युक्रेन छाड्न अमेरिकाको प्रस्ताव, राष्ट्रपति जेलेन्स्कीले भने ‘सवारी होइन, हतियार चाहिएको छ’

एजेन्सी । रुसी आक्रमणको सामना गरिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेका छन् ।
रुसले आक्रमण गरेको तेस्रो दिनमा नै रुसी सेना युक्रेनको राजधानीमा पुगेपछि राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकाले उद्दारको प्रस्ताव गरेको हो । तर अमेरिकाको प्रस्ताव राष्ट्रपति जेलेन्स्कीले ठाडै अस्वीकार गरेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।
अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको प्रस्तावमा भनेका थिए, ‘लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन ।’
राष्ट्रपति जेलेन्स्कीले आफूले देश नछोड्ने रुस विरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता जनाएका छन्। एउटा सम्बोधनमा उनले भनेका छन्, ‘जब तिमीहरूले हामीलाई आक्रमण गर्छौँ हामी त्यसको सामना गर्छौँ, भाग्दैनौँ ।’
जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन् । उनले बेलायत तथा अन्य मित्रराष्ट्रलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह गरेका छन् ।
रुसले गरेको आक्रमणको डटेर सामना गर्ने प्रतिबद्धता जनाका जेलेन्स्कीले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । पूर्व कमेडियन तथा कलाकार समेत रहेका जेलेन्स्कीले यसअघि रुसलाई भनेका थिए, ‘तिमीले हामीमाथि आक्रमण गर्दा हाम्रो अनुहार देख्नेछौं ढाड होइन ।’
शुक्रबार जेलेन्स्कीले एक भिडियो पोस्ट गरेका थिए । जसमा उनीसहित उनका प्रमुख सहयोगीहरु पनि साथमा देखिएका थिए । किभमा आक्रमण भएपछि जेलेन्स्की देश छाडेर भागे भन्ने हल्लाका बीच उनले उक्त भिडियो सार्वजनिक गरेका हुन् । ‘हामी सबै यहाँ छौं र हामी यहीं रहने छौं’, भिडियोमा उनले भनेका छन् ।
शनिबार युक्रेन सरकारले राजधानी किएभका चोकहरूमा लडाइँ जारी रहेको ऐजेन्सीहरुले जनाएको छ । युक्रेनी रक्षा मन्त्रालयले हालसम्म एक हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । बिहीबार युक्रेनले आफ्ना ४० जना सैनिक मारिएको र केही दर्जन घाइते भएको जनाएको थियो । रुसले भने किभनजिकै रहेको होस्टमोल एयरफिल्ड कब्जाका क्रममा मात्रै २ सय युक्रेनी सैनिक मारिएको जनाएको छ ।
एन्टोनोभ एयरपोर्टका नामले समेत चिनिने एयरफिल्ड आफ्नो नियन्त्रणमा लिन रुसले २ सय सैन्य हेलिकोप्टर खटाएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी आरआईए नोभोस्टीले लेखेको छ ।
ब्ल्याक सीमास्थित टापु स्नेक आइल्यान्डको सुरक्षार्थ खटिएका १३ युक्रेनी सैनिक पनि मारिएका छन् । आत्मसमर्पण गर्न रुसी सैनिकले गरेको आग्रह नमानेपछि भिडन्त भएको थियो । मारिनुअघि एक युक्रेनी सैनिकले दिएको भिडियो वक्तव्य ट्वीटर, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल भएको छ ।
युक्रेनका स्वास्थ्यमन्त्रीले रुसले आक्रमण गरेपछि अहिलेसम्म १९८ जना युक्रेनी नागरिकको मृत्यु भएको जानकारी दिएका छन् ।



