२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

विवादको पर्याय रहेका स्पीनका जादुगर

एजेन्सी । शेन वर्न क्रिकेटको दुनियाँमा एक यस्तो प्रतिभाशाली व्यक्ति थिए जोसँग सम्बन्धित हरेक कथालाई क्रिकेट प्रेमीहरूले चिनेको दाबी गर्छन् । जबसम्म वार्न क्रिकेट खेल्थे, मैदानमा हेडलाइन बनाइरहन्थे । क्रिकेट मैदानबाहिर रहँदा पनि उनीसँग सम्बन्धित समाचारले पत्रिका भरिएको हुन्थ्यो । यसका बावजुद वार्नले मानिसहरूलाई जीवनभर आश्चर्यचकित गरिरहे ।

जबसम्म उनले क्रिकेट मैदानमा खेले, ब्याट्सम्यानहरूलाई आफ्नो स्पीन बलले छक्क पारे भने खेल मैदानबाहिर आफ्ना प्रशंसकले संसारका अन्य ख्यातिप्राप्त व्यक्तिहरूलाई चकित पारे । कमेन्ट्री गर्दा खेलको सुक्ष्म विश्लेषणले टिप्पणीकारहरूलाई छक्क परे । आफ्नो व्यक्तिगत जीवनमा पनि धेरै पटक आफ्ना पार्टनरलाई चकित पारे र अन्त्यमा सारा संसारलाई अचम्मित पार्दै आफ्नो अन्तिम यात्रा तय गरे, जहाँबाट अब उनी कहिल्यै फर्केर आउने छैनन् ।

क्रिकेटबारे जानकारहरुलाई लेग स्पीन त्यति सजिलो छैन भन्ने थाहा छ । त्यही स्पीनलाई शेन वार्नले यस्तो तरिकाले आविष्कार गरे कि उनको वरिपरि अरू कोही देखिँदैन थिए । वार्नले लेग स्पीनलाई शान्त र स्टाइलशैलीमा परिणत गरे । चाहे वर्नको बलिङको रनअप होस्, उनको बलिङ शैली होस् वा विकेटका लागि अपील गर्ने वा उत्सव मनाउने तरिका होस्, त्यसमाथि संसारभर सबै फिदा थिए।

लेग स्पीनको यो कठिनाईबारे शेन वार्नले आफ्नो आत्मकथा ुनो स्पीनु मा पनि लेखेका छन्, स्पीन बलिङ अत्यन्त कठिन छ, तर रमाइलो पनि छ। सबैभन्दा ठूलो कुरा के हो भने, विशेष गरी छोटो फर्म्याटमा, लेग स्पीन बलिङ फेरि फेसनमा परिणत भएको छ । मैले आफ्नो भूमिका निर्वाह गरेकोमा म गर्व गर्छु । छोटकरीमा भन्ने हो भने, लेग स्पीन आधा मनले सम्भव हुन सक्दैन । तपाईंले लेग स्पीनलाई माया गर्नु नै पर्छ । म भाग्यमानी छु कि मैले यो लगातार गर्न सकेँ ।
७०० विकेट

वार्नको बलिङको तथ्याङ्कले उनको क्षमता ठ्याक्कै नाप्न सक्दैन। वार्न टेस्ट क्रिकेटमा ७०० विकेटको कोशेढुंगामा पुग्ने पहिलो बलर हुन् । टेस्ट क्रिकेटमा १४५ म्याचमा वार्नले ७०८ विकेट लिए । यदि तपाईँले १९४ एकदिवसीयबाट २९३ विकेट थप्नुभयो भने यो आँकडा १००१ विकेटसम्म पुग्छ ।

टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने कीर्तिमान अर्का स्पीनर मुथैया मुरालिधरनको नाममा छ । टेस्ट क्रिकेटमा ८०० विकेट लिएका उनी एकमात्र बलर हुन्। शेन वार्न आफैँले समय समयमा मुरलीधरनको बलिङको प्रशंसा गर्दै आएका थिए । तर लोकप्रियताको व्यापकतामा वार्न उनीभन्दा निकै अगाडि थिए।

