२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

जोखिम मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागको अनुरोध

रासस

अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।

विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले विभागले आज एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुने यसरी अनुरोध गरेको हो।

ओमिक्रोन देखिएका मुलुक (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङ) बाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई मङ्सिर १६ देखि नेपाल प्रवेशमा रोक लगाइएको निर्णयलाई यथावत् राखिएको पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ। गएको तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरेका यात्रुका हकमा समेत उक्त निर्णय लागू हुने जनाइएको छ ।

विभागले तोकिएका ती नौ देश र अन्य कोरोनाको उच्च जोखिम भएका मुलुकबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा पनि विशेष व्यवस्था गरेको छ।

पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्नेगरी अनुमति दिने विभागले जनाएको छ ।

विभागका निर्देशक प्रकाशचन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा खोपको मात्रा पूरा नभएका वा खोपको मात्रा पूरा गरी १४ दिन नपुगेका नेपाली नागरिकको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आइसोलसनमा पठाइने र रिपोर्ट नेगेटिभ देखिएमा भने घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइनेछ ।

यस्तै खोपको मात्रा पूरा नगरेका वा खोप लगाएको १४ दिन नपुगेका कूटनीतिक, अफिसियल पासपोर्टबाहेक तथा आवासीय भिसा प्राप्त गरेका विदेशीको हकमा प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेशन वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेशनमा पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ आएमा १० दिन होटल वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिनमा बस्नेगरी प्रवेश अनुमति दिने जनाइएको छ ।

उक्त व्यवस्थाबाहेकको हकमा भने विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०८७ को आधारमा विभागबाट गएको असोज ८ गते जारी भएको सूचनाबमोजिम हुने जनाइएको छ । ओमिक्रोन भेरियन्ट देखिएका मुलुकबाट आएका यात्रुको हकमा मात्रै क्वारेन्टिन र आइसोलेशनको व्यवस्था लागू हुने विभागले स्पष्ट पारेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com