राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय तथा मोर्चा संगठनहरुले गरे विरोध प्रदर्शन

काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय तथा मोर्चा संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनमा जबस मोर्चाका नेताहरुले एमसीसी सम्झौता पास गर्ने षड्यन्त्र भइरहेको र पास भए देशको स्वाधीनता र सार्वभौमिकता गुम्ने स्थिति आउने भन्दै अविलम्ब खारेजी गर्न जोडदार माग गर्नुभएको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कि अध्यक्ष अम्बिका मुडभरी, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङ, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा।डा। जगदीशचन्द्र भण्डारी, क्रान्तिकारी युवा लिग नेपालका अध्यक्ष अमीर महर्जन, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल लगायतका वक्ताहरुले विरोध मन्तव्य राख्दै एमसीसी सम्झौ खारेज नगरिए देशव्यापी रुपमा आन्दोलनको आधीबेहरी सृष्टि गर्ने चेतावनी दिनुभयो ।

विरोध कार्यक्रमको सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटीले गर्नुभएको थियो ।
नो एमसीसी लेखिएका प्लेकार्ड, ह्याट, ब्यानर, झण्डासहित गरिएको विरोध प्रदर्शनमा एमसीसी खारेजीको माग गर्दै नारबाजी समेत गरिएको थियो ।
क्रान्तिकारी माओवादीले एमसीसी सम्झौताको विरोधमा देशव्यापी आन्दोलन छेडेको छ ।
भोलिको २६ दलको विरोध प्रदर्शनको अगुवाई पनि क्रान्तिकारी माओवादीले नै गरेको छ । क्रान्तिकारी माओवादीकै पहलमा ६ वटा पार्टी र दुईवटा मोर्चाले पनि संघर्षका कार्यक्रम घोषणा गरिसकेका छन् ।