तर, के यो व्यक्तित्वको प्रश्न मात्रै थियो रु यस प्रश्नबारे सोच्नुअघि यी दुई बलरहरूको करियरसित सम्बन्धित तथ्याङ्कलाई पनि विचार गर्नुपर्छ । मुरालीथारानको ८०० विकेटमा जिम्बावे र बंगलादेशका ब्याट्सम्यानको १७६ विकेट रहेको छ । अर्कोतिर वार्नको तथ्यांकमा यी दुई देशका ब्याट्सम्यानहरुको १७ विकेट मात्र समावेश छन् । यो पक्षले वार्नको सफलताको लगभग पूरै भागमा तुलनात्मक रूपमा बलियो ब्याट्सम्यान अगाडि आएको देखाउँछ। यसले मुरलीधरनको क्षमतालाई घटाउँदैन तर वार्नको क्षमतालाई भने सही तरिकाले जाँच्न सकिन्छ ।

ठूला खेलको खेलाडी

वार्नको परिचय एक जना यस्तो बलरको थियो जसले ठूला म्याचहरूमा आफ्नो सर्वोत्तम खेल कसरी प्रदर्शन गर्नुपर्छ भन्ने कुरा जान्दथे। सन् १९९९ को विश्वकपको सेमिफाइनल म्याच हेर्नुहोस् । जसमा दक्षिण अफ्रिकी टोली २१४ रनको पछ्याउँदा बलियो स्थितिमा अघि बढिरहेको जस्तो देखिरँदा वर्नले एकपछि अर्को गर्दै तीन विकेट लिएर टिमलाई च्याम्पियन बन्ने स्थानसम्म पुर्‍याए ।

इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको एसेजको भिडन्त सबैभन्दा महत्वपूर्ण मानिन्छ । १४ वर्षसम्म लगातार वार्नले इंग्ल्यान्डका ब्याट्सम्यानहरुको निद्रा हराम गरेका थिए । इङ्ल्यान्डविरुद्धको १९५ टेस्ट विकेट कुनै पनि बलरले एक देशविरुद्ध लिएको सर्वाधिक विकेटको रेकर्ड हो । यसबाहेक उनले दक्षिण अफ्रिकाविरुद्ध १३० विकेट पनि लिए ।

तथापि, टेस्ट म्याचमा उनको पहिलो खेल एकदमै औसत थियो । वार्नले आफ्नो पुस्तक नो स्पीनु मा यो पहिलो टेस्ट र त्यसभन्दा ठीक अघिको अवस्थाको रोचक वर्णन गरेका छन् । वार्नका अनुसार उनी अष्ट्रेलियाको टिमसँग एक–दुईवटा टुरमा गइसकेका थिए । तर टेस्टमा डेब्यू गर्न पाइरहेका थिएनन् । कुनै समय फुटबललाई करियर बनाउन समेत चाहेका वार्न पर्खिँदा पर्खिँदा कुनै समय वाक्क पनि भएका थिए ।

सन् १९९०–९१ मा भारतीय टोली अष्ट्रेलिया भ्रमणमा पुगेको थियो । उनी आफ्ना साथी डीन वा (स्टिभ र मार्क वाका भाइ) सँग बसेर बक्सिङ डे टेस्ट हेरिरहेका थिए । खेल हेरिरहेको बेला वार्नले आफ्नो दाहिने हातमा चराको मासुको तीन टुक्रा र देब्रे हातमा बियरको बोतल समातेका थिए । त्यति नै बेला अस्ट्रेलियाका टोलीका प्रबन्धक इयान म्याकडोनाल्ड आइपुगे । म्याकडोनाल्डले वार्नलाई हेरेर भने, अलि ख्याल गर, तिमी सिड्नीमा खेल्दैछौ । भोलिपल्ट बिहान वार्नलाई सिड्नीमा २ जनवरी १९९२ देखि सुरु टेस्टमा आफूले डेब्यू गर्न लागेको थाहा पाए ।

पहिलो टेस्ट एउटा दुःस्वप्न जस्तै

तर शेन वार्नको लागि त्यो टेस्ट एउटा दुःस्वप्न साबित भयो। रवि शास्त्रीले उनको बललाई स्टेडियमको वरिपरि प्रहार गरे । त्यस खेलमा शास्त्रीले दोहोरो शतक बनाए भने १८ वर्षीय सचिन तेन्दुलकरले अविजित १४८ रन बनाए । यी दुईको अगाडि शेन वार्न असहाय देखिए । शेन वार्नले नो स्पीनु मा लेखेका छन्, मैले शास्त्रीलाई ६६ रनमा जीवनदान दिएँ, मेरो बलमा क्याच लिन सकिनँ र यो निकै महँगो साबित भयो। तेन्दुलकर पनि मेरो बलमा पिटिरहेका थिए ।शेन वार्नले १५० रन खर्चेपछि रवि शास्त्रीलाई २०६ रनमा आउट गर्न सफल भए । त्यसपछि टेस्ट जोगाउन शेन वार्नले एलन बोर्डरसँग अन्तिम समयसम्म क्रिजमा जमेर बसे ।

