्णय गरेपछि नै एन्फाले यसवर्षको लिगका केही खेल पोखरा रंगशालामा खेलाउने तयारी गरेको थियो ।
पाँचौंदेखि सातौं चरणसम्म मनाङले खेल्ने तीन खेल पोखरामा हुने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । ‘पाँचौ, छैटौं र सातौं चरणको खेल पोखरामा हुनेछ । हामी त्यसको तयारी गरिरहेका छौँ’ तुलाधरले भने ।
मनाङले नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबसंग पोखरामा खेल्नेछ । पाँचौं, छैटौं र सातौं चरणमा मनाङका प्रतिस्पर्धी तीन क्लबले पोखरा रंगशालामा मनाङसँग खेल्ने प्रस्ताव स्वीकार गरेपछि मोफसलमा लिगका खेल हुने पक्का भएको हो ।
लिगको शुरुको तीन चरणको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजना भइसकेको छ । अब चौथो चरणको खेल पनि दशरथ रंगशालामा हुनेछ ।
एन्फाले ललितपुरको च्यासल फुटबल मैदानमा पनि यस पटक लिगको खेल खेलाउने तयारी गरिरहेको छ । यस्तै एन्फा कम्प्लेक्समा पनि लिग खेलाउने एन्फाको योजना छ ।