२०८१ माघ १२ - Sat Jan, 2025 -

Janasewa News

लोकदोहोरीमा मापदण्ड चाहिन्छ : बद्री पंगेनी

‘काठमाडौँ । नेपाली न्यूज लाइभ’ युट्युव च्यानलले ‘हैट यस्तो तगडा’ बोलको गीत वर्ष दिन पहिले युट्यूवमा सार्वजनिक गरेको थियो । गायक बालचन्द्र बराल र गायिका मीना गुरुङको लाइभ लोकदोहारी रहेको यो गीत द्विअर्थी लाग्ने शब्दले भरिएको छ ।

त्यस्तै गायक सागर बिसी र गायिका सुशीला लामाको लाइभ लोकदाहोरी गीत ‘ठूलो हलो’ भाग–२ को रुपमा ‘जैले जैले जोते नि पाइने भयो’ करिब ११ महिना अगाडि सार्वजनिक भएको थियो । ‘खुलदुली दोहोरी घर अफिसियल’ युट्यूवबाट सार्वजनिक यो गीत पनि दुईअर्थी शब्दले भरमार छ । परिवार सँगसँगै बसेर सुन्न सकिने अवस्था छैन ।

गायक श्याम राना र गायिका सुशीला लामाको लाइभ लोकदोहोरी गीत ‘मैले गोली ताकी सके।।।’ पनि दुई अर्थी शब्दले भरिएको छ । बी एण्ड बी डिजिटलले यो गीत बाहिर ल्याएको हो ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । गायकहरु श्याम राना, बालचन्द्र बराल, सुशीला लामा, रविन लामिछाने, सागर बिसी, बबिता बाँनिया, दिनेश श्रेष्ठ, चिज गुरुङ, अलिफ खान, तारा थापा, मीना गुरुङ लगायतका ‘माटो काटी चपरी, ‘कडा भाले दोहोरी’, ‘खेत जोत्ने मान्छे’, ‘ज्यान तताउने सुई लगाइदेऊ राजा’ लगायत थुप्रै लाइभ लोकदोहोरी युटूयबमा छ, जसका दोहोरीमा द्विअर्थी अपाच्य शब्दले हाकाहाकी प्राथमिकता पाएका छन् । यस्ता लोकदोहोरीका कारण अहिले सर्वसाधारणले लोकदोहोरी ‘फोहोरी’ भन्न थालेका छन् ।

चर्चित लोकदोहोरी गायिका कल्पना दाहाल पनि पछिल्लो समय लोकदोहोरी फोहोरी हुँदै गएको स्वीकार्छिन् । ‘लोकदोहोरी बच्चादेखि बुढासम्मले सुन्न, हेर्न मिल्ने खालको हुनुपर्छ’ दाहालले भनिन्,‘तर कतिपयले फोहोरी दोहोरी गाउनु भएको छ । त्यो नराम्रो हो ।’

गायिका दाहालको विचारमा अर्का गायक नविन पौडेल पनि सहमत छन् । ‘देशको कलासंस्कृति जोगाउने दायित्व कलाकारको हो । कलाकारहरुले नै उच्छृङ्खल, अश्लील शब्द प्रयोग गर्नु हुँदैन,’ पौडेलले भने, ‘पछिल्लो समय धेरै गायक गायिकाले लाइभ दोहोरीमा भल्गर लाग्ने शब्द प्रयोग गर्न थालेका छन् । यसले लोकदोहोरी विधा नै वदनाम हुँदैछ ।’

द्विअर्थी गीत गाउने गायक श्याम राना भने लोकदोहोरी फोहोरी भयो भन्ने आरोप मान्दैनन् । ‘दोहोरी बिषयबस्तु अनुसार अगाडि बढाउछु पर्छ’ रानाले भने, ‘दोहोरी भन्नेले कसरी भन्यो र सुन्नेले कसरी सुन्यो भन्नेमा भर पर्छ ।’ तर लोकदोहोरीको नाममा जे पनि बोलेको भने नराम्रो हुने स्वीकार्छन् उनी पनि ।

