शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र सातदोबाटो युथ क्लब बराबरी

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार भएको खेलमा संकटा र सातदोबाटोले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने सातदोबाटोले बनाएको थियो । खेलको २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
संकटाका गोलकिपर राजा बाबु थापाले क्लियर गरेको बल सुशीललाई लाग्दै गोल भएको थियो । तर, खेलको ३२ औं मिनेटमा जया गुरुङले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
दिपेश आले मगरको पासमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो । यस बराबरीसँगै संकटाले ८ खेलमा १४ अंक जोडेको छ । सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।