२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नसर्ने रोग पहिचान गर्न निःशुल्क रक्त परीक्षण कार्यक्रम सुरु

रासस । पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि कुश्मा नगरपालिकाको अभियान अन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो । अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट सुरु भएको छ ।

सोमवार कटुवाचौपारीमा आयोजित शिविरमा ३०० जनाको रक्त परीक्षण गरिएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोग जस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ । सो परीक्षणमा ३९ जनामा उच्च रक्तचाप, २२ जनामा मधुमेहको उच्च जोखिम रहेको पाइएको छ भने अन्यमा सामान्य अवस्था रहेको पाइएको स्वास्थ्य सहसंयोजक यामप्रसाद शर्माले जानकारी दिए ।

कुश्मा ९ का वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले स्वास्थ्य रक्षाका लागि नागरिकले प्रत्येक ६÷६ महिनामा रगत परीक्षण गर्नुपर्ने भन्दै नगरपालिकाको यो महत्वपूर्ण कार्यक्रम सुरु गरेको बताउनुभयो ।

ज्येष्ठ नागरिकमा नसर्ने रोग लाग्ने र समयमै परीक्षण गरी थप उपचार गर्न सहज होस् भनेर कुश्मा नगरपालिकाले यो कार्यक्रम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए । रोगले थलिएपछि बल्ल उपचारका लागि जाने धारणा समाजमा रहेको अवस्थामा यो अभियानले बेलैमा रोगको पहिचान र निदान हुने भएकाले कुश्मा नगरपालिकाले अभियान सुरु गरेको गुरुङले बताए ।

नसर्ने रोगको पहिचान शिविर नगरपालिकाका सबै वडामा सञ्चालन हुने नगरप्रमुख रामचन्द्र जोशीले बताएका छन् । कुश्माबजारदेखि दुरदराजसम्म पुगेर स्वास्थ्यकर्मीले शिविर सञ्चालन गरी बिरामीको पहिचान र उपचार गर्ने जोशीले बताए । नगर उपप्रमुख सीता काफ्ले लामिछानेले विशेष गरी ज्येष्ठ नागरिकलाई नसर्ने रोग लाग्ने भएकाले स्वास्थ्यकर्मीलाई ज्येष्ठ नागरिकको जीवनरक्षाका लागि ध्यान दिएर सेवा दिन अनुरोध गरिएको बताए । नगरपालिकाले शिविरमा नआउनेलाई घरमै पुगेर पनि सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com