२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चितवनमा जिल्लामा २७ दल दर्ता

चितवन । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका २७ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।

कार्कीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जिल्लामा विवण बुझाउनु नपर्ने भएकाले २७ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र थप गर्न आयोगलाई आग्रह गरेको छ । विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लामा १६१ मतदानस्थल र ३७६ मतदान केन्द्र थिए । अहिले मतदान केन्द्र थप गरी ४६१ पु¥याउन लागिएको कार्कीले बताउनुभयो । भरतपुर महानगरपालिकामा २०५, रत्ननगर नगरपालिकामा ६१, खैरहनी नगरपालिकामा ५७, कालिका नगरपालिकामा ३७, राप्ती नगरपालिकामा ४७, माडी नगरपालिकामा ३२ र इच्छाकामना गाउँपालिकामा २२ मतदान केन्द्र बनाउन कार्यालयले आयोगलाई सिफारिस गरेको छ ।

जिल्लामा तीन लाख ९८ हजार ७७१ मतदाता छन् । अझै केही थपघट हुनसक्ने कार्कीले बताउनुभयो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख १३ हजार तीन मतदाता थिए । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थप गर्न लागिएको हो । निर्वाचनको तयारीस्वरुप कार्यालयले यही चैत १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।

सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने छ । निर्वाचनका लागि कार्यालयले कर्मचारी माग गर्न थालेको छ । एउटा मतदान केन्द्रमा सातदेखि आठ जनाको दरले कर्मचारी परिचालन गरिने छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com