तर, रवि शास्त्रीले युवा वार्नमा त्यो खेलमा जे देखे, उनले आफ्नो हालै प्रकाशित पुस्तक स्टार गेजिङु मा उल्लेख गरेका छन् । शेन वार्नसँगको अनुभवमा रवि शास्त्रीले भनेका छन्, म २०६ रनमा आउट हुँदा पनि मेरो विकेट लिएपछि वार्नले मलाई पवेलियनतर्फ देखाउँदै विकेट लिएको उत्सव मनाए । पहिलो टेस्टदेखि नै उनी ब्याट्सम्यानसँग वाकयुद्ध गर्ने बलर रहेको पाएँ । मैले उनलाई पहिलो म्याचमा नै अन्तर्राष्ट्रिय क्रिकेटमा आफूभन्दा सिनियर सचिन तेन्दुलकरसँग त्यसो गरेको देखेको थिएँ । म्याच सकिसकेपछि पनि म म्यान अफ दि म्याच अवार्ड लिन जाँदा मैले उनको काँध झुकेको देखिनँ । उनी सकारात्मक रवैयाले भरिएको क्रिकेटर देखिन्थे।

बल अफ द सेन्चुरी

त्यसको एक वर्षपछि शेन वार्नले ओल्ड ट्राफोर्डमा माइक गेटिङको अगाडि यस्तो बल फ्याँके जसलाई अहिले शताब्दीको बल ९बल अफ द सेन्चुरी० भनिन्छ । वार्नले माइक गेटिङको अगाडि फालेको बल सुरुमा सीधा हुँदै गएको जस्तो देखिन्थ्यो तर बलले हावामा दिशा परिवर्तन गरेर लेग स्टम्प बाहिर बाउन्स भएर टर्न हुँदै विकेटमा लाग्यो । बल ४५ डिग्रीको कोणमा मोडिएको थियो । यस बलबारे कुरा गर्दा वार्नले सधैं आफ्नो कुनै योगदान नभएको कुरा बताउँथे । उनी त्यसलाई फ्लुक भन्थे ।

तर संसारलाई थाहा थियो कि चमत्कार भइसक्यो, गेटिङले भने विश्वास नै गर्न सकिरहेका थिएनन् । ग्राहम गुचलेपछि गेटिङको प्रतिक्रिया सुनाउँदै भनेका थिए, ुगेटिङले आफ्नो अगाडिबाट कसैले एक प्लेट खाना खोसेर लगेको जस्तो महसुस गरे।ु त्यसपछि वार्नले फर्केर हेर्नुपरेन । र आफ्नो करियरमा त्यो सफलता हासिल गरे जहाँ असम्भव लाग्थ्यो ।

शताब्दीको क्रिकेटरमध्ये चौथो स्थानमा

विसडेनले सन् २००० मा यस शताब्दीका क्रिकेट खेलाडीहरूको सूचीका लागि १०० जना पूर्व खेलाडी तथा विशेषज्ञहरूको राय लिएको थिए । यसमा शेन वार्न चौथो स्थानमा थिए । पहिलो स्थानमा डन ब्रडम्यान १०० मतका साथ थिए । त्यसपछि, ९० जना विशेषज्ञहरूले ग्यारी सोर्बसलाई लागि भोट दिए । ज्याक होब्सले ३० मतका साथ तेस्रो स्थान प्राप्त गरे।

शेन वार्न २७ मतका साथ चौथो र भिभियन रिचर्ड्स २५ मतका साथ पाँचौ स्थानमा रहेका थिए । यो सूचीमा सचिन तेन्दुलकरले निकै लामो करियरका बाबजुद त्यो समयमा ६ मत मात्र पाउन सके, उनी १७ औँ स्थानमा रहे ।

विशेष कुरा के थियो भने, ती पाँच क्रिकेटरमा स्थान पाउने एक मात्र बलर वार्न थिए। विश्व चर्चित बलर वासिम अक्रमले तीन मत पाए। कर्टली एम्ब्रोज र एलन डोनाल्डले एक–एक मत पाए। रिचर्ड हाडली र इमरान खान १३–१३ मतका साथ दशौं स्थानमा थिए।

शेन वार्न लगभग १५ वर्षसम्म अस्ट्रेलियाको क्रिकेटको आधारशीला रहे । यस अवधिमा ग्लेन म्याकग्राथसँगको उनको जोडीले संसारभरिका ब्याट्सम्यानहरूलाई शिकार बनाउन जारी राखे । सँगै यी दुईले टेस्ट क्रिकेटमा १२८१ विकेट लिए । यतिबेला विश्व क्रिकेटमा अष्ट्रेलियाको दबदबा पनि देखियो ।

विवादसँग सम्बन्ध

क्रिकेट मैदानमा गरेको धमालबीच पनि विवादसँग वार्नको सम्बन्ध कायमै रह्यो । क्रिकेटका प्रारम्भिक वर्षहरूमा मार्क वासँग सट्टाबाजी गरेको अभियोगमा उनलाई दोषी ठहर गरिएको थियो । सन् २००३ को विश्वकपमा प्रतिबन्धित लागु औषधको प्रयोगका कारण उनलाई दक्षिण अफ्रिकाबाट देश फिर्ता पठाइएको थियो ।

विवादमा उनको बारम्बार नाम आएको कारण क्रिकेट अस्ट्रेलियाले उनलाई सन् २००० को अगस्टमा उपकप्तानबाट हटाएको थियो। यसो नभएको भए सायद शेन वार्न अष्ट्रेलियाको क्रिकेटमा सफल कप्तान हुने थिए । राजस्थान रोयल्सको औसत टिमलाई आईपीएल च्याम्पियन बनाउन कप्तान र संरक्षकको रुपमा खेलेको भूमिकाले यसको झल्को उनले दिएका थिए ।

तथापि, सन् २००७ सम्म उनी अस्ट्रेलियन क्रिकेट टिमको महत्त्वपूर्ण हिस्सा रहे र आफ्नो करियरको सर्वश्रेष्ठ दौरमा रहेका बेला नै सन्यासको घोषणा गरे । सिड्नी क्रिकेट ग्राउन्डमा जहाँबाट उनले औसत बलिङबाट आफ्नो करियर सुरु गरेका थिए, त्यही मैदानबाट उनले टेस्ट क्रिकेटलाई बिदाइ गरे।

अवकाशपछि पनि उनी अन्तर्राष्ट्रिय क्रिकेटमा कमेन्टेटरको रूपमा देखा परे। वार्नको कमेन्ट्रीको बारेमा रवि शास्त्रीले लेखेका छन्, ुकमेन्ट्री बक्समा उनी म्याचभन्दा अगाडिको ट्रेन्डलाई छिटै बुझ्ने गर्दथे । सधैँ खेललाई फवार्ड लुकमा हेर्थे । क्रिकेटबारे उनको दिमाग सधैँ तीखो थियो ।ु

व्यक्तिगत जीवनमा उथलपुथल

यी सबै कुराबीच शेन वार्नको व्यक्तिगत जीवन पनि उथल पुथलले भरिएको थियो । उनले सन् १९९५ देखि २००५ को बीचमा सिमोन क्याल्हानसँग वैवाहिक सम्बन्धमा रहे । उनीबाट वार्नको तीन जना छोराछोरी छन् ।

त्यसपछि तिनले एलिजाबेथ हर्लीसित सम्बन्ध राखे । तर दुईको सम्बन्ध विवाहसम्म पुग्न सकेन । आफ्नो पुस्तक ुनो स्पीनु मा शेन वार्नले आफ्नो जीवनका दुई सुन्दरी सिमोन र एलिजावेथका अलावा अरु धेरै महिला रहेको बताएका थिए । न्युज अफ द वर्ल्ड(मा महिलासँग उनको तस्बिर छापिएपछि एलिजाबेथसितको उनको सम्बन्धमा पनि असर गरेको थियो ।

पछि शेन वार्न केही टिभी कार्यक्रमहरूमा पनि देखा परे र सधैँ सक्रिय रहे। आफ्नो मृत्यु हुनुभन्दा केही घण्टाअघि तिनले अस्ट्रेलियाका प्रख्यात क्रिकेटर रोड्नी मार्शलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए । भनिन्छ, शेन वार्न कार्डियाक अरेस्टको चपेटामा परेका थिए । एक जना आकर्षक क्रिकेटरलाई उनको मुटुले धोका दियो । तर, क्रिकेटको दुनियाँमा रंगीन अन्दाज भएका जादुयी वार्न सधैँ जीवित रहनेछन् ।

बीबीसी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com