चाँडै चर्चा अनि डलर कमाउने ध्याउन्न

पछिल्लो समय विकास भएको डिजिटल प्लेटफर्म युट्यूबमा फोहोरी कन्टेन्टले भ्यूज धेरै पाउने र राम्रो आम्दानी गर्ने गरेका धेरै उदाहरण छन् । त्यस्तै मेला महोत्सवमा पनि सभ्य गीतसंगीतमा भन्दा फोहोरी गीतमा दर्शक धेरै झुम्मिने र रमाउने गरेका छन् । गीत द्विअर्थी, फोहोरी भए पनि जसले बढी दर्शक नचाउन सफल हुन्छ महोत्सव आयोजकले त्यस्तै गायक गायिकालाई बढी प्रथामिकता दिने लोकगायक नविन पौडेल बताउँछन् ।

‘सस्तो लोकप्रियता र युट्यूवमा भ्यूज पाउने हिसावले पनि लोकदोहोरी फोहोरी हुँदै गएको छ’ पौडेलले भने ‘जव युट्यूवको जमाना आयो, भ्यूजमा लोकप्रियता नाप्न थालियो । त्यसले संस्कृतिमाथि आक्रमण गर्यो ।’ युट्यूवको भ्यूजले आम्दानी ९डलर० को समेत निर्धारण गर्ने भएकोले लोकदोहोरीमा जथाभाबी शब्दको प्रयोग हुन थालेको पौडेलको बुझाइ छ ।

लोकगायक बालचन्द्र बरालका दोहोरी गीत पनि धेरै हदसम्म दुईअर्थी छन् । ‘दोहोरी सुन्दा मज्जा आएन, हाँसो लागेन, रुवाएन भने त्यो गीतको कुनै अर्थ रहेन । बोलचालको सामान्य भाषाको गीतमा न भ्यूज बढ्छ, न स्रोताले सुन्छन्,’ बरालले प्रश्न गरे, ‘त्यस्तो गीत बनाउनुको अर्थ के रु’ गीतमा विभिन्न दुईअर्थी शब्द प्रसंगले भित्रिने बरालको भनाई छ ।

राम्रा गायक गायिका समस्यामा

लोकदोहोरीमा आएको विकृतिले लोकदोहोरी हाम्रो संस्कृति भन्दै आएका अघिल्लो पुस्ता पनि यसबाट टाढा भाग्न थालेका छन् । लोकदोहोरीमा नाम कमाएका गायक बद्री पंगेनी लोकदोहोरीमा आएको विकृतिले समाजमा पहिलेझैं गायक भनेर गर्व गर्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘लोकदोहोरी मर्यादित र ब्यवसायिक बनाऊँ भन्ने मेरो पहिले देखिकै चाहना हो,’ पंगेनीले भने, ‘तर कतिपय कुरो चाहना भएर मात्र हुँदो रहेनछ ।’

‘समाजलाई नपच्ने गीत आयो भने टाउको दुख्ने तपाईं जस्तो पत्रकार र हामी जस्तो गायकलाई मात्र हो,’ पंगेनीले थपे,‘ यसमा राज्यको कुनै चासो छैन । राज्यले यो बिषयमा मापदण्ड निर्धारण गर्नुपर्छ । मापदण्ड बनाएर राज्य नलागेसम्म विकृति विसंगति रोकिन्न ।’

पंगेनीको विचारको समर्थन गायक यम बराल पनि गर्दछन् । समग्रमा गीतसंगीतका विकृति विसंगतिले सबै गायक गायिकालाई कुनै न कुनै किसिमबाट असर गर्न सक्ने बराल बताउँछन् । ‘म त गीत संगीतप्रति एक किसिमको जिम्मेवारी लिएर हिँडेको विद्यार्थी हो । त्यसैले हामी को हौ । के गर्दैछौ भनेर सबैले मनन गरेको अवस्थामा खासै असर त गर्दैन,’ बरालले भने । तर कतिपयले आफ्नो कर्मको चिन्तन नै गर्दैनन् । सस्तो लोकप्रियताको पछि पछि दौडिन्छन् ।

आफूले संगीतको बजारमा दिएको गीतसंगीत र संस्कारले आफू कस्तो गायक भनेर सर्वसाधारणले सजिलै जजमेन्ट गर्न सक्ने बरालको जिकिर छ । ‘म दर्शकको मनमा बेग्लै छापका साथ बसेको छु’ बरालले थपे ।

प्रतिष्ठान भन्छ, ‘यो गलत हो’

लोक तथा दोहोरी गीत प्रतिष्ठानले यसमा विकृति रोक्न विकृति न्यूनीकरण विभाग समेत गठन गरेको छ, जसको संयोजक छन् शिव हमाल ।

दाहालको विचारमा नेपाली लोक तथा दोहोरी गीत बास्तवमा संसारमा कहीँ नभएको एउटा जीवन्त संस्कृति हो । नेपाली कलाकार र नेपाललाई विश्वमा चिनाउने एकमात्र संस्कृति लोक तथा दोहोरी गीत पनि हो । यो सुर र तालमा बाँधेर सम्वादको शैलीमा गाइन्छ ।

हमालको विचारमा यो पवित्र लोकदोहोरी पछिल्लो समय सस्तो, भड्काउ र सी ग्रेटको बनाइएको छ । त्यसमा कुनै संस्कार, सम्वाद, प्रसंग र अनुशासन पनि छैन । संगीत र सुरको पनि खडेरी छ । केवल अश्लीलता मात्रै छ । यस्तो हुनुमा मुख्य दोषी कलाकार हुन् । त्यसको अलावा दोहोरी ब्यवसायीको पनि हात छ, जसले राम्रो गाउनेलाई भन्दा उत्ताउलो र भड्किलो शब्द संगीतलाई प्राथमिकता दिइरहेका छन् । जसले फोहोरी शब्द प्रयोग गर्छ, त्यसले प्राथमिकता पाउनु दुर्भाग्य हो । यसले राम्रो गाउनेहरु मर्कामा छन् ।

कुनै गायक गायिकाको भाका अनुमति बिना व्यावसायिक ढंगले प्रयोग गरिन्छ भने त्यो कानुनी रुपमा अपराध ठहर्छ । लाइभ लोकदोहोरीमा धेरै अपराध भइरहेको हमालको ठहर छ । तर यसको राम्रो पाटो पनि छ । ३ दर्जन बढी लाइभ दोहोरी स्टेशन खुलेका छन् । धेरैले रोजगारी पाएका छन् । युट्यूवबाट राम्रो आम्दानी गरेका छन् । नयाँ नायँ कलाकार पनि देखिएका छन् । तर राम्रो पक्षको तुलनामा नराम्रो पक्ष धेरै छ ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षको निर्देशनले आफूहरु छिट्टै स्रष्टाहरुको भेला आयोजना गर्न गइरहेको संयोजक हमाल जनाउँछन् । हाम्रा सिर्जना यसरी लुटिदै गर्दा हेरेर बस्ने अवस्था छैन । एक गीत बजारमा ल्याउँदा ४, ५ लाख खर्च पर्छ । गीत सिर्जना गर्न पनि बर्षौ लगाउनुपर्छ । ती असली स्रष्टा भोकै रहने अवस्था छ । अहिले अर्कोको भाका गाएर सस्तो लोकदोहोरी बनाएर लाखौं कमाउने र विकृति भित्र्याउने छन् । उनीहरुलाई एउटा प्रक्रियामा ल्याउने काम अब हुन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com