रौतहटका आधारभूत विद्यालयको अवस्था नाजुक बालबालिकाहरु चिसो भुइमा बसेर पढ्न बाध्य

काठमाण्डौँ । रौतहटको दक्षिणी भेगमा रहेको एक आधारभूत विद्यालयका बालबालिकाहरु बोरा बोकेर विद्यालय जान बाध्य भइरहेका छन् ।
देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियमा रहेको श्री आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरु विद्यालय पढ्न आउँदा किताब, कपि सँगसँगै बोरा पनि साथमा बोकेर आउँछन् ।

उनीहरुले घरबाट बोकेर ल्याएको बोरा विद्यालयको चौरमा ओछ्याउँछन् र दिनभर त्यहीँ बोरामा बसेर पढ्छन् । चिसो भुँइमा बसेर पढ्दा विद्यार्थीहरु बारम्बार बिरामी पनि पर्ने गरेका छन् ।

कक्षा १ देखि कक्षा ५ सम्म संचालन भइरहेको सो विद्यालयमा जम्मा ५ वटा कक्षा कोठा रहेका छन् । करिब ४ सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा रहेका ५ वटा कोठामा विद्यार्थीहरु नअटेपछि उनीहरुलाई बाहिर राखेर पठाइएको विद्यालयका प्रधानाध्यापक अक्षेलाल प्रसाद साह बताउँछन् ।
वि.सं. २०४६ सालमा स्थापना भएको सो विद्यालयमा विद्यार्थीहरु जाडो याममा बाहिर चौरमा बोरा ओछ्याएर पढने गरेका छन् भने गर्र्मीयाममा विद्यालय छेउमै रहेको आपँको बँगैमामा रुखमुनी बसेर पढ्छन् ।
कक्षाकोठामा बसेर पढ्ने बालबालिकाहरुको लागि एउटा सपना सरहनै भएको छ । खुल्ला चौरमा बोरा ओछ्याएर गरिएको पठनपाठन प्रवाहहिन भइरहेको छ ।
विद्यालयमा कक्षाकोठा मात्र नभएर विद्यार्थीहरुलाई बस्नको लागि डेस्क, बेन्चको पनि चरम अभाव रहेको छ । विद्यार्थीहरु घरबाट ल्याएको प्लाष्टिकको बोरा चिसो भुइँमा ओछ्याएर दिनभर पढ्ने गरेका छन् ।
कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा शिक्षकहरुको अभाव रहेको छ । विद्यालयमा जम्मा तीन जना मात्र शिक्षक रहेका छन् ।