स्वतन्त्र गजल

अनुकुल मौसम रहेछौ तिमी प्रतिकुल भएको
भल छोप्न नसकेर पो मनमा खुलदुल भएको
सिङ्गो किताब जस्ता देखिन्थे ती सुदुर गाउँका मान्छे
जुन बेला कुनै पनि गाउँ थिएन स्कुल भएको
यस्तो भ्रम थियो,राक्षसले मात्र हतियार खेलाउन सक्छ
मन्दिरमा देउता भेटिए हातमा त्रिशुल भएको
हतार गरेर तिमी आफैले काँडामा हात पुर्यायौ
मैले त सुम्पेकी हुँ यौवन तिमीलाई फूल भएको
त्यो सालिक, जिउँदो मान्छे जस्तो चोकमा उभिएको छ
ऊ हेर्न चाहन्छ देशको परिवर्तन आमूल भएको ।।
सावित्री गिरी, पोखरा, कास्की