२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

नौबिसे नागढुङ्गा सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ ।

सुरुङ मार्गमा खटिएका प्राविधिक टोलीका सहसंयोजक(डेपुटी टिम लिडर) इन्जिनियर अच्युत भट्टका अनुसार नागढुङ्गातर्फको नाकाबाट मुख्य सुरुङको चार सय ७४ दशमलव २० मिटर टनेल खनिएको छ । नौबिसेतर्फको नाकाबाट पनि ४७४.४ मिटर सुरुङ खनिसकिएको छ ।

सहायक सुरुङको नागढुङ्गा नाकाबाट ७९० मिटर र नौबिसेतर्फको नाकाबाट ५७० मिटर खनिसकिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ र सहायक सुरुङको कुल लम्बाइ दुई हजार ५५७ मिटर छ । भट्टले भन्नुभयो, “समग्रमा आजसम्म ४५ प्रतिशत काम सकिएको छ । तोकिएकै समयमा निर्माण सक्ने गरी काम भइरहेको छ ।”

मुख्य सडकबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ तथा विस्फोटक पदार्थ बोकेका र गह्रौँ तौल हुने सवारी साधनबाहेक अन्यलाई गुड्न दिइनेछ । दोस्रो सुरुङबाट मुख्य सडकमा सवारीसाधन बिग्रेमा वा कुनै समस्या आएमा आपत्कालीन उद्धारका लागि खटिनुपर्ने सवारीसाधनलाई मात्रै प्रवेश दिइने भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य र सहायक सुरुङ मार्गलाई जोड्न सातवटा पहुँच मार्ग बनाइनेछ । जुन मार्गबाट आवश्यकताअनुसार दुवै सुरुङ मार्गका विशेष अवस्थाका सवारी साधनलाई आवातजावात गर्न दिइनेछ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com