२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राष्ट्रघाती एमसीसीविरुद्ध आज खुलामञ्चमा महासचिव विप्लवसहित सात शीर्ष नेताको सम्बोधन

काठमाडौँ । नेकपाका महासचिव विप्लव, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले आज राष्ट्रघाती एमसीसीविरुद्ध काठमाडौँ खुलामञ्चमा सम्बोधन गर्दैछन् । एमसीसीले संसद्‌वादी दलहरूबीच नै खैलाबैला मच्चाएर विभाजनतिर डोहोर्याइरहेको समयमा राष्ट्रिय स्वाधीनताको आन्दोलनको नेतृत्व गर्दै आएका यी ६ दलले दलले एमसीसी खारेजीका लागि आह्वान गर्दै आज मध्याह्न विशाल प्रदर्शन र विरोधसभा आयोजना गरेका हुन् ।

माओवादी केन्द्र, एमाले, एकीकृत समाजवदी, जसपा, लोसपालगायत सबै संसद्‌वादी दलभित्र एमसीसीका विषयमा फरक मत र सङ्घर्ष जारी छ । ती दलभित्रका तुलनात्मक रूपमा राष्ट्रवादी र देशभक्तहरूले एमसीसी पारित गर्ने कार्यको विरोध गरिरहेका छन् भने कतिपय पार्टीका नेता–कार्यकर्ता र विद्रोह गर्दै क्रान्तिकारी–देशभक्त पार्टीमा ध्रुवीकृत हुन सुरु गरिसकेका छन् । राजमो, नेमकिपा, राप्रापालगायत दलले एमसीसीका विपक्षमा मत व्यक्त गरेका छन् ।

संसद्‌वादी दलहरूले एमसीसीमा संसद्‌बाटै राष्ट्रघात गरेपछि ६ राजनीतिक पार्टी, २ मोर्चा र सिङ्गो देशभक्त जनसमुदाय आन्दोलित भइरहेको समयमा आज काठमाडौँमा व्यापक प्रदर्शनसहित विशाल विरोधसभा आह्वान गरिएको हो ।

आन्दोलनकारी दलले मङ्गलबार अपराह्न संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको जनसङ्घर्षको इतिहासमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति र राष्ट्रवादी आमनेपाली जनताले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनविरुद्ध राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको निष्कर्ष पनि निकालेका थिए । ६ दलले यो देश र नेपाली जनताका विरुद्ध गरिएको अक्षम्य अपराध साबित भएको र घोर राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पारित हुँदै गर्दा नेकपा (एमाले) ले त्यसका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा वयल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पुर्याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेको ठहर गर्दै चैत ६ गते सम्मका लागि सडक संघर्ष घोषणा गरेका थिए ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको जनसङ्घर्षको इतिहासमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति र राष्ट्रवादी आमनेपाली जनताले गत फागुन १५ गतेलाई कालो दिन घोषणा गरेका छन् । शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनका खिलापमा राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरे । यो देश र नेपाली जनताका विरुद्ध गरिएको अक्षम्य अपराध साबित भएको छ ।’

६ पार्टी र २ मोर्चाले जारी गरेको सङ्घर्षको कार्यक्रममा फागुन २० गते काठमाडौँ उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोधसभा, फागुन २२ गते बुद्धिजीवीहरूको अन्तरक्रिया, फागुन २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, फागुन ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, चैत २ गते किसानहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिकरदलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा, चैत ६ गते राष्ट्रिय मुक्ति (जातीय–क्षेत्रीय) मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com