२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

एमसीसी सम्झौताको विषय अब सडकबाट नभइ संसदमा छलफल हुन्छ : रामचन्द्र पौडैल

फाइल:तस्विर

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकी सरकारले गरेको सहयोग भएको बताउनुभएको छ । आज सोमवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटपछि उहाँले यस्तो बताउनुभएको हो ।

एमसीसीले विद्युत् र सडकमार्फत नेपालको गरिबी हटाउन मद्दत पुर्‍याउने नेता पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘अमेरिकी सरकारले नेपालको गरिबी अन्त्यका लागि नेपालको विद्युतलाई बजारमा लगेर बेच्नका लागि एउटा प्रसारण लाइन बनाइदिने । नेपालले आम्दानी गरोस्, नेपालको गरिबी हटाउन मद्दत गरोस् । त्यस्तै सडक बनाइदिने, यहाँको जनताले सुविधा पाउन् । त्यही हो मैले बुझेको सिम्पल कुरा हो ।’

एमसीसी सम्झौताको विषय अब सडकबाट नभइ संसदमा छलफल हुने उहाँले बताउनुभयो । राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको उहाँले उल्लेख गर्नुभयो ।
यसैबीच उपेन्द्र यादवसँगको भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी भएको नेता पौडेलले बताउनुभयो । एमसीसीको समस्या जटिल रूपमा आएको भन्दै उहाँले भेटवार्ताका क्रममा एमसीसीका कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गर्नुभयो । एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उहाँको भनाइ छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसीबारे निर्णय लिने बताएको उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ नेता पौडेलले एमसीसी सम्झौता संसदमा पेस भइसकेको सन्दर्भमा यसको निकासका लागि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरूसँग पनि कुरा गर्ने बताउनुभयो । उहाँले देशमा सङ्कट नगहिरियोस् भन्नका लागि आफू प्रयत्नशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो पुस्ता नै एउटा असफल पुस्तामा परिणत हुन थाल्यो । देश नै असफल राष्ट्रतिर जाने हो कि भन्ने मलाई चिन्ता भएर मैले पहिलेदेखि केपी ओलीलाई भेटेँ । त्यसपछि मैले यी पाँच दलका नेताहरूसँग कुरा गरे । देशको सङ्कट झन् गहिरिँदै नजाओस् भन्नेमा म प्रयत्नशील छु ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com