२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

‘प्रसिद्धिको आवरणमा यौन शोषण’ : पल शाह लाई खोज्दै प्रहरी

बागलुङबाट फर्कंदा गाडीमा दुर्व्यवहार गरेको, गत वर्ष पुस १० मा पोखरा, चैत ७ मा चितवन र गत वैशाख १४ मा तनहुँमा जबर्जस्ती करणी गरेको आरोप

काठमाडौँ । कलाकार पल शाह (पूर्णविक्रम शाह) लाई जबर्जस्ती करणीको आरोप लागेको छ । १७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छन् । प्रहरीले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर गरिसकेको छ ।

जाहेरीमा शाहले गत चैत ३१ मा बागलुङको गलकोटमा आयोजित महोत्सवबाट फर्किने क्रममा गाडीमा यौन दुर्व्यवहार गरेको र गत वैशाख १४ गते पोखराबाट काठमाडौं फर्किने क्रममा तनहुँमा बास बसेका बेला जबर्जस्ती करणी गरेको उल्लेख छ । त्यस्तै, छायांकनका क्रममा गत वर्ष पुस १० मा पोखरामा र चैत ७ मा चितवनमा जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको दफा २१९ ९२० मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । पीडितले एक महिनाअघि शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिने प्रयास गरेकी थिइन् । तर, वारदातको स्थान फरक जिल्ला भएको र सोही जिल्लाको क्षेत्राधिकारको विषय बताइएपछि पीडित परिवार जाहेरी दिन तनहुँ पुगेको थियो । त्यति बेला पीडित प्रहरीकामा पुगेको सूचना पाएपछि शाहनिकट केहीले सहमति खोज्ने भन्दै पीडित परिवारलाई जाहेरी दिन निरुत्साहित गरेका थिए ।

शाहविरुद्ध प्रहरीमा जाहेरी दर्ता हुनु केही समय अघिदेखि नै उनीमाथि लागेको आरोपबारे फिल्म क्षेत्रका केही व्यक्ति जानकार देखिन्थे । तर, दुई व्यक्तिबीचको सहमति वा विवादको विषय मात्रै बनाएर नाबालिकमाथि भएको जबर्जस्ती करणी र यौन हिंसाजस्तो गम्भीर विषयलाई अनुसन्धानको दायराबाहिरै राखेर सल्टाउने प्रयास भएको थियो ।

भिडियो सम्पादनको काम गर्दागर्दै शाह अभिनयको दुनियाँमा आएका हुन् । उनले ‘नाइँ नभन्नु ल ४’, ‘शत्रुगते’, ‘जोनी जेन्टलमेन’, ‘वीरविक्रम’, ‘म यस्तो गीत गाउँछु १’ र ‘म यस्तो गीत गाउँछु २’ फिल्ममा अभिनय गरेका छन् । ‘हुतुतु’, ‘सत्यम’ र अन्य केही फिल्ममा उनी अनुबन्धित छन् । बुधबार नै उनी अभिनीत ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो आयोजना गरिएको थियो । आफूविरुद्ध उजुरी दर्ता भएपछि शाह प्रिमियर शोमा सहभागी भएनन् ।

फिल्मी दुनियाँ सहकर्मीबाट हुने यौन हिंसाको घटना नयाँ होइन । यसअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले छायांकनका क्रममा आफू यौन हिंसाको सिकार भएको सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिले कला संसारभित्र मौलाइरहेको यौन हिंसा र उत्पीडनका घटनालाई बाहिर ल्याएको थियो र त्यसबारे मुख खोल्न नयाँ पुस्ताका कलाकारले किन सकिरहेका छैनन् भन्ने बहसको सुरुवातसमेत गराएको थियो ।

चलचित्र निर्देशक एवं टिप्पणीकार मनोज पण्डित कला क्षेत्रका केही मानिसले चर्चा र सफलताको उच्च बिन्दुमा पुगेका बेला आफू सामाजिक कानुनभन्दा माथि छु भन्ने भ्रम पालिरहेको टिप्पणी गर्छन् । यस्ता मानिसले सामाजिक मूल्य र मान्यताभन्दा बाहिर गएर काम गर्ने र आफ्ना काम सबै हिसाबले समाजका निम्ति पाच्य हुन्छ भन्ने भावना राख्ने गरेको उनले बताए । उनले भने, ‘चर्चा कमाइरहेका केही मानिसमा मैले जे गरे पनि समाजले त्यसमा स्वीकार गर्छ भन्ने गलत सोच देखिन्छ ।’

कला क्षेत्रभित्र यौन हिंसाको सिकार भएकाहरूले मुख खोल्न नसक्ने विषयमाथि पनि उनले टिप्पणी गरे । केही घटनामा पीडितले घटनाबारे बोल्न सक्ने अवस्था हुँदाहुँदै पनि उचित परिस्थितिको पर्खाइमा बस्ने गरेको र कतिपयको घटनामा भने पीडकको पक्षबाट स्वार्थ समूहहरू सक्रिय भएर घटना सामसुम पार्न लागिपर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । कलाकारको वरपर रहने स्वार्थी समूहले प्रसिद्धि हासिल गरेका कलाकारको असामाजिक क्रियाकलापको व्यवस्थापन गरेर फाइदा लिने प्रवृत्ति मौलाइरहेको बताए । उनले भने, ‘प्रसिद्धि हासिल गरेकालाई गलत काममा पनि जोगाइराख्ने दलालतन्त्र रंग क्षेत्रमा व्यापक छ । पल प्रकरणमा पनि त्यही देखिन्छ ।’

आरोप प्रमाणित भए के हुन्छ ?

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसुरमा पीडितको उमेरअनुसार फरक–फरक सजायको व्यवस्था छ । संहितामा पीडित १६ वर्षदेखि १८ वर्षसम्मका महिला भए १० वर्षदेखि १२ वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको छ । पीडित १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरका महिला भएको खण्डमा भने सात वर्षदेखि १० वर्षसम्म सजायको व्यवस्था छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com