ओलीले राष्ट्रिय सभा चुनावमा हार स्वीकार गरे : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको काठमाण्डौ महानगर कमिटीले आज शुक्रवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको चुनावमा ओलीले आफ्नो पार्टीको हार स्वीकार गरेको बताउनुभएको हो ।
एमाले अध्यक्ष ओलीले आज पार्टीको जिल्ला अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रिय सभा चुनावका परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताउनुभएको थियो । त्यही भनाइलाई उद्धृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरीत राष्ट्रिय सभाको चुनावमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गर्नुभयो ।
उहाँले ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोपसमेत लगाउनुभयो । जिल्ला–जिल्लामा गरेको भए नेताहरू जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाइ थियो । तर त्यो पद्धति ओली समूहमा नरहेको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ता नभएको दाबी पनि गर्नुभयो ।