झापामा नक्कली पीसीआर रिपोर्ट बनाउने समात्यो प्रहरीले
झापामा नक्कली पीसीआर रिपोर्ट बनाउने समात्यो प्रहरीले
मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताउनुभयो । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ ।
सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँलगायतका अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ लेखेर राखिएको फायलसमेत फेला परेको प्रवक्ता पाठकले बताउनुभयो ।