२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्रै बजेटको ३० प्रतिशत पुँजीगत रकम खर्च गर्न दिए निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्रै बजेटको ३० प्रतिशत पुँजीगत रकम खर्च गर्न निर्देशन दिएका छन् । शुक्रबार पुँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले आआफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम पुषभित्रै खर्च गरिसक्न सबै मन्त्रालयका सम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

अर्थमन्त्री शर्माले प्रतिस्थापन बजेट पेस गर्ने क्रममा प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत बजेट खर्च गर्ने योजना सार्वजनिक गरेका थिए । सोही अनुसार पुष मसान्तसम्म सबै मन्त्रालयमार्फत हुने पुँजीगत खर्च ३० प्रतिशत पुर्याउन निर्देशन दिएका हुन् ।

यसअघि अर्थ मन्त्रालयले ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८’ जारी गरेको थियो । जसअनुसार आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिभित्र न्यूनतम १० प्रतिशत र त्यसपछि त्रैमासिक विनियोजनभन्दा कम नहुने गरी प्रत्येक महिना न्यूनतम १० प्रतिशतका दरले असार मसान्तभित्र शतप्रतिशत बजेट खर्च तथा शत प्रतिशत नतिजा हासिल गर्ने लक्ष्य बनाएको थियो । तर लक्ष्यअनुसार सुरुदेखि नै काम हुन सकेको छैन ।

अर्थमन्त्रीले लिएको लक्ष्यअनुसार मंसिरसम्ममा कुल पुँजीगत विकास खर्चको ३० प्रतिशत खर्च गरिसक्नुपर्ने हो तर हालसम्म ६.४६ प्रतिशत मात्र पुँजीगत खर्च भएको देखिएको छ । यसरी लक्ष्य हासिल नहुने भन्दै अर्थमन्त्री शर्माले सबै मन्त्रालयलाई गम्भीर हुन निर्देशन दिएको बताइएको छ ।

अर्थमन्त्री शर्माले भने, ‘बजेट कार्यान्वयनमा कुनै पनि मन्त्रालयले ढिलासुस्ती गर्न मिल्दैन । अर्थ मन्त्रालयले पनि गर्ने छैन । आफ्नो मन्त्रालयका निम्ति विनियोजन भएको बजेटको ३० प्रतिशत पुँजीगत खर्च यो (पुष) महिनाभित्र भएको हुनुपर्छ ।’ उनले समयमै पुँजीगत खर्च गर्न अर्थ मन्त्रालयको तर्फबाट समन्वय र अन्य सहयोग गरिने समेत बताए ।

उक्त छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानीमन्त्री उमाकान्त चौधरीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com