२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

सहिदका सपना र घाइते योद्धाहरूलाई सडकमै छोड्नु हुँदैन : महासचिव विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धमा बाँचेकाहरूले सहिदहरूको शपथ लिएर अन्तिमसम्म सहिदको सपनालाई बोकेर हिँड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२७ औँ जनयुद्ध दिवसका अवसरमा नेकपा कपिलवस्तुद्वारा जनस्वास्थ्य सेवा केन्द्रमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन् ।

महासचिव विप्लवले अन्याय गर्न नहुने, अनाहकमा सताउन नहुने तर न्यायका पक्षमा सङ्घर्ष गर्नुपर्ने धारणा राखेका हुन् । उनले देशलाई थिच्न खोजे र जनतामाथि शोषण भए सहन नहुनेमा जोड दिए ।

‘हामीले हाम्रो तरिकाले पढ्न, लेख्न, स्वास्थ्यको सुविधा लिन पाउनुपर्छ र आधुनिक ढङ्गले काम गर्नु पाउनुपर्छ’, महासचिव विप्लवले भने ।

जनताको आफ्नै शासन व्यवस्था स्थापित भएपछि विकास र समृद्धि धेरै परको कुरा नभएको महासचिव विप्लवको भनाइ थियो । उनले भने, ‘अमेरिकाले ३०० वर्षमा गरेको विकास चीनले ३० वर्षमा ग¥यो । विकास र समृद्धि जनताको आफ्नै शासन व्यवस्था हुँदा धेरै परको विषय होइन ।’

महासचिव विप्लवले जनताको राज्य नहुँदा जनताले दुःख पाइरहेको पनि बताए । महासचिव विप्लवले विजयको नजिक पुगेको जनयुद्धको सपना र चाहना पूरा हुन नसकेको बताए । नयाँ पुस्तालाई अपिल गर्दै विप्लवले भने, ‘आफ्नो देश नबनाएसम्म जनता कहिल्यै खुसी हुने छैनन् ।’

‘सङ्घर्षमा थाक्नु हुँदैन । मन्त्री र प्रधानमन्त्री हुनका लागि जनता, सहिदका सपना र घाइते योद्धाहरूलाई सडकमै छोड्नु हुँदैन । सबै नेपाली जनता खुसी भएको दिन नेता स्वतः खुसी भइहाल्छन् । जनताभन्दा अलग सुखको खोजी गर्नु हुन्न’, महासचिव विप्लवले भने ।

नेपालका संसद्वादी दलहरूले नेपाली जनताको सेवा गरेर, सुख, शान्ति र समृद्धिको सपना पूरा गरेर नभई वासिङ्टनका मालिकको पाउ मोलेपछि कुर्सी बच्छ भन्ने सोचाइ राखेको महासचिव विप्लवको टिप्पणी थियो ।

बाबुरामले नेपाली जनतालाई लडाउनसम्म लडाएर त्यही रगत र बलिदानबाट नेता भए पनि आखिरमा माओवादी आन्दोलन नै छोडेर भागेको महासचिव विप्लवले बताए । प्रचण्डको प्रसङ्ग जोड्दै विप्लवले भने, ‘प्रचण्ड एकै दिनमा मर्ने र बाँच्ने चरित्र प्रदर्शन गरिरहेका छन् । प्रचण्डको ताल हेर्दा अमेरिकासँग याचना पनि गर्ने र पार्टीमा फर्केर म मान्दिनँ पनि भन्ने दिशाविहीन चरित्र देखाइरहेका छन् ।’
महासचिव विप्लवले महान् जनयुद्धको लडाइँले शेरबहादुर देउवालाई जेलमुक्त गरेको स्पष्ट पार्दै जनयुद्ध नभएको भए ज्ञानेन्द्र शाहकै जेलभित्रै सड्ने निश्चित भएको स्पष्ट पारे । इच्छाले कसैले पनि बन्दुक नबोक्ने प्रस्ट पार्दै उनले भने, ‘राज्यले बन्दुक बोक्न बाध्य बनाउँछ । जनताले लड्नुस् भने हामी लड्न तयार छौँ ।’
महासचिव विप्लवले भने, ‘धन, दौलत, आराम, मोजमस्ती गरेर जीवन बिताउने चाहना छैन । नेपाली जनता खुसी भएछन् भने हामी पनि खुसी हुन्छौँ । नेपाल मुक्त भएपछि हामी पनि मुक्त हुन्छौँ । नेपाली जनता दुःखी र बन्धक हुन्छन् भने हामी लडेर बलिदान गर्न तयार छौँ तर हामी जनतालाई छोडेर एक्लै हिँड्दैनौँ ।’

‘हामीलाई पैसा चाहिन्छ तर पैसाको भोको भएर जनतालाई त्याग्न सक्दैनौँ’, महासचिव विप्लवले भने, ‘हामीलाई जिम्मेवारी पनि चाहिन्छ तर जिम्मेवारीको लोभमा देशलाई घात गरेर जान सकिँदैन । नेपाली जनताले चाहेको व्यवस्था नल्याएसम्म पार्टीले निरन्तर सङ्घर्ष गरिरहन्छ’, महासचिव विप्लवले भने ।

‘ जनमतसङ्ग्रह गरेर एकचोटि नेपाली जनतालाई व्यवस्था रोज्ने अधिकार दिऊँ’, महासचिव विप्लवले भने, ‘जनमतसङ्ग्रह सुन्न नचाहने, जबर्जस्ती स्थानीय चुनाव र सङ्घीय चुनावको घोषणा गरेर नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समस्याको समाधान हुँदैन ।’

सम्पूर्ण राजबन्दी रिहा नगरी, झूट्टा मुद्दाहरू खारेज नगरी तत्कालीन केपी वली नेतृत्वको सरकार र देउवा नेतृत्वको सरकारले आफूूहरूलाई दबाब दिन खोजेको महासचिव विप्लवले बताए । लडाइँमा हार–जित हुने तर सत्यका पक्षमा निरन्तर लडियो भने अन्तिममा विजय जनताकै हुने महासचिव विप्लवको भनाइ थियो । उनले जनताको शक्ति र सत्यका सामु कोही टिक्न नसक्ने भन्दै सत्य र जनतालाई समातेर निरन्तर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । ‘अपूरो सपना र अधुरो यात्रा पूरा गर्न सक्छौँ । त्यही सङ्कल्प र प्रतिबद्धतासहित अगाडि बढौँ’, महासचिव विप्लवले भने ।

नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रीय सदस्य तथा कपिलवस्तु–अर्घाखाँची जिल्ला इन्चार्ज जुझारुले गरेका थिए भने कार्यक्रमको सञ्चालन नेकपा कपिलवस्तु सेक्रेटरी कमलले गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई नेकपा कपिलवस्तुका सदस्य पावेलले स्वागत गरेका थिए भने शुभकामना मन्तव्य नेकपा केन्द्रीय सञ्जीव र केन्द्रीय सदस्य भेषराजले गरेका थिए । कार्यक्रममा रक्तरञ्जित सांस्कृतिक परिवार कपिलवस्तुका कलाकारले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com