प्रदेश १ बाट तीन सीटका लागि ८ जनाको राष्ट्रियसभा निर्वाचन उम्मेदवारी
प्रदेश १ बाट राष्ट्रियसभा सदस्यको रिक्त हुने तीन सीटका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ । विराटनगरस्थित निर्वाचन कार्यालयमा सत्तारुढ गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मनोनयन पत्र दाखिला भएको हो । सत्तारुढ गठबन्धन र एमालेले तीनै सीटका लागि उम्मेदवारी दिएका छन् भने राप्रपाले दुई सीटमा मात्र उम्मेदवारी दिएको छ ।
विराटनगरस्थित निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेबाट खुलातर्फ गुरुप्रसाद बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका हुन् । पाँच दलीय सत्तारुढ गठबन्धनका तर्फबाट खुलातर्फ काँग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अल्पसंख्यक कोटामा जसपा नेपालका हेमराज राईले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश १ मा राप्रपाले खुलातर्फ अम्बरबहादुर बिष्ट र महिलातर्फ रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ ।
गठबन्धनको तामझाम, एमाले सुटुक्क
मंगलबार उम्मेदवारी मनोनयन दर्ताका क्रममा सत्ता पक्ष तामझामसहित निर्वाचन कार्यालय पुगेको थियो । कार्यकर्ताको लस्करसहित सत्तापक्षका उम्मेदवार निर्वाचन कार्यालयमा पुगेका थिए भने प्रमुख प्रतिपक्ष एमालेका उम्मेदवार केही नेता–कार्यकर्ताका साथ उम्मेदवारी दाखिला गर्न गएका थिए ।