२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान

तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान

काठमाडौं । तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नसर्ने खालका १३० रहेका छन् । जिल्लामा क्षयरोगको ८२.१ प्रतिशत उपचार सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ ।

क्षयरोग पहिचानका लागि कार्यालयले कारागार, इँटाभट्टामा बेला–बेलामा खकार परीक्षण गर्ने गरेको छ । क्षयरोगीको उपचारका लागि जिल्लामा ५० उपचार केन्द्र, नौ प्रयोगशाला छन् ।

अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको उहाँले बताउनुभयो । “क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी रोग लुकाएर बस्न बाध्य छन् ।”

सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको छ । “उपचारमा नरहेको एक क्षयरोगीले औषतमा दश देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, उहाँले भन्नुभयो, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।”

क्षयरोगी पहिचानका लागि कार्यालयले शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । “दुई हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार सङ्कलन गरी परीक्षणको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

क्षयरोगी पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङको व्यवस्था पनि छ । कार्यालय प्रमुख अधिकारीका अनुसार छ महिनामा दुई पटक कन्ट्याक्ट ट्रेसिङ गरिन्छ ।

दुई महिनामा पहिलो पटक र छ महिनाभित्र अर्को पटक गरी कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाइएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com