२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

जसपाको घोषणापत्र : नगर रेल सञ्चालनदेखि २०० रुपियाँको खानेपानी बिल निशुल्क

जनसेवा न्युज संवाददाता

जनता समाजवादी पार्टी नेपालले संघीय र प्रादेशिक सरकारसँग सहयोग र समन्वय गर्नुका साथै स्थानीय स्रोतसाधनलाई उत्पादनमूलक आर्थिक क्रियाकलापमा लगाउने प्रतिवद्धता जनाएको छ । स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा सम्पूर्ण नागरिक, विशेष गरेर निम्न र मध्यम स्तरीय आय भएका जनताको जीवनस्तरलाई आर्थिक, सामाजिक, सांस्कृतिक रूपले समृद्ध बनाउने प्रक्रियामा स्थानीय तहले योगदान गर्ने उल्लेख गरेको हो ।
स्थानीय जनतालाई सरल तथा सहज रूपमा प्रशासनिक सेवा प्रदान गर्ने मात्र नभएर उनीहरूको आय स्रोत बढाउने र लगानी मैत्री वातावरण तयार पार्ने काम गर्ने दावी जसपाको छ । वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने उल्लेख गर्दै जसपाले कार्यालयमा सेवा लिन आउँने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने र यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिने जसपाले जनाएको छ । चालु खर्च कम र मितव्ययी गर्ने, पुँजीगत लगानी अभिबृद्धि गर्ने नीति जसपाले लिएको छ । स्रोतसाधन परिचालन गर्दा करका दरहरू कम गर्ने र दायरा बृद्धि गर्ने नीति लिनुको साथै केन्द्रीय तथा प्रादेशिक सरकारबाट प्राप्त गर्ने नियमित बजेट तथा अनुदानको प्रभावकारी कार्यसम्पादन गरी बिशेष अनुदान प्राप्त गरिने जसपाले जनाएको छ ।

स्थानीय कर संकलन संयन्त्र पारदर्शी र प्रभावकारी बनाइनुको साथै गैरसरकारी तथा निजी क्षेत्रको लगानी आकर्षित गर्न प्रयत्न गरिने घोषणापत्रमा उल्लेख छ । पालिकासँग सम्बन्धित गैरआवासीय नेपाली, अन्यत्र बसाईंसराई गरेका पुर्वबसोबासीहरूको सञ्जाल तयार गरि स्थानीय लगानी सम्मेलन तथा भेला आयोजना गरिने जसपाको घोषणापत्रमा उल्लेख छ । पालिकाहरूको स्थानीय विशिष्टताअनुरूप सेरोफेरोमा चक्रपथ निर्माण गरिने उल्लेख गर्दै जसपाले पालिकाको केन्द्र र वाड केन्द्रहरू जोड्ने सडकहरू बनाइने बताइएको छ । चक्रपथ, पालिका केन्द्र र वडाका केन्द्र जोड्ने सडकसँग गाउँ, वस्ती तथा टोल लिंक रोड बनाइनुको साथै पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरूलाई सडकसँग जोडिने घोषणा पत्रमा उल्लेख छ ।

सबै पालिकाहरुमा एक बसपार्क बनाइने उल्लेख गर्दै जसपाले महानगरहरूमा नगर रेल सेवा विकासको संभावनाबारे अध्ययन गरिनुको साथै शुद्ध पिउने पानीको सुविधा नपुगेका घरवस्तीमा खानेपानी सुविधा पुर्याइने उल्लेख छ । सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको २०० रुपियाँसम्मको खानेपानी बिल निशुल्क गरिने जसपाले प्रतिवद्धता जनाएको छ । आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रुपियाँको अनुदान दिइने जसपाले प्रतिवद्धता जनाउँदै खानेपानीका मुहान र पोखरी संरक्षण गरिने